‘एमाले–कांग्रेसलाई रोक्न’ समाजवादी केन्द्रको ‘गोटी’

काठमाडौँ – नेपाली राजनीति चुनाव केन्द्रित हुँदैछ । मिति घोषणा हुन बाँकी भए पनि आगामी मंसिरमा चुनाव हुनसक्ने निर्वाचन आयोगले जनाउ दिएको छ । चुनाव दलहरूका लागि सत्तामा पुग्ने सिँढी हो । सत्ताको सिँढी चढ्ने जनमत बटुल्न दलहरू संगठन बनाउनेभन्दा गठबन्धन बनाउन केन्द्रित छन् ।
गत स्थानीय चुनावमा गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेका दलहरू प्रदेश र प्रतिनिधि सभा चुनावमा पनि मिलेरै जाने मनसायमा छन् । तर, को–को मिल्ने ? क–कसलाई मिलाउने टुंगो लागिसकेको छैन । मिल्ने र मिलाउने दौडधुपमा नेताहरू छन् । सम्भावित समीकरण लगभग निश्चित छन् । तर, नेपाली राजनीति हो, यहाँ ‘असम्भव केही हुन्न ।’
गठबन्धनबारे एमालेसँग धेरै विकल्प छैनन् । कमल थापा र एकनाथ ढकालहरू नभने पनि आउँछन् । कमल थापालाई त ‘कमरेड’ शब्द नै मन पर्न थालेको छ । लोसपा–जसपा पनि सम्भावित सूचीमा छन् । उसो त एमाले नेताहरूले पनि आफूहरूको गठबन्धनमा खासै रुचि नभएको बताउँदै आएका छन् ।
नेपाली कांग्रेसलाई गठबन्धनको आवश्यक छ/छैन ? उसकै नेताहरू दोधारमा छन् । दोधारे नेताहरूले दुईथरि तर्क गर्छन्, ‘गठबन्धन गर्ने र नगर्ने ?’ पार्टी संस्थापन गठबन्धनकै पक्षमा देखिन्छ । कांग्रेसलाई एउटै भय छ, ‘वामहरू नमिलुन्’ । उनीहरूलाई मिल्न नदिन कांग्रेसले एमालेबाहेकसँग सहकार्य गर्दै आएको छ । २०७४ सालको निर्वाचनमा वामहरू मिल्दा कांग्रेस खुम्चिएको थियो । जुन फेरि नदोहोरियोस् भन्ने कांग्रेस चाहन्छ । ‘कम्युनिस्ट बाहुल्य’ देशमा उनीहरू फुटेकै बेला कांग्रेसलाई फाइदा हुन्छ ।
प्रमुख दलहरूमध्ये नवगठित नेकपा (एकीकृत समाजवादी)लाई चुनावमा ‘गठबन्धन नगरी नहुने’ बाध्यता छ । स्थानीय चुनावमा गठबन्धनको मद्दतमा एक महानगर र एक उपमहानगरसमेत जित हात पार्न सफल नेकपा एस एक्लै चुनावमा जाने मनसायमा छैन । नेकपा माओवादी केन्द्र पनि २०७४ सालदेखि नै कतै न कतै जोडिएरै चुनाव लड्दै आएको छ । २०७४ को स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी संघीय चुनावमा एमालेसँग मिल्यो । तालमेल मात्रै होइन पार्टी एकतासम्म गर्यो ।
त्यसबाट पनि पार नलागेपछि कांग्रेससहितको गठबन्धन बनाएको माओवादी आगामी चुनाव पनि एक्लै लड्ने पक्षमा छैन । बाबुराम नेतृत्वको समूह पनि कतै जोडिनै पर्ने बाध्यतामा छ । अरु साना दलको त के कुरा गर्नु । मिले पनि उस्तै नमिले पनि उस्तै ।
कांग्रेस–एमालेलाई ‘रोक्न र संयुक्त बार्गेनिङ’ गर्न ‘उप गठबन्धन’
सत्ता गठबन्धनभित्रै अर्को उप गठबन्धन बनाउने तयारीमा दलहरू छन् । गठबन्धनमै आवद्ध कांग्रेसबाहेकका माओवादी, नेकपा एस र डा. बाबुराम भट्टराई पक्ष उपसमूह बनाउने तयारीमा छन् । यो पनि उनीहरूको बाध्यता हो । उपेन्द्र यादवको अलमल कायमै छ । पहिलो कुरा कांग्रेस संस्थापनइतर समूह गठबन्धनको विपक्षमा छ । भइहाले पनि अपेक्षाकृत ‘भोट ट्रान्स्फर’ नभएको गत चुनावमा नमिठो अनुभव माओवादी–समाजवादीसँग छ । अर्को आफ्नो बहुमत आउनेगरी गठबन्धन गर्ने कांग्रेसको रणनीति । संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहयोगमा बहुमत ल्याउने रणनीति कांग्रेसको छ ।
कांग्रेस केन्द्रीय समितिले ‘बहुमत ल्याउनेगरी गठबन्धन गर्ने जनाउ’ दिएसँगै दलहरू उपगठबन्धनको तयारीमा लागेका हुन् । उनीहरूको एउटै रणनीति छ, ‘कांग्रेसलाई बहुमत ल्याउन नदिने ।’
