बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

जनताको अपेक्षा बुझेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन

मकवानपुर- नेकपा एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले जनताको अपेक्षा बुझेर काम गर्न आफ्ना जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी, मकवानपुरद्वारा आयाेजित तथा स्थानीय तह विभागको संयाेजनमा भएकाे स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूकाे भेलालाई सम्बाेधन गर्दै रानाले यस्तो निर्देशन दिएका हुन् । जनताकाे कामलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा सम्पादन गर्न र पार्टीले निर्वाचनमा जारी गरेकाे घाेषणापत्रलाई मार्गदर्शनकाे रूपमा लिनुपर्ने रानाले बताए । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू समाजमा अब्बल रूपमा कामबाट स्थापित हुनुपर्ने र जनताकाे पीडा, समस्या र दुःखमा हरदम साथमा रहन नेता रानाले आग्रह गरेका हुन् । आज प्रतिक्रियावादी र अवसरवादीहरूले नेकपा एमालेमाथि चाैतर्फी घेराबन्दी गरेकाे छ, जनप्रतिनिधिकाे क्रियाशीलता र व्यवस्थित संगठनकाे बलमा आगामी संसदीय निर्वाचनकाे नतिजाले नै उचित जवाफ दिनका लागि सबै चनाखाे हुनुहोस्,' उनले भने । 

कार्यक्रममा पार्टी बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले गठबन्धन सरकारले सत्ता टिकाउन विदेशीको खेल मैदान बनाउने षड्यन्त्रलाई सहयाेग गरेकाेले राष्ट्रियता जाेगाउन एमाले बलियाे हुनुपर्ने बताए ।

जिल्ला कमिटी सचिव नवीन सिग्देलले पार्टीले सञ्चालन गरेकाे ४५ दिने संगठन सुदृढीकरण र शुद्धिकरण अभियानबारे प्रष्ट पारे । कार्यक्रममा पार्टी जिल्ला उपसचिव तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भेलाकाे महत्व र जनप्रतिनिधिकाे भूमिकाबारे प्रष्ट पारेका थिए । 

पार्टी जिल्ला उपाध्यक्ष तथा स्थानीय तह विभागका प्रमुख लालबहादुर थापाले  सभाध्यक्षता गर्दै कार्यक्रममा समाजवादकाे आधार तयार गर्न स्थानीय तहकाे भूमिका महत्वपूर्ण रहेकाे बताउँदै जनप्रतिनिधि र पार्टीबीचकाे सम्बन्ध नियमित अन्तरक्रिया र छलफल गर्दै सुदृढ गर्दै प्रभावकारी बनाउनु पर्नेमा जाेड दिए। 

बाग्मती प्रदेश कमिटीका सदस्यहरू भगवती पुडासैनी, अर्जुन अर्याल ईन्द्रमान स्याङ्तान, भाेजराज ढकाल, जिल्ला उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्यहरू फूर्वादाेर्जे लामा, अनिल बानियाँ, जुना दाहाल, दीपक खड्का, ईन्द्र सराेवर गाउँपालिका अध्यक्ष डिके पुडासैनी, उपाध्यक्ष उमा लामालगायत एमालेबाट निर्वाचित १० वटै पालिकाका वडाध्यक्ष र सदस्यहरूकाे उपस्थिति रहेकाे जिल्ला कमिटी उपसचिव सीता विष्टले बताइन् ।