ज्यानमारा वायु प्रदूषण, यसरी पुर्याउँदैछ मृत्युको मुखमा

काठमाडौँ : सोमबार अबेरसम्म डा.नवराज केसी आफ्नो क्लिनिकमा बसिरहेका थिए । वायु प्रदूषणको चिन्ता एकातिर थियो । अर्कोतिर त्यही प्रदूषणले अस्पताल आउने बिरामीको संख्या बढ्दो थियो । बिरामीको चापले डा.केसीलाई फुर्सद थिएन ।
यसै कारण उनी अचेल अबेरसम्म अस्पताल वा आफ्नो क्लिनिकमा हुन्छन् । सोमबार राति ९ बजेपछि गम्भीर प्रकृतिका दुईजना बालबालिका दम बढेर उनको क्लिनिक आइपुगे । बिरामीका आफन्त रोईकराई गर्न थाले । डा.केसीले बुझ्दै जाँदा उनीहरु खेल्दाखेल्दै सास फेर्न गाह्रो भएर अस्पताल ल्याइएकाे थियाे ।
एक बालक थिए । उनको उमेर चार वर्षको थियो । अर्की बालिका सात वर्षीया थिइन् ।
अवस्था यस्तो थियो कि तुरुन्तै उपचार सुरु नगरे उनीहरू सकुशल घर फर्किने सम्भावना निकै कम बनिसकेको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डा.केसीले दुवै बालबालिकालाई आफ्नै क्लिनिकका छुट्टाछुट्टै बेडमा राखेर उपचार थाले ।
‘बालबालिकामा दम हुने सम्भावना निकै कम हुन्छ । यदि दम भइहाल्यो भने बचाउन झनै कठिन हुन्छ’ डा.केसीले इकागजसँग टेलिफोनमा भने, ‘दम बढेर गम्भीर अवस्थामा पुगेका बालबालिकालाई तुरुन्तै उपचार गर्न सकिएन भने सकुशल घर फर्काउन गाह्रै हुन्छ । तर उनीहरुले समयमै उपचार पाए । तलमाथि भएन ।’
दम बढेर अन्तिम अवस्थामा पुग्नै लागेका दुई बालबालिकाको ज्यान जोगाउन डा.केसी रातभर जाग्राम बसे । बढ्दो प्रदूषणका कारण बाहिर निस्कने अवस्था थिएन् । अस्पतालको बेडमा पनि अक्सिजन मास्क लगाएर दुवै जनाको सास जोगाउने उनको प्रयासले बिहानतिर मात्रै सफलता पायो । उनी केही खुसी त भए । तर बढ्दो प्रदूषण नियन्त्रणतर्फ कसैको ध्यान नपुग्दा त्यत्तिकै खिन्न पनि ।
‘बालबालिकामा दम देखिनु दुर्लभ केस हो । दम देखिए तत्कालै उपचार थाल्नुपर्छ’ डा.केसी भन्छन्, ‘तत्काल उपचार भएन भने धेरैको ज्यान जान सक्छ । त्यसमाथि वायु प्रदूषण बढेका बेला जसलाई पनि दम बढ्न सक्छ । उपचार भएन भने मृत्यु नै हुन सक्छ ।’
कर्णाली प्रदेश अस्पतालमा बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा.केसीले वायुमण्डलमा रहेको प्रदूषण हानिकारक मात्रै नभई बालबालिका र वृद्धका लागि मृत्युको कारक बन्ने सक्ने खतरा रहेको औँल्याउँछन् ।
‘दैनिक रुखहरू काटिएका छन् । डढेलो फैलिएको छ । प्लाष्टिक बालिएको छ’ उनले इकागजसँग अगाडि उनले भने, ‘अक्सिजनको मात्रा घट्दै गएर बढदो जनसंख्यालाई चाहिने अक्सिजनको कमी हुँदै गएको छ । यसले युवाहरूलाई तत्काल ठूलो असर नहोला । तर बच्चा र वृद्धका लागि भने दम बढेर मृत्युकै कारक बन्न सक्छ ।’
प्लाष्टिक मुख्य चुनौति, डढेलो कसले निभाउने ?
