म गसिप पचाउन नसक्ने मान्छे हैन तर जथाभावी लेख्न त भएन नी !

काठमाडौँ - बेनिशा हमालको पछिल्लो रिलिज ‘घर’ थियो । हरर विधाको फिल्मले औसत व्यापार गरे पनि यो फिल्मले बेनिशालाई खास फाइदा भएन । यो फिल्म रिलिज भएको लगभग ४ वर्षपछि बेनिशा ठूलो पर्दामा फर्किएकी छिन्, ‘प्रेमगञ्ज’ मार्फत् । यो फिल्ममा उनले रानीको भूमिका निर्वाह गरेकी छिन् जसको प्रेमीसँग कठिन मोडमा अन्तरालमा भेट हुन्छ । ट्रेलरमा अटाएका केही दृश्यमा बेनिशाले प्रभावशाली अभिनय गरेकी छिन् । उनलाई यो फिल्मबाट आश छ ।
यता ‘प्रेमगञ्ज’को प्रचार चलिरहँदा बेनिशाले ‘छक्का पञ्जा ४’ मा अभिनय गर्ने मौका पाएकी छिन् । व्यवसायिक सफलता चाख्न चाहानेका लागि हत्ते गर्ने प्रोजेक्ट हो यो । तर यो प्रोजेक्टमा अरु कसैको सिफारिसका कारण मौका पाएको कुराले बेनिशा खुसी छैनन् । सूर्यविनायकमा पूजा आजा गर्दै फिल्मको घोषणा भएसँगै कुनै निर्देशकको सिफारिसमा उनले यो फिल्ममा मौका पाएको खबर आएका थिए ।
बेनिशाले यो खबरको ठाडो खन्डन गर्दै भनिन्, ‘मलाई विशुद्ध रुपमा छक्का पञ्जा टिमबाट अफर आएको हो । कसैले रिफर गरेको कुरामा रत्तिभर पनि सत्यता छैन,’उनले इकागजसँगको कुराकानीमा भनिन्, ‘म गसिप पचाउन नसक्ने मान्छे हैन । तर हुँदै नभएको कुरा त लेखिदिन भएन नी ।’
‘छक्का पञ्जा ४’, ‘प्रेमगञ्ज’बाहेक बेनिशा यतिबेला आफ्नै कामका कारण पनि चर्चामा आएकी छिन् । उनको लेखन तथा निर्देशन रहेको लघु फिल्म ‘मिसिङ ब्राइड’ को पोस्टर सार्वजनिक भएको छ जसले बेनिशालाई कान्छी अभिनेत्री निर्देशकको भिडमा खडा गरेको छ । यसअघि उनका थुप्रै अग्रज अभिनेत्रीले निर्देशकको रुपमा आफ्नो यात्रा सुरु गरिसकेका छन् ।
लगभग एक दशकअघि नै बेनिशाले आफूलाई फिल्म लेखनमा रुचि भएको र फिचर फिल्मका लागि कथा लेखिरहेको बताएकी थिइन् । तर १० वर्षसम्म पनि ती कथाले दृश्यको सहारा पाएनन् । बेनिशा आफूले लेखेको पटकथा आफूले भरोसा गर्ने निर्देशकको हातमा रहेको र चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् । तर ‘मिसिङ ब्राइड’ उनले अचानक सोचेको र सम्भव भएको प्रोजेक्ट हो ।
बेनिशाका अनुसार अभिनयमा आफू थप तिखार्न उनले मुम्बईमा गएर एउटा फिल्ममेकिङ कोर्स गर्ने निर्णय गरेर सन् २०१८ मा मुम्बई पुगिन् । न्युयोर्क फिल्म एकेडेमीबाट सम्बन्धन प्राप्त यो इन्स्टिच्युटको प्रावधानअनुसार विद्यार्थीले समूहमा रहेर एउटा ग्रयाजुएसन फिल्म बनाउनु पथ्र्यो । बेनिशाको समूहबाट बेनिशाले लेखन र निर्देशनको जिम्मा लिइन् भने बाँकीले अभिनय र अन्य पाटोको ।
तर यसको थप तयारी हुनुअघि नै भारतमा कोभिड १९को लहर सुरु भयो । बेनिशाले सोचिन्, भारतमा अड्किनुभन्दा नेपाल गएर नै बस्नु बेस । उनी नेपाल फर्किइन् । तर यसपछि बेनिशा नेपाल फर्केको फर्कै भइन् । महामारीले दुई वर्ष सर्लक्क खायो । अनि त ग्रयाजुएसन प्रोजेक्टका लागि बनाएको फिल्म बेनिशाले नेपालमा नै सुटिङ गरिन् । यसरी कुनै दिन लेखक बन्छु भनेर लागेकी बेनिशा एकैचोटि ‘मिसिङ ब्राइड’बाट लेखक÷ निर्देशक बनिन् ।
लघु फिल्मको पोस्टर सार्वजनिक भएसँगै बेनिशाले बधाइ र प्रश्न दुवै पाइरहेकी छिन् । बधाइ त लेखक÷निर्देशक बने वापत् भइहाल्यो । प्रश्न चाहिँ ‘फिल्मको मुख्य भूमिकामा आफैँ किन नखेलेको’ भन्ने छ । फिल्मको मुख्य भूमिकामा बेनिशाले वर्षा राउतलाई लिएकी छिन् भने उनलाई पर्दामा साथ दिएका छन् भिजे विवेकसिंह ठकुरीले ।
‘म मल्टिटास्कर होइन नी । एकै समयमा धेरैवटा काम गर्न सक्दिन,’ बेनिशाले स्पष्ट पारिन्,‘ म मेरो सारा ध्यान निर्देशनमा फोकस गर्न चाहान्थेँ । त्यसैले अभिनय गर्ने रहर पालिन ।’ बेनिशाले फिल्मको कास्टको कुरा गर्दा वर्षा राउतको तारिफ गर्न पनि बिर्सिनन् । उनका अनुसार वर्षा राउतले फिल्ममा गज्जब काम गरेकी छिन् ।
अहिले पनि पोस्ट प्रडक्सनको चरणमा रहेको फिल्मलाई बेनिशाले फेस्टिभलमा पठाउने सुझाव पाएकी छिन् । यसका लागि उनले मीन भामको सुझाव लिइरहेकी छिन् । मीनले नै उनलाई फिल्म हेरेपछि फेस्टिभलतिर पठाउन सुझाव दिएका छन् । फिल्म फेस्टिभलतिर छानियो भने आफ्नो निर्देशन यात्रालाई आँट हुने उनको अपेक्षा छ ।
‘फिमेल फिल्ममेकरलाई बाहिरतिरको फेस्टिभलमा अलि प्रमोट गर्छ भन्ने सुनेकी छु । म सुरुमा सर्ट फिल्मबाटै आफूलाई निखार्न चाहान्छु । यसबाट पर्याप्त आत्मविश्वास आर्जन गरेपछि बल्ल फिचर फिल्मको बारेमा सोच्छु,’ बेनिशाले भनिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया