शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

'बीमा गर्ने र भुक्तानी नगर्ने स्थितीले बीमा क्षेत्रको विश्वास घट्यो'

फाइल फोटो

काठमाडौँ- बीमा कम्पनीहरूले कोरोना बीमाको नाममा सर्वसाधारणबाट रकम उठाएर भुक्तानी गर्न नसकेको भन्दै महालेखा परीक्षकको कार्यमूलक प्रतिवेदनले प्रश्न उठाएको छ । महालेखाको कार्यमूलक प्रतिवेदनले कोरोना बीमाबाट सिर्जना भएको आर्थिक दायित्व बीमा समितिमा रहेको अभिलेख अनुसार २०७८ आषाढ २८ गते (११ जुलाई २०२१) सम्मको तथ्याङ्क अनुसार कोरोना बीमा गर्ने बिमित १७ लाख ५८ हजार ३४३ बाट विभिन्न बीमकले १ अर्ब ५ करोड ५ लाख २८ हजार प्रिमियम सङ्कलन गरेका उल्लेख छ ।

सोमध्ये १ लाख १४ हजार ६ सय ३३ बिमितबाट १० अर्ब ९७ करोड ७३ लाख ५४ हजार भुक्तानीको लागि दाबी परेको छ । यस परिस्थितिमा बीमकहरुले सङ्कलन गरेको प्रिमियमभन्दा ९ अर्ब ९२ करोड ६८ लाख २६ हजार बढी भुक्तानी दिनुपर्ने दायित्व सिर्जना भएको उल्लेख छ ।

बीमा भुक्तानीको लागि दाबी गर्नेमध्ये ७७ हजार ६ सय ३२ बीमितलाई ४ अर्ब ८१ करोड ११ लाख ७९ भुक्तानी भएको र ३७ हजार १ बीमितलाई ६ अर्ब १६ करोड ६१ लाख ७५ हजार अझै भुक्तानी दिन बाँकी रहेको सो प्रतिवेदनले उल्लेख गरेको छ ।

यसरी बीमा गर्ने र भुक्तानी नगर्ने स्थिती भएको हुँदा यसले बीमा व्यवसायमा विश्वास घट्दै जाने महालेखा प्रतिवेदनको ठहर छ ।