सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

तनहुँ हाइड्रोमा जापानको अनुचित करकाप

पटक–पटक ठेक्का रद्द भएर समय घर्किंदै गएको तनहुँ हाइड्रो (साविकको माथिल्लो सेती) मा ठेकेदारहरुबीच आर्थिक विषयलाई लिएर कुरा नमिल्दा पुनः ठेक्का रद्दको संघारमा पुगेको छ । प्याकेज नं. २ को लगानीकर्ता जाइकाले जापानको हिटाची भन्ने कम्पनीकै सामान लिनुपर्ने शर्त ठेक्कामै राखेको थियो । प्याकेज–२ को ठेकेदार सिनो हाइड्रोले हिटाची जोजेनसँग समझदारी गर्दा पहिले नै मूल्य तय नगरी आपसी सहमतिमा गर्ने भनिएको थियो । ठेक्कासम्बन्धी समझदारी भएको चार वर्षपछि हिटाचीसले उक्त सामानको मूल्य तीन गुणा बढी लिन खोजेपछि विवाद उत्पन्न भएको हो ।

बजारमा प्रचलित मूल्यमा आपूर्ति गर्नुपर्नेमा हिटाचीबाहेक अरुको सामान नलिने ठेक्काको शर्तको बलपूर्वक र जबर्जस्ती गैरव्यावासयिक रुपमा असुल्न खोजेको छ । ठेकेदार सिनो हाइड्रो हिटाचीले भनेजस्तो रकम तिर्ने हो भने आफू ठूलो नोक्सानमा पर्ने, बरु ठेक्कै रद्द गराएर धरौटी जफत गराउने पक्षमा छ ।

जापानजस्तो ऋण दिएर पछि अनुदानमा परिणत गराउने देशले मौका पाउँदा डुँडिल्लो नै निल्ने गरी ठेकेदार सिनो हाइड्रोलाई अठ्याउन खोजेको देखिन्छ । कदाचित ठेक्का रद्द भयो भने पुनः ठेक्का गराउँदा लागत र समय निकै बढ्ने मात्र होइन, थप लगानी जुटाउन समस्या भई आयोजना नै खारेज हुने अवस्थामा नपुग्ला भन्न सकिंदैन । 

तनहुँ हाइड्रो साँझपख खपत हुने बिजुली उत्पादन गर्ने अर्धजलाशययुक्त आयोजना हो । यो आयोजनाको सम्पन्न भएपछि हिउँदयाममा भारतबाट आयात हुने बिजुलीको परिमाण घटाउँछ नै । कुलेखानीपछि बन्न लागेको अर्धजलाशययुक्त आयोजना यतिखेर दुई ठेकेदार कम्पनीको आर्थिक स्वार्थका कारण जोखिममा परेको छ । पुनः ठेक्का गर्दा लागत उच्च पर्ने भएपछि यसका दाताहरु आयोजनाबाट हात झिक्न सक्ने अर्काे जोखिम पनि उत्तिकै छ ।

जलविद्युत् उत्पादनमा निजी क्षेत्र राज्यभन्दा अग्र भए पनि अर्धजलाशययुक्त वा जलाशययुक्त प्रकृतिका आयोजनामा लगानी गर्न सक्दैन । यसको संरचना नै अत्यधिक खर्च लाग्ने हुन्छ । पोखरी बनाउनुपर्छ । बाँध बनाउनुपर्छ, जसले गर्दा निजी क्षेत्रको लगानीले भ्याउँदैन । त्यही भएर राज्य नै लागेर बनाउन खोजिएको हो । 

तनहुँ हाइड्रोको प्याकेज नं. १ को ठेक्का यसअघि पनि रद्द भएको थियो । ठेक्का पाएर धरौटी रकम २ अर्ब रुपैयाँ बुझाइसकेको इटालियन ठेकेदार कम्पनीलाई मेलम्ची खानेपानी आयोजनामा तत्कालीन खानेपानी मन्त्री बिना मगर र तत्कालीन सचिव गजेन्द्र ठाकुरले भुक्तानी रोकेर भगाएका थिए । मेलम्ची छाडेको सीएमसीले तनहुँ हाइड्रोको ठेक्का पनि छाडिदियो । पुनः ठेक्का गर्दा यो आयोजना कम्तीमा पनि चार वर्ष पर धकेलिइसकेको छ । अब फेरि रद्द हुने संघारमा छ ।

जापान हाम्रो मित्रराष्ट्र र सबैभन्दा बढी आर्थिक अनुदान दिने, त्यो पनि रणनीतिक स्वार्थ नभएको देश हो । जापानकै लगानीमा कुलेखानी जलाशययुक्त आयोजन निर्माण भयो । कालीगण्डकी, सुरुङ मार्ग लगायत देशका प्रमुख पूर्वाधारहरुमा जापानकै सहयोग छ । नेपाल सरकारले जापान सरकारलाई अनुरोध गरी यो गाँठो फुकाउन ढिला भइसकेको छ ।

हिटाचीले अत्यधिक लालच नराखी बजारको प्रचलित मूल्यमा सामान दिनुपर्छ । यो दिलाउन हाम्रो आर्थिक कूटनीति कमजोर छ । जापानका लागि नेपाली राजदूतले जापान सरकारसँग यस्ता विषयमा कुराकानी गर्नुपथ्र्याे । तर हाम्रा राजदूतहरु देशको लागिभन्दा पनि आफ्नै लागि मात्र सोच्छन्, काम गर्छन् । देश त्यसै तन्नम भएको होइन ।

आन्तरिक राजस्वले नेता र कर्मचारीका तलब भत्ता खान नपुगेर आन्तरिक ऋण लिनुपर्छ । ठूला पूर्वाधार विकासमा विदेशी सहयोग पनि खाँचो छ । अरुसँग हात पसारेर मागेपछि उसका शर्त पनि मान्नैपर्ने भयो । हिटाचीले पनि अन्तिम घडीमा आएर ‘धोखा’ देला, लालच पलाउला, अप्ठेरो पार्ला भन्ने कल्पना कसैले गरेको थिएन । हिटाचीलाई जाइकाले मात्र मनाउन सक्छ । 

देशलाई समस्या पर्दा त्यसको समाधान गर्न सक्ने नेतृत्व नभएका कारण यस्ता घटना आइरहन्छ र अन्ततः लागत बढाउँछ । ऊर्जा मन्त्री, अर्थमन्त्रीहरुले भूमिका खेल्नुपथ्र्याे । अर्थमन्त्री अन्तर्राष्ट्रिय रुपमै बदनाम छन्, करका दर मध्यरातमा परिवर्तन गराएर । ऊर्जा मन्त्रीलाई यी र यस्ता सवालमा कुनै वास्तै छैन । देश भाँडै गए पनि यिनीहरुलाई मतलब हुँदैन । हिटाचीमा देखिएको यो आर्थिक विचलन सुधार गर्न सरकारले दह«ो कूटनीतिक लबिङ गर्न ढिला भइसकेको छ ।