नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्छ, मधेशी विदेशी भनेर विभेद गर्नुहुँदैन : मिनेन्द्र रिजाल
काठमाडौँ - सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् । उनले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गरे ।
सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरु पर्खिएर बसेको बताए । रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने बताए ।
उनले भने, ‘नेपालको संविधानमा हामीले सहमतिका साथ नागरिकताको महल राखौँ । नागरिकताको महलमा संविधानमा लेखेको कुरालाई बदल्ने प्रयत्न अघिल्लो पटकको समितिको प्रतिवेदनबाट भयो । त्यो गलत थियो । त्यो गर्नु हुँदैन भनेर हामीले भनौं । गृहमन्त्रीले त्यसलाई प्रस्तुत गर्ने कार्यसूची तयार भएको थियो । त्यसबेलाका गृहमन्त्री आफू चुनाव लड्दाको पहिचान बदलिएर अर्को पहिचानमा पुगेर गृहमन्त्रीबाट विदा भइसक्नु भयो । नेपालको नागरिकले नेपालको प्रमाणपत्र पाउन सक्ने दिन बन्न सकेन । अहिले विद्येयक आएको छ । सबै समस्या समाधान गर्दैन । तर ठिक हो । आउनु पर्ने थियो । ढिलो भएर आयो । नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ संविधानले लेखेको छ । तर लेखेर नागरिकता प्राप्त भएको छैन । महोत्तरीका अर्जुन शाहले नागरिकता पाएनन् । सुनसरीका विजय शाहले पाएनन् । एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने एउटा अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नति हुँदैन । कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । यहाँ बस्ने सांसद हौंला ,जनताका प्रतिनिधि हौंला तर नेपालमा जन्मेको नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन । साढे पाँच वर्ष देखि मान्छेहरु पर्खिएर बसेको छ । सर्टिफिकेट, रोजगारी, विदेश जान पाएको छैन । त्यसलाई कतिदिनसम्म रोक्ने । यो गलत छ यसको अन्त्य हुनुपर्छ । यो नागरिकताको विधेयकमा अन्य धेरै पक्षहरु पनि छन् । गैरआवासीय नेपाली नागरिकताको पक्ष छ । त्यसमा सांस्कृतिक, आर्थिक र सामाजिक अधिकार भनिएको छ । आर्थिक अधिकार बारेमा अहिले पनि विभेद छ । एउटा सिमित जग्गा मात्रै खरिद गर्न पाउँछ । त्यसमा लेखेर मात्रै पुग्दैन । माननीय गृहमन्त्री ज्यु अहिले ऐन आउँछ । त्यसपछि नियमावली आउने बेला निर्देशिका बन्ने बेला नागरिकता लिन जाने मान्छेलाई अनुहार हेरेर विभेद गर्न पाइदैन । त्यसको ग्यारेण्टी कसरी हुने हो । अहिलेको विद्येयक ध्यान पुग्न सकेको छैन । एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउनु हुँदैन । एउटा कुनै पनि नागरिकले कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न । यो प्रावधान ल्याउन खोजेको हो ।’
सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनु पर्ने अवस्थाको अब अन्त्य गर्नु पर्ने बताए ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया