सडकमा बस्न नपाउँदा त्रिपालमा बास

हेटौँडा : हेटौँडा बजारको सडकमा बस्न नदिएपछि भारतीय २० जनाको परिवार हेटौंडा-११ स्थित थानाभर्याङको तौलपुल नजिकै बस्दै आएका छन् । दिल्ली घर भएका राजु तेलवाला नामले चिनिने राजु त्रिपालमूनि विगत २ वर्षदेखि बस्दै आएका हुन् । उनीसँगै ३ वटा त्रिपाल मूनि चार परिवार बसेका छन् । तीन दाजुभाईको परिवार र भिनाजुसँगै बस्दै आएका हुन् । ३ दाजुभाई र भिनाजुको गरी १४ जना छोराछोरी त्रिपाल मुनि बस्छन् ।
पढ्न, लेख्न विद्यालय जानुपर्ने समयमा त्रिपाल मूनि बसेर ती बालबालिकाहरू दिनभर समय काट्छन् । ‘जिउ दुखेको, टाउको दुखेको, हाडजोर्नि दुखेको दुखाई कम गर्ने जडिबुटीको तेल बेच्न आफुहरूसँगै केही बच्चाहरू लैजाने गरेको छु । विद्यालय त आफुले पनि पढिन । बालबच्चा पढाउन थाल्यौ भने के खाने हामीले ? खानलाई पुग्दैन । यही त धौ धौ छ’ उनले भने ।
दिल्लीबाट ल्याएको तेललाई अस्पतालबाट फालिएको औषधिको बोतल टिपेर ल्याई सफा गरेर तेल भरेर बेचेर आफ्नो जिविका चलाई रहेका छन् राजु । परिवार सबैको मुख्य पेशा हो तेल बेच्ने । त्यही भएर आफुलाई तेल बेच्ने भनेर धेरेले चिन्ने गरेको राजु बताउँछन् । अहिले कहिले मनहरी, हेटौँडा बजार तथा अरु केही स्थानहरूमा आफुहरू तेल बेच्न जाने गरेको उनले सुनाए । उनी आफु थोरै पढे लेखेको भए पनि बजारबारे राम्रै जानकार भएको बताउँछन् ।
उनले बेच्ने तेलमा कत्तिको शुद्धता छ बास्तिक जडिबुटीको तेल हो या होइन यसमा धैरै शंका छ । हालसम्म कुनै प्रयोगशाालमा त्यस्ता तेलहरू जाँच भएको छैन । अधिकांश ग्राहकहरू निको भईहाल्छ की त्यस्ता तेल प्रयोग गर्छन । राजुको पुरा परिवार नै यो व्यवसायमा आबद्ध छ । जहाँ मानिसहरूको चहलपहल हुन्छ । त्यहाँ सानो स्थान ओगटेर तेल बेच्न सुरु भइहाल्छ । विगत २ वर्षदेखि हेटौँडा बजार र मनहरी क्षेत्रमा राम्रो व्यापार भएको कारण मकवानपुर जिल्ला छाड्नु नपरेको उनको भनाई छ । उनीहरू एकै स्थानमा लामो समय बस्न सक्दैनन् । यसअघि उनीहरू दमक, बिर्तामोड, धादिङलगायतका विभिन्न जिल्लाहरू घुमेर आइसकेका छन् । पहिले उनीहरू कुनै एक जिल्ला जान्छन् । त्यहाँ एक महिनासम्म बजार डुल्छन् । तेल बेच्ने काम गर्छन । तेल बिक्रि नभए भने उनीहरू आफ्नो बासस्थान परिवर्तन गर्छन ।
उनीहरू पहिले हेटौंडा बजार आसपास बस्ने गरेका थिए । नगर प्रहरीले हेटौंडामा बस्न नदिएपछि उनीहरू थानाभर्याङमा त्रिपाल टांगेर बस्नुपरेको उने बताए । प्रहरीले पनि बसेको स्थानमा आएर कहिलेकाही धेरै किचकिच गर्ने गरेको उनको भनाई छ । उनीहरूको त्रिपाल नजिकै अर्का क्रिपाल छ जहाँ बस्छिन् सिता राना मगर । उनी हेर्दा भर्खरकी छिन् । ३० वर्ष नकाटेकी सिताको ६ वटा बालबच्चा छ । एक छोरा सहित ५ वटा छोरीहरू छन् । ३ वटा आफुसँग र ३ वटा आफ्नो आफन्तसँग बस्ने गरेको उनले बताइन । उनको घर हेटौंडाको रातोमाटेमा छ । सासू बितेछि ससुराले अर्का बिहे गरेर भारत हिडेपछि आफुहरूको बिचल्ली भएको उनले बताइन् ।
‘श्रीमानको कुल्ली काम गर्दा खुट्टामा चोट लाग्यो । देख्दा खाइलाग्दो हुनुहुन्छ तर काम गर्न सक्नुहुन्न । आफ्नो सानो बच्चा छ कुल्ली काम गर्न कसैले बोलाउँदैन । सँगै लिएर जाँदा काम गर्न गार्हो हुन्छ ।’ उनले दुखेसो पोखिन, ‘काम गर्ने बेला पैसा बचाउन सकिएन । बालबच्चालाई खुवाउँदै ठिक्क भयो । घरभाडा तिर्न नसकेपछि त्रिपालमा आएर बस्न अहिले बाध्य भयौं ।'
उनी नजिकै अर्को त्रिपालमा बस्छन् विगु महत । उनी विरगञ्ज निवासी हुन् । विरगञ्जको घरमा परिवार छ । ‘उमेर हुँदा विरगञ्जमा रिक्सा चलाउँथे । नसकेपछि मागेर जीवन चलाउदै छु’ उनले भने । श्रीमती प्रत्येक हप्ता पैसा लिन आउँछिन् । एक हप्तासम्म मागेर १० रुपैयाँ, २० रुपैयाँ जम्मा गरेर राख्छु श्रीमती आएपछि पठाउँछु । उनी शारीरिक रुपमा स्वस्थ्य छैनन् । घरमा ग्याँस विस्फोट हुँदा हात जलेको उनको दाबी छ ।
उनलाई शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मानव सेवा आश्रममा गएर बस्न आग्रह गर्दा उनी मानेनन् । उनले आश्रममा आफु बस्दा आफुलाई खान बस्न पुगे पनि परिवार पाल्नुपर्छ भनेर आश्रममा नगएको बताए । उनले आफुले मागेको पैसाबाट आफ्नो परिवारले चलेको भन्दै आश्रममा जानुको सट्टा खुला आकाश मुनि बस्ने बताए ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया