शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

आईएमई लाइफ इन्स्योरेन्सको एकैदिनमा ५ हजार ८४८ विद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं– बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । 

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान सम्पन्न गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । मुलुकभर ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व  र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिएको थियो ।  

आई.एम.ई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पूरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम,  ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा एक हजार ३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम पनि सम्पन्न गरेको छ ।