कांग्रेसको यही रणनीतिबाट तर्सिएर माओवादी–समाजवादी बहुमत ल्याउन नदिनेगरी गठबन्धन गर्ने, नभए छुट्टै गठबन्धन बनाउने तयारीमा छन् । उनीहरू पछिल्ला भेटघाट र अभिव्यक्तिले पनि यसलाई पुष्टि गर्छ ।
समाजवादीका नेता झलनाथ खनालले सार्वजनिक रूपमै 'अपमानजनक गठबन्धन नहुने' चेतावनी दिँदै आएका छन् । उनी मात्रै होइन अध्यक्ष नेपाल पनि कांग्रेससँग असन्तुष्ट छन् ।
स्थानीय तहको निर्वाचनपछि ‘कांग्रेसको घमण्ड बढ्दै गएको’ उनको ठहर छ । ‘हाम्रै ढाडमा टेकेर कांग्रेसले हामी माथि नै बुर्कुसी मार्ने डर’ माधव नेपाललले सार्वजनिकरूपमै पोखिसकेका छन् ।
यसर्थ पनि उनीहरू उप समूह बनाएर कांग्रेससँग ‘संयुक्त बार्गेनिङ’ गर्ने तयारीमा छन् । एक्ला-एक्लै बार्गेनिङ गर्दा कमजोर भइने डरले सामूहिक दबाब बढाउने रणनीति उनीहरूले लिएका हुन् ।
त्यसपछि ‘आए आँप, गए झटारो’ । कांग्रेसले माने गठबन्धन, नभए उपगठबन्धन बनाएरै चुनावमा जाने उनीहरूको तयारी छ । यसरी चुनावमा जाँदा कांग्रेस–एमाले दुवैको बहुमत नआउने उनीहरूको ठहर छ । यो ठहर तर्कसंगत पनि छ ।
यतिमात्रै होइन पार्टी एकता गर्नेसम्मको तयारी उनीहरूको छ । उनीहरूलाई कांग्रेस रोक्नु मात्रै छैन एमालेलाई पाखा लगाउनु पनि छ । कांग्रेस र एमालेलाई बहुमत आउन नदिने गरी शक्ति सञ्चय गर्ने रणनीति प्रचण्ड–माधवको छ । यसो हुनसके सत्ताको साँचो आफ्नै हातमा रहने उनीहरूको ठम्याइँ छ ।
जुन संसदीय राजनीतिमा तर्क र तथ्यसंगत पनि हुनसक्छ । कसैको एकल बहुमत नआउँदा तेस्रो शक्ति नै सत्ताको ‘किङमेकर’ हुन्छ । जुन माओवादी २०७० सालदेखि हुँदै आएको छ । प्रचण्ड–माधवको योजना साथ दिन आइपुगेका छन्, बाबुराम र वामदेव गौतम ।
माओवादी र समाजवादीका कार्यकर्ताको जोड पनि सके एमालेसहित गठबन्धन, नभए कांग्रेसबाहेकको गठबन्धन गर्नुपर्नेमा छ । वामदेवले त ‘कांग्रेसले बहुमत ल्याए नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त हुने’ चेतावनी दिएका छन् ।
माओवादी, एकीकृत समाजवादी, वामदेवको नेकपा एकता राष्ट्रिय अभियान र बाबुराम समूहको समाजवादी केन्द्र बनाउने सहमति भए पनि यसले मूर्तरूप लिइसकेको छैन ।
नेकपा एकताका लागि अभियान चलाएका गौतम तत्काल एमालेसहितको वामपन्थी एकताको सम्भावना नदेखेपछि एमालेबाहेको वामपन्थीबीच एकताका लागि सक्रिय छन् ।
एमालेबाहेकका वामपन्थीबीच समाजवादी केन्द्र बनाउने विषयमा समेत उनीहरूबीच ‘सकारात्मक छलफल’ भएको छ । सम्भव भए तीन पार्टीबीच एकता, नभए तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भइरहेको स्वयं माओवादी अध्यक्ष प्रचण्ड बताउँछन् । तर, यसले मूर्त रूप भने लिन सकेको छैन ।
समाजवादी केन्द्रका नाममा कतै ‘कम्युनिस्ट पुच्छर’ नजोडी त्यो सम्भव छैन । किनकि माओवादी नेता–कार्यकर्ताको जोड वाम एकतामा छ । नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले खुलेरै एमालेसहितको वाम एकताको चर्चा गरिरहेका छन् ।
जुनसुकै नामका गठबन्धन वा एकता भए पनि दलहरूको ध्येय सत्ता प्राप्ति हो । सत्तामा जान उनीहरू वाद, विचार र सिद्धान्तलाई तिलाञ्जली दिन तयार छन् । विगतका राजनीतिक समीकरणले यही भन्छ । जनतालाई ‘हर्ष न विस्मात’ ।
गत चुनावमा वाम एकताका नाममा जनताले दुई तिहाइ करिब मत दिएकै हुन् । तीन वर्षे सरकार देखिएकै हो । आखिर जनताले के पाए ? दुई तिहाइ करिबको वाम सरकारले के–के गर्यो ? जनता स्वयं जानकार छन् ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया