'अरु गाडी चढ्ने, लेखक चाहिँ पठाओ पनि चढ्न नहुने ?'

सुरेश बडाल, नेपाली साहित्यमा अब स्थापित नाम हो । पहिलो कृतिबाटै साहित्यिक वृत्तमा शानदार ‘इन्ट्री’ गरेका बडालको दोस्रो सिर्जना प्रकाशोन्मुख छ– 'मायाका मसिना अक्षर' । उनको दुई वर्षअघि मूलतः बाल मनोविज्ञानमा आधारित कथा संग्रह ‘रहर’ प्रकाशित भएको थियो । सो कथा संग्रहबाट उनले धेरै पाठकको माया पाए । उनलाई ‘सेलेब्रिटी लेखक’समेत बनायो ।
कथाकारका रुपमा साहित्य क्षेत्रमा पाइला चालेका बडालको परिचयको दायरा अझ फराकिलो हुँदैछ– उपन्यासकारको रुपमा । ‘ब्याक टू ब्याक’ पुस्तक लेखिरहेका बडालसँग इकागजले उनको केही दिनमै सार्वजनिक हुन लागेको ‘मायाका मसिना अक्षर’को सन्दर्भमा कुराकानी गरेको छ ।
यसपालि पनि पाठकहरूबाट सकारात्मक प्रतिक्रिया पाउनेमा उनी ढुक्क छन् । पुस्तकको कभर र सामाजिक सञ्जालमा पोस्ट गरिएका केही पंक्तिबाट पाठकहरूबाट उत्साहपूर्ण साथ पाइरहेको उनी बताउँछन् । भन्छन्– उहाँहरूको माया र साथले ममा उर्जा भरिदिएको छ । उपन्यासको नामदेखि विषयवस्तु, लेखन अनुभवदेखि लेखनको उद्देश्यलगायत विभिन्न विषयमा इकागजकर्मी कमल विष्टले बडालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंश;
सिर्जनाको हिसाबले दोस्रो तथा उपन्यासका हिसाबले पहिलो कृति केही दिनमै सार्वजनिक हुँदैछ । कस्तो महसुस भइरहेको छ ?
दुई वर्षको अन्तरालमा मेरा दुई पुस्तक आइसके र एउटा आउनेवाला छ । पहिलो पुस्तक आउँदा आफ्नो सपना नै पूरा भयो भन्ने लागेको थियो । दोस्रो काम, पाओला कोहेलोको ‘हिप्पी’ नेपालीमा अनुवाद गर्दा पहिलो जस्तो रोमाञ्च महसुस गरिनँ । अहिले तेस्रो आउँदै छ, त्यो रोमाञ्चकता अझ घटेको छ । विस्तारै पुस्तक प्रकाशन हुनु एउटा लेखकका लागि नियमित काम रहेछ भन्ने भइरहेको छ ।
तर, पाठकहरूमाझ पुग्दै गर्दा एउटा छुट्टै किसिमको अनुभूति भने सधैँ हुँदोरहेछ । जुन कथा मसँग मात्र थियो, त्यो सबैमाझ पुग्दैछ भनेर अलि नर्भस छु ।
अनि नर्भस चाहिँ किन ?
आफ्नो पुस्तक पढ्दै गर्दा कुनै बेला राम्रो लेखेको छु भनेर ढुक्क हुन्छु, तर त्यो लामो समयसम्म रहँदैन । ३० मिनेटमै अहो ! कतै कमजोर त लेखिनँ भन्ने लागिहाल्छ । ठूलो साइजको पुस्तक आउँदा त्यसलाई पाठकहरूले कसरी ग्रहण गर्लान् भन्ने उत्सुकता र नर्भसनेस दुवै मनमा भइहाल्दो रहेछ ।
पछिल्लो समय साहित्यमा पनि पोलिटिकल करेक्टनेस खोज्ने प्रवृत्ति बढिरहेको छ । नियत नभए पनि मेरो लेखनले कसैलाई हर्ट गर्ने त होइन ? बेलाबेला यस्ता कुरा पनि दिमागमा आउँछन् ।
एउटा लेखक ‘पोलिटिकल्ली करेक्ट’ हुन कति आवश्यक छ ?
