शनिबार १४ असार, २०८२
Saturday, June 28, 2025

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : टोपबहादुर रायमाझी

फाइल फोटो

चितवन - नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए । 

नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, `लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।` दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए । 

एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो ।  उनले भने, `वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।` लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उनले बताए । रासस