बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

गर्मीले सप्तरीको जनजीवन कष्टकर, सामुदायिक विद्यालय एक महिना बिदा

फाइल तस्बिर

सप्तरी- एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्‍ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी निकै कष्टकर बनेकाे हाे । यहाँकाे तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेड छ ।

गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएकाे उनले बताए । 

उनी भन्छन्, 'गर्मीले घरभित्रै त बसी सक्नु छैन । घाममा डुलेर कसरी कपडा बेच्‍नु ?  जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।'

राजविराज नगरपालिका वडा-१ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी  थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । उनी भन्छिन्, 'बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छाैँ ।'

गर्मीले सबैलाई काम गर्न समस्या भइरहेकाे नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने, 'गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन । शरीरले सके न काम गर्ने हो ।'

कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधा घण्टामै तातो हुने गरेकाे राजविराज-२ की ५० वर्षीया लिलादेवी  मण्डलले बताइन् । उनले भनिन्, 'पहिले पहिले गर्मी लाग्दा कोठाको भुईँमा सिमेन्टमा सुत्थेँ । अहिले त भुईँ पनि तातेको छ । कसरी सुत्‍ने ? मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ।

गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ। न्युज कारखाना