डा.केसीका अनुसार पछिल्लो दुई हप्तादेखि वायुमण्डमा देखिएको प्रदूषण सामान्य छैन । यो मानवीय संकटका रूपमा देखिएको गम्भीर समस्या हो । एकातिर वन फडानी, आगलागी र प्लाष्टिकजन्य पदार्थको बढ्दो प्रयोग र जलाउने गर्दा पनि वायुमण्डलमा प्रदूषण बढेको देखिन्छ ।
अर्कातिर सडक निर्माण, मर्मतदेखि पुराना सवारी साधनका कारण प्रदूषण बढेकाले स्वास्थ्य जोगाउनु मूख्य चुनौति रहेको उनको भनाइ छ । दैनिक चोक-चोकमा प्लाष्टिक बाल्ने, वन जंगलमा डढेलो लगाएपछि नयाँ पालुवा पलाउँछ भनेर प्रदूषण बढाउने काम गरेकाले अहिले मानव स्वास्थ्य जोखिममा रहेको डा.केसीले बताए ।
रुख रोप्न बेवास्ता गर्ने र डढेलो नियन्त्रणतर्फ ध्यानै नदिँदा दैनिक हजारौँ बालबालिका र वृद्ध मृत्युको जोखिममा रहेकातर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘हामीले अहिले पनि रुख रोप्ने काम गरेका छैनौँ । दैनिक रुख काटिरहेका छौँ । प्लाष्टिक बालिरहेका छौँ । अनि वन जंगलमा लागेको डढेलो नियन्त्रण गर्नेतर्फ सोचेका पनि छैनौँ’ उनले समस्याको चुरो समात्दै भने, ‘यसतर्फ ध्यानै नदिने र खालि वायु प्रदूषण मात्रै बढेको भनेर कराइरहेका छौँ भने हामीले आँफैलाई मृत्युको मुखमा पुर्याइरहेका छौँ ।’
डा.केसीले तीन तहका सरकार हुँदा पनि डढेलो निभाउनेतर्फ ध्यान नदिनु गैरजिम्मेवारपन भएको टिप्पणी गरे । ‘हामीसँग तीन तहका सरकार छन् । तीन तहका सरकारसँग बजेट पनि छ । थोरै समन्वय गरेर काम गर्दा डढेलो नियन्त्रण हुन सक्छ’ उनले भने, ‘तर यसतर्फ कसैको पनि ध्यान गएको पाइँदैन । यसले झन ठूलो समस्या निम्त्याएको छ । आखिर कसले निभाउने हो डढेलो ?’
दिगो समाधानका तीन उपाय
पछिल्लो समय प्रदूषणका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने र दम बढ्नेलगायतका समस्या बढ्नुमा मुख्य तीन कारण जिम्मेवार छन् । दम बढ्ने कारण जन्मजात पनि हुन सक्छ । अर्को प्रदूषण र आर्दताको कमीले गर्दा पनि यो समस्या निम्तिन सक्ने डाक्टरहरुको भनाइ छ ।
यो समस्या समाधानका लागि वातावरण संरक्षण गर्ने खालका गतिविधि गर्नुपर्ने डा.केसीको सुझाव छ । त्यसका लागि हरेक दिन, महिना र वर्षमा निश्चित उद्देश्य राखेर बोटबिरुवा रोप्ने काम अगाडि बढाउनुपर्छ । यसका साथै प्लाष्टिकजन्य पदार्थ जलाउने काम कडाइका साथ रोक्नुपर्छ ।
डा.केसी प्लाष्टिक जलाउनेलाई सरकारले कारबाही गरेमात्रै यो समस्या घट्न सक्ने बताउँछन् । यसरी प्लाष्टिक जलाउँदा मानव स्वास्थ्य र वातावरणलाई धेरै असर गर्ने भन्दै सरकारले एकपटक राम्रोसँग सोचेर वातावरण जोगाउनतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।
तेस्रो कारणमा सडक निर्माण गर्दा पनि धेरै प्रदूषण निस्केको छ । वर्षौसम्म एउटै सडक निर्माणमा समय खर्चिने, धुँवा उडाइरहने, त्यसमा गाडी चलाउन नरोक्ने जस्ता समस्याले गर्दा पनि प्रदूषण बढ्दो छ । यसलाई रोक्न प्रभावकारी कदम नचाले सडक छेउछाउ बस्ने र सडकमा हिंड्ने सबै नागरिक दम जस्ता श्वासप्रश्वास रोगबाट मृत्युको मुखमा पुग्ने डा.केसीको भनाइ छ ।
‘अहिले प्रदूषणका कारण आँखा पोल्ने समस्याबाट हामी थोरै चिन्तित छौँ । भोलि आँखा पोल्ने मात्रै होइन, दमले अचानक मृत्यु हुने समस्याबाट ग्रसित हुन्छौँ । त्यतिबेला चिन्ता व्यक्त गरेर हुँदैन’ प्रदुषण नियन्त्रण गर्ने उपायको सारमा डा.केसी भन्छन्, ‘जतिसक्दो छिटो रुख रोप्ने, प्लाष्टिक जलाउनेलाई कारबाही गर्ने, सडक निर्माण र मर्मत समयमै गर्नुको विकल्प छैन ।’

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया