शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

राजापाक्षेको हालतमा नपुर्‍याउने हो भने न्यायिक आयोग गठन गर

अन्ततः प्रतिनिधि सभाले गठन गरेको छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सुनपानी छम्केर ‘सफाई’ दिएको छ । यो समितिले शर्मालाई चोख्याउँछ भन्ने पहिले नै थाहा थियो । किनभने यो समिति कुनै निष्पक्ष, स्वतन्त्र र न्यायिक समिति थिएन । गठबन्धनको बहुमत भएको समितिले स्वयं प्रधानमन्त्रीको समेत संलग्नता रहेको विषयमा ठोस प्रमाण केलाएर सत्य तथ्य प्रतिवेदन तयार पार्ला भन्ने कल्पनै गरिएको थिएन । करका दर हेरफेर प्रकरणमा प्रधानमन्त्रीका पुत्रको कम्पनीको नाम पनि सार्वजनिक भइसकेकाले देउवाको पनि परोक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आमनागरिकले आशंका गरेकै थिए । त्यही भएर स्वतन्त्र र न्यायिक आयोग गठन गरेको भए दूधको दूध र पानीको पानी आउँथ्यो । समितिले नाटकै हो नौटंकी नै हो भन्ने शैलीमा आमनागरिकलाई विश्वास नै थिएन ।

समिति गठनको औचित्य नै थिएन । गठबन्धनकारी र बहुमतको भारी भएका सांसद (सदस्य) रहेको समितिले सत्तापक्षको अपराधको पटाक्षेप कसरी गर्न सक्छ र ? विपक्षी एमालेको फरक मत रह्यो । जबकि समितिले सर्वसम्मत ढंगले प्रतिवेदन तयार गरेको भए विश्वास गर्न सकिन्थ्यो । समितिले अर्काे नौटंकी के देखायो भने छानबिनको मूल विषयवस्तुमा प्रवेश नै गरेन । मूल मुद्दा थियो करका दरमा हेरफेर । दोस्रो मुद्दा थियो कुन व्यक्तिलाई मध्यरातमा आर्थिक विधेयक, २०७९ को ‘मस्यौदा’ गर्न लगाइयो । करका दर परिवर्तन गर्नु भनेको आर्थिक अपराध हो । राजस्व अपचलन हो । राजस्वको हिनामिना गर्नु हो । यस्तो संगीन विषयमा प्रवेश नै नगरी लक्ष्मणलाल कर्णको समितिले जनार्दनलाई सुनपानी छर्के पनि आमजनताले पत्याएका छैनन् ।

प्रारम्भिक नजरमै समिति खोटपूर्ण नियतका साथ बनेको थियो । बहुमत र अल्पमत हुने गरी समिति खडा हुनु नै विषयवस्तु सामसुम पार्नु रहेको पुष्टि भइसकेको छ । यो समिति आफै धामी र आफै बिरामीजस्तो थियो । आखिर त्यही गर्‍यो, जुन गर्नेछ है भनेर सबैले भनेकै हुन् । यो प्रकरणमा फुटेजमा को देखियो वा को देखिएन भन्ने विषय नै थिएन । कुन कुन करका दरमा के कति परिवर्तन भएन ? ती परिवर्तनका आधार र औचित्य के थिए ? के कारणले घटाइएको वा बढाइएको थियो ? त्यसमा हजार वटा प्रश्न तेर्स्याउन सकिने ठाउँ छ । आयातीत स्यानिटरी प्याडमा कर घटाइएको छ, तर स्वदेशमै बन्ने स्यानिटरी प्याडको कच्चा पदार्थमा भन्सारका दर बढाइएको छ । प्रधानमन्त्रीका सुपुत्र स्यानिटरी प्याड आयात गरेर बेचबिखन गर्छन् भन्ने त सामाजिक सञ्जालमा प्रमाणसहित आइसकेका थिए । प्रधानमन्त्री पुत्रले त्यही व्यापार गर्नु र उनले गरेकै व्यापारमा कर छुट हुनु ‘संयोग’ मात्र किमार्थ होइन होला ?

व्यापारीलाई पोस्ने अनि राजस्व मार्ने गरी गरिएका परिवर्तनमा समितिले सघन रुपले विशेषज्ञलाई अघि राखेर अध्ययन गर्नुपर्थ्याे । सीसीटीभी फुटेज राज्य शक्तिको लगाएर ‘नदेखिने बनाइएको’ पनि लुकेको छैन । अर्थ सचिव, राजस्व सचिव र अन्य कर्मचारीहरुले शर्माका विरुद्ध बयान दिने हैसियतमा थिएनन् र छैनन् । यत्तिका आधारमा ‘सीसीटीभीमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन’ भन्दै सफाइ दिइयो । 

यो प्रकरणले देशमा भ्रष्टाचार कसरी संस्थागत भइसकेको रहेछ भन्ने ज्वलन्त उदाहरण दिएको छ, त्यो पनि आमसर्वसाधारणले समेत बुझ्ने गरी । जनताको रोष शान्त भए त करका दर परिवर्तनजस्तो राज्यविरुद्धको अपराधमा सहभागीले माफी पाउलान् ? श्रीलंकाका जनताले झैं नेपाली जनताले पनि नेताका घर र अड्डा घेर्ने दिन नआउला भन्न सकिन्न । किनभने अब त अति नै भयो । बजेटमै नीतिगत भ्रष्टाचार गर्ने, छानबिन गरेको जस्तो गरेर जनताको आँखामा छारो हाल्ने अनि जनताले पत्याइदिनुपर्ने ? हिम्मत छ, र सरकार चोखो छ भने न्यायिक आयोग गठन गर ।

स्वतन्त्र र निष्पक्ष आयोगले मात्र यस्ता विषयको पडताल गर्न सक्छ । पहिले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई जोगाउने गरी गठन भएको समितिले ‘छानिबन’ गर्ला भन्ने विश्वास नै थिएन । नेपालमा भ्रष्टाचारलाई संस्थागत गर्न राज्यसंयन्त्र र सिंगो संसद कसरी लाग्दो रहेछ शर्मा प्रकरणले प्रस्ट देखाएको छ । श्रीलंकाका राजापाक्षेहरु नबन्ने हो भने तत्काल न्यायिक आयोग गठन हुनुपर्छ । अनि मात्र जनताले विश्वास गर्नेछन् ।