पोलिटिकल करेक्ट हुनु आवश्यक छ, तर सबै ठाउँमा हुन सकिँदैन । हुन खोज्दा कथा रहँदैन कि भन्ने लाग्छ । कथा आफ्ना कुरा अभिव्यक्त गर्ने एउटा माध्यम मात्र हो, एउटा ‘टुल’ मात्र हो । उदाहरणका लागि अहिले नेपालमा गणतन्त्र छ । गणतन्त्र विकास र समृद्धिको ‘टुल’ मात्र हो । तर, आफूले चाहेअनुरुप विकास नहुँदा नागरिकहरू गणतन्त्रलाई गाली गर्छन् । गणतन्त्र आफैँमा गलत हो त ? जसरी नेताहरूले गर्न नसकेको दोष गणतन्त्रलाई दिनु उचित होइन, त्यसरी नै पाठकहरूले आफूले चाहेको कुरा कथामा नपाएपछि कथालाई नै गाली गर्नु उचित होइन ।
समालोचनालाई कसरी लिनुहुन्छ ?
समालोचनालाई अत्यन्तै स्वभाविक रुपमा लिन्छु । कुनै पनि क्षेत्रमा नयाँ कुरा आउँदा त्यसको अन्तरवस्तु केलाउनु, वैचारिक मन्थन गर्नु, सिर्जनात्मक आलोचना गर्नु एकदमै आवश्यक छ । तर, भन्नका लागि भन्ने वा यसले त किताब लेख्यो, अब यसलाई त ठोक्नुपर्छ भनेर गरिने आलोचनाहरू मलाई सुन्दर लाग्दैनन् ।
अन्य क्षेत्रमा झैँ साहित्यमा पनि खुट्टा तान्ने प्रवृत्ति छ भन्न खोज्नुभएको हो ?
हो । हाम्रो क्षेत्रमा यो कुरा व्यापक छ । कोही व्यक्तिगत रुपमा मन नपरेकै कारण उसको विचारलाई निषेध गर्ने परिपाटी पुरानै हो ।
मेरो पहिलो पुस्तक ‘रहर’ बाल मनोविज्ञानमा आधारित छ । त्यसलाई लिएर केही मानिसहरूले जसरी तर्क गरे, त्यसको खण्डन गरे, त्यो आवश्यक थिएन । केहीले भन्नकै लागि भने । तिनमा पूर्वाग्रहको गन्ध थियो । तर, त्यो आवाज ठूलो थिएन । नगण्य थियो ।
अहिले त झन् मेरो पुस्तकको मुख्य विषय नै प्रेम छ । प्रेम यसै विवादित विषय । कसैले यसउपर लेख्दा उसलाई गाली गर्नका लागि आकर्षक विषय पनि हो प्रेम । यस्तो विषयमा लेखिरहँदा उनीहरूलाई गाली गर्न अझ सजिलो हुनेछ ।
यो प्रवृत्ति साहित्यमा मात्र होइन, सबै क्षेत्रमा छ । यो परिपाटी नेपालमा मात्र होइन, संसारभर छ । त्यसैले, यसलाई त्यति महत्व दिनुपर्छ जस्तो पनि मलाई लाग्दैन ।
अब तपाईंको पुस्तकको नाम र यसको विषयवस्तुतिर जाऔँ । ‘मायाका मसिना अक्षर’, उपन्यासको नाम चलनचल्तीको भन्दा फरक छ । नाम र विषयवस्तुबारे बताइदिनुस् न ।
पुस्तकको नाम ‘मायाका मसिना अक्षर’ राख्नुपछाडि मूलतः दुई कारण छन् । पहिलो, किताबको नाम सुनिँदा पनि मायालु, मुलायम सुनियोस् । दोस्रो, चाहिँ विम्बात्मक होस् । मसिना अक्षरलाई अलि बढी सजग र जतनसाथ नियाल्नुपर्छ । उपन्यास लेखिरहँदा माया, अक्षर, मसिना जस्ता शब्दहरू मेरो मस्तिष्कमा गुञ्जिरहे । त्यो गुन्जायमान ध्वनि मलाई मनपर्यो । पुस्तकको नाम त्यो ध्वनिको उपज हो ।
विषयवस्तु नि ?
यसको क्यानभास काठमाडौं हो । तीनवटा मुख्य पात्रहरू छन् । त्यसमा पनि दुई पात्र, दिवस नाम गरेको युवक र रुवा नाम गरेकी युवती, अझ मुख्य छन् । उनीहरूबीच धेरै कुरामा समानता छ । उमेरदेखि संघर्षसम्म । अधिकांश समय कथा उनीहरूकै वरिपरि घुम्छ ।
