दोर्दी-१ जलविद्युत् आयाेजना निर्माण सम्पन्न, प्रसारणलाइन नहुँदा विद्युत् उत्पादन सुरू भएन

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माणाधीन दोर्दी-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १२ मेगावाटकाे उक्त आयोजनाले विद्युत् उत्पादन परीक्षणसमेत गरिसकेकाे छ । तर, प्रसारणलाइन नहुँदा नियमित विद्युत् उत्पादन भने गर्न पाएकाे छैन ।
हाल व्यावसायिक विद्युत् उत्पादनका निम्ति प्रसारणलाइनको प्रतीक्षामा रहेको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।
यसअघि चैत २०७६ मा आयाेजना निर्माण पूरा गर्ने भनिए पनि दोर्दी खोलामा आएको बाढी र कोभिड-१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माण अवधि लम्बिएको हो ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे तीन किलोमिटर लामो प्रसारणलाइन आयोजना आफैँले निर्माण गरिसकेको छ ।
प्रचलित नियमावलीअनुसार ऊर्जा मन्त्रालयबाट विद्युत् उत्पादन अनुमतिपत्र लिएर प्राधिकरणसँग १०.३ मेगावाट विद्युत् खरिद सम्झौता गरेको छ । पीपीएमा सहमतिअनुसार सुख्खायाम पुसदेखि ८ चैतसम्म ८ रुपैयाँ ४० पैसा र बाँकी समय हिउँदमा चार रुपैयाँ ८० पैसामा खरिद मूल्य कायम भएको छ । पीपीएदर पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।
२०७४ सालबाट सुरु भएको सो आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न दुई अर्ब २९ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाइमा पाँच वटा बैंकले ऋण लगानी गरेका छन् ।
विद्युत उत्पादनका निम्ति दोर्दी करिडोरअन्तर्गत १३२ केभी प्रसारणलाइनमार्फत कीर्तिपुर सबस्टेसनमा जोडिएको छ । तर, गत वर्षको बाढीका कारण प्रसारणलाइन पुन: निर्माण नहुँदा आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको हो ।
तत्कालका लागि मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी प्रसारणलाइनअन्तर्गत उदिपुर सबस्टेसनमा जोड्ने तयारी गरे पनि सो प्रसारणलाइन पनि निर्माण सम्पन्न नभएकाले आयोजनाले विद्युत् उत्पादन गर्न नपाएको आयोजना प्रमुख सिलवालले बताए ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया