शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

ओली–दाहाल विवाद विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसम्म पोखियो

काठमाडौं : आज सोमबार विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक (भर्चुयल) बस्ने तय भइसकेको थियो । एजेन्डा थियो— निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कार्यकारी अधिकार प्रदान गर्ने र उनलाई कायम मुकायम कार्यकारी निर्देशकमा नियुक्त गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) मा अनुरोध गर्ने ।

बिहान दस १० बजे निवर्तमान निमित्त कार्यकारी निर्देशक कोइरालालाई धन्यवादसहित बिदाई (कार्यकारी निर्देशकको जिम्मेवारीबाट) गर्ने र हिजो आइतबारको निर्णयअनुसार निमित्त कार्यकारी निर्देशकका रुपमा नियुक्त पाएका शाक्यलाई स्वागत गर्ने ।

प्राधिकरणका उच्च पदस्थ उपकार्यकारी निर्देशक, निर्देशक र अन्य अधिकृतहरुले कोइरालालाई दुई महिनाको अवधिमा जिम्मेवारी निर्वाह गर्न सफल भएकोमा धन्यवाद दिए । प्राविधिक व्यक्ति नभए पनि प्राधिकरण, मन्त्रालय र सरकारी निकायबीच सफल समन्वय गर्न सकेकोमा अधिकृतहरुले आभार पनि प्रकट गरे ।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले स्वागत ग्रहण गर्दै सबैलाई धन्यवाद पनि थिए र आफ्नो भावी योजना पनि सुनाए । यो कार्यक्रमपछि सञ्चालक समितिको बैठक बस्ने भनिएको थियो । सबैलाई खबर पुगेकै थियो ।

प्राधिकरण सञ्चालक समितिका एक सदस्यका अनुसार विगत कुलमान घिसिङ निवृत्त हुनुअघिदेखि नै बोर्ड बैठक भर्चुयल बस्दै आएको थियो । आजको योजना पनि त्यस्तै थियो । सञ्चालक समितिका सदस्यहरु स्क्रिनमा आए । तर ऊर्जा मन्त्री नै देखा परेनन् । बैठक नहुने निश्चित मात्र भएन, शाक्यलाई कार्यकारी अधिकार दिने र कामु पदमा बहालीका लागि मन्त्रिपरिषद्लाई अनुरोध गर्ने पूर्व योजना पनि सफल भएन ।

‘एकाएक बैठक कसरी रद्द भयो ? सबैमा हल्लीखल्ली मच्चियो,’ ती सञ्चालकले इकागजसँग भने, ‘मन्त्रीबाहेक अरुलाई कारण थाहा हुन सक्दैन ।’

स्रोतका अनुसार बालुवाटरबाट शाक्यको नियुक्तीका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल आश्वस्त भएको र उनले ‘हुन्छ’ भनेपछि ऊर्जा मन्त्री पुनले उनलाई नियुक्ती गर्ने प्रस्ताव लैजान सहमत भएका थिए । तर बालुवाटारले शाक्यको नियुक्तीमा दाहालको पनि चासो रहेको थाहा पाएका कारण प्राधिकरण सञ्चालक समिति बैठक एकाएक रद्द हुन पुगेको स्रोतले बतायो । ‘अध्यक्षद्वयबीचको विवादको असर नितान्त कर्मचारीतन्त्रमा समेत परेको देखियो,’ स्रोतको दाबी छ । 

यस सम्बन्धमा ऊर्जा मन्त्री पुनले इकागजसँग आज दिउँसो प्राविधिक संस्थामा प्राविधिक व्यक्तिलाई जिम्मेवारी दिएको प्रतिक्रिया दिएका थिए । 
यसअघि प्रधानमन्त्री ओलीले कुलमान घिसिङलाई दोहोर्‌याएर कार्यकारी निर्देशकमा नियुक्ती गर्ने ऊर्जा मन्त्री पुनको प्रस्ताव अस्वीकार गरेका थिए ।