सामाजिक सञ्जालमार्फत भेट हुन्छ । मित्रताबाट सुरु भएको सम्बन्ध प्रेममा परिणत हुन्छ । अगाडि बढ्दै जाँदा उनीहरूबीच जेजे हुन्छ, त्यो उपन्यासमा छ । यसमा माया के हो ? आकर्षण के हो ? धोका के हो ? भ्रम के हो ? जस्ता प्रश्नको उत्तर खोज्ने चेष्टा पुस्तकमा गरिएको छ । पाठकले प्रेमलाई सुरुसुरुमा जसरी बुझेका हुन्छन्, अन्तिमसम्म त्यो अर्कै भइसकेको हुन्छ ।
यो नायकको भन्दा पनि खलनायकको कथा हो । कथाकी पात्र पनि त्यस्ती आकर्षक छैन । उसलाई सिंगारिको छैन । न त ऊ मुना नै हो । ऊ प्रेमको ‘आइकन’ पनि होइन ।
सर्जकको जिन्दगीसँग कथा कति मेल खान्छ ?
लेखकको व्यक्तिगत जिन्दगीे र सिर्जना नितान्त फरक कुरा हुन् । लेखक जोकोही होस्, यसले अर्थ राख्दैन । किताबलाई पर राखेर प्रश्न मलाई गरिएको हो भने म अविवाहित हुँ ।
तर, म पूर्ण रुपमा निरपेक्ष भने छैन । थोरै मात्र छु उपन्यासमा । पुस्तक थोरै आफ्नै भोगाइ, थोरै साथीहरूको जीवन र धेरै स्वैरकल्पनाको संयोजन हो ।
पाठकहरूले प्रेमउपर लेखिएका थुप्रै पुस्तकहरू पढिसकेका छन् । यो सूचीमा तपाईं पनि थपिनुभएको छ । पाठकहरूले किन फेरि त्यही पुररावृत्ति पढ्ने ?
अहिलेसम्म प्रेममाथि लेखिएका पुस्तकहरू सतही छन् । लेखनी एउटै फर्मुलामा चलिरहेको छ । पहिला भेट, त्यसपछि ‘डेट’ अनि विछोड । मैले चाहिँ अलि गहिराइमा पुगेर समस्या बुझ्ने प्रयास गरेको छु । समाचारले देखेको कुरा मात्र भन्छ, नदेखिने र मान्छेको मनभित्र घटेको कुरा भन्दैन । साहित्यले नदेखिने कुरा भन्नुपर्छ ।
नेपाली साहित्यमा अहिलेसम्म प्रकाशित पुस्तकहरूबाट म सन्तुष्ट भइनँ । मैले देखेका, मलाई हिर्काएका विषयवस्तुबारे म आफैँले लेख्नुपर्छ भन्ने लागेर यो लेखेको हुँ।
हो, नलेखिएको विषयमा मैले लेखेको भए राम्रो हुन्थ्यो । तर, एकपल्ट चाहिँ लेख्नैपर्छ भन्ने लाग्यो । बरु फेरि प्रेमकै विषयमा नलेखुलाँ ।
पुस्तकमा प्रेमका संगतिभन्दा विसंगतिबारे चर्चा छ । पुस्तक यस अर्थमा पनि फरक छ ।
कथाकारदेखि अब उपन्यासकार हुने बाटोमा हुनुहुन्छ । कथा लेखन र उपन्यास लेखनमा के–कस्ता फरक पाउनुभयो ?
कलाका सबै पाटाको अनुभूति एउटै हुन्छ । त्यसैले त्यति फरक हुन्छ जस्तो मलाई लाग्दैन । एउटा लेखकलाई आफ्ना कुरा जुन विधाबाट अभिव्यक्त गर्दा ठीक हुन्छ जस्तो लाग्छ, उसले त्यसैबाट गर्छ । कसैले कथा, कसैले नाटक, कसैले कविता, कसैले फिल्म तथा कसैले उपन्यासबाट गर्छ ।
मलाई सानो फर्म्याटमा धेरै कुरा अटाउनु थियो, त्यसैले मैले ‘रहर’ लेखेँ । अहिले एउटै कथाको आयतन ठूलो हुँदै आयो, विस्तृतमा भन्नुपर्छ जस्तो लाग्यो त्यसैले उपन्यास लेखेँ ।
भन्नुको अर्थ, विधाले सर्जकको मनोदशालाई फरक पार्दैन । उनीहरूभित्र एउटै कुरा गुज्रिने हो । फरक के मात्र हो भने कुनैलाई लामो समय लगाएर सिर्जना गरिएको होला कुनलाई छोटै समयमा । कसैले कागजमा उतार्यो होला, कसैले कम्प्युटरमा । माध्यम मात्र फरक होला ।
पछिल्लो समय लेखकहरू बजारमुखी हुँदै गए, पुस्तकको संख्या बढ्यो, तर ‘क्वालिटी’ बढेन, त्यसैले साहित्यमा ह्रास आयो भन्ने जस्ता तर्क पाठक तथा समालोचनबाट मात्र होइन, कहिलेकाहीँ लेखकहरूबाटै सुनिन्छ । तपाईं चाहिँ बजारबारे कति सोच्नुहुन्छ ?
बजारमुखी नहुनलाई त तपाईंले घरमै बोलाएर पुराण लगाएर कथा भन्नुपर्छ । हरेक उत्पादित वस्तुलाई बजार चाहिन्छ । तपाईं समाचारलाई त 'कमोडिटी' बनाएर बेच्नुहुन्छ । बीचबीचमा विज्ञापन राखेर समाचार बेचिन्छ ।
मसी र कागज त्यत्तिकै आउँदैनन् । सरकारले सञ्चालन गरेका प्रज्ञा र साझा हामीले देखिसकेका छौँ । बरू निजी क्षेत्रका प्रकाशकहरूले घरखेत बन्धकी राखेर प्रकाशन गृह खोलेका छन् । लेखकले ऋण लिएर पुस्तक प्रकाशन गरेका छन् । अन्य क्षेत्रका व्यक्तिहरू चाहिँ गाडी चढेर हिँड्न हुने, तर लेखक चाहिँ पठाओ चढेर पनि हिँड्न नहुने ? त्यसैले, व्यावसायिक हुनुपर्छ ।
तर, म लेख्दाखेरि कथालाई न्याय गरेँ कि नाइँ भनेर हेर्छु । त्यो ‘कमर्सियल’ भयो कि भएन भनेर हेर्दिनँ । कला र साहित्य ‘कमर्सियल’ हुँदैन, प्रस्तुति हुन्छ । एउटा सिनेमा ‘कमर्सियल’ हुँदैन, तर त्यसमा गरिएको लगानी, पसिना, श्रम र मेहनतको अवश्य पनि मूल्य हुन्छ । पुस्तकको हकमा पनि त्यही हो ।
साहित्यमा ह्रास आएको छ । तर, त्यो ‘कमर्सियल’ भएर आएको होइन । त्यो त कामभन्दा हल्ला धेरै गर्ने प्रवृत्तिका कारण आएको हो । खै त पुस्तक लेखिएका ? ह्रास भएको गुणको क्षतिपुर्ति त असल किताब लेखेरै पूरा हुने होला । किन लेख्दैनन् त लेखकहरू ?
केही लेखकहरूले बेलाबेला नेपालमा लेखेरै खाने अवस्था सिर्जना नभइसकेको गुनासो गर्छन् । तपाईंको हकमा के छ ? लेखेरै बाँच्न सकिन्छ ?
लेखेरै बाँच्ने अवस्था त छैन, तर म बनाइरहेको छु । त्यसमाथि पछिल्लो समय नेपालमा पुस्तकको व्यापार खस्किएको छ । किताब मात्रै लेखेर बाँचिँदैन । तर लेखनका धेरै विधाहरू छन् । आफूले पहिल्याउन सक्नुपर्छ । म अनुवाद गर्छु, विज्ञापन तथा विभिन्न क्षेत्रका लागि ‘कन्टेन्ट’ लेख्छु ।
तपाईँको पुस्तक ‘भर्चुअल्ली’ सार्वजनिक गर्ने कुरा रहेछ । किन ?
संक्रमण बढिरहेको अवस्था छ । झरी पर्ने मौसम । पानी परेर अप्ठेरो पर्ला भन्ने पनि लाग्यो । पट्यारलाग्दा विमोचन कार्यक्रमहरू, उही वक्ता, विमोचनका उस्तै शैली, पाठक, दर्शकहरूलाई पनि झिँजो जस्तो लाग्न थालेको आभाष पनि भयो । यसो गर्दा खर्च पनि जोगिने भयो ।

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण
नरेन्द्र प्यासीको आवाजमा रुमानीको धिम धिम मुटु सार्वजनिक

कर्णालीमा सिस्नुपानीले भ्रष्टाचारविरूद्ध सचेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम गर्ने

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

सकियो अक्षय कुमारको फिल्म ‘भूत बंगला’ को सुटिङ

तेलुगुका ३०० फिल्म हल रिलिज र ओटिटीमा जान अझै सकेनन

हलिउड फिल्म ‘टासी’को छायांकन टोली मुस्ताङमा

प्रतिक्रिया