तर मन्त्रालयले भनेन किन बनेन ? भन्यो : रद्दै गर्नपर्छ

काठमाडौँ- ऊर्जामन्त्री पम्फा भुसालले विगत केही दिनयता सार्वजनिक रूपमा भन्दै आइरहेको एउटा भनाइ हो- विद्युत् खरिद सम्झौता (पीपीए) गरेर पनि निर्माणमा नजानेहरू लाइसेन्स (अनुमति पत्र) रद्द गरिनेछ ।
मन्त्री भुसालले यो कुरा त्यसै भनेकी होइनन् । उनले पहिला मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एउटा कमिटी बनाइन् । कमिटीले मन्त्रीले भने बमोजिमको सिफारिस गरिदियो ।
समितिले आफ्नो सुझावसहितको प्रतिवेदनमा लेख्यो ‘पीपीए, वित्तीय व्यवस्थापन र वातावरणीय अध्ययन प्रतिवेदन सम्पन्न भइसकेको अवस्थामा विद्युत् उत्पादनको अनुमति पत्रमा तोकिएको अवधिभित्र अनुमति पत्रमा उल्लेख भएका मुख्य-मुख्य संरचनाहरूमध्ये कुनै संरचनाको निर्माण कार्य सुरू नगरेमा उक्त अनुमतिपत्र रद्द गर्ने ।’
विद्युत् खरिद बिक्री सम्झौता रद्द भएमा विद्युतको सर्वेक्षण/उतपादन अनुमति पत्र पनि रद्द गर्नलाई कमिटीले सुझाएको छ ।
प्रतिवेदनमा विद्युत् खरिद बिक्री सम्झौता, वित्तीय व्यवस्थापन र वातावरणीय अध्ययन प्रतिवेदन लगायतका कागजात विवरण निश्चित समयावधिभित्र पेश गर्ने गरी सशर्त जारी भएका अनुमति पत्रमा तोकिएको म्यादभित्र (म्याद थपसमेत) सो विवरणहरू पेस नगरेमा अनुमति पत्र रद्द गर्ने भनिएको छ । ‘कागजात/विवरणहरू पेस गर्ने समयसीमाको सम्बन्धमा अनुमति पत्रसम्बन्धी निर्देशिकामा आवश्यक व्यवस्था गर्ने,’ प्रतिवेदनमा छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय/विद्युत् विकास विभागबाट कुनै कारणवश अनुमति पत्र रद्द भएमा सो अनुमतिपत्रका आधारमा गरिएको विद्युत् खरिद बिक्री सम्झौता रद्द गर्ने भन्दै कमिटीले सुझाएको छ ।
गत साउनमा गठित कमिटीले आफ्नो राय सुझावसहितको प्रतिवेदन साउनकै अन्तिम साता ऊर्जा मन्त्रीलाई बुझाइसकेको छ ।
विद्युत् प्राधिकरणले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार पीपीए भएर पनि हालसम्म ८१ वटा जलविद्युत् आयोजना (१५०४ मेगावाट)हरूले वित्तीय व्यवस्थापन गर्न सकेका छैनन् । पीपीए भएका दुईवटा सौर्य ऊर्जा (९.२ मेगावाट) ले पनि आर्थिक बन्दोबस्त गरेका छैनन् ।
वित्तीय बन्दोबस्ती नभएका ३६ वटा आयोजनाको आवश्यक व्यावसायिक सञ्चालन मिति (आरसीओडी) पनि समाप्त भइसकेको छ । प्राधिकरणले आफ्नै सहायक कम्पनीमार्फत निर्माण हुन लागेको ४० मेगावाटको रघुगंगा (साविकको राहुघाट) लाई पनि ‘वित्तीय व्यवस्थापन हुन नसकेको’ आयोजनाको सूचीमा राखेको छ ।
आरसीओडी समाप्त भएका तर वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाहरूमाथि ऊर्जामन्त्रीले आँखा लगाउनुको मुख्य कारण यिनका लाइसेन्स रद्द भएपछि करिब १५१३ (४० मेगावाटको रहुगंगाबाहेक) मेगावाटको पीपीएका लागि बाटो खुला हुनु हो ।
हाल प्राधिकरणले तीन वर्षदेखि पीपीए रोकेर बसेको छ । करिब ११ हजार मेगावाटको आयोजनाहरूले पीपीएका लागि निवेदन दिएर बसेका छन् । पीपीए रद्द गरेपछि यिनका लाइसेन्स पनि पुनः वितरण गर्न पाइने अर्काे आकर्षक भित्री योजना पनि छ । हिजो जनार्दन शर्मा ऊर्जा मन्त्री भएका बेला सरकारी बास्केटमा रहेका आयोजनाहरू बिनाप्रतिस्पर्धा आफू निकटकाहरूलाई दिलाएका थिए ।
जलविद्युत् लाइसेन्ससम्बन्धी कार्यविधि परिवर्तन गरेर अग्रिम निवेदन हाल्न लगाई रद्द भएर बास्केटमा रहेका आयोजनाहरू शर्माले बाँडेका थिए । ‘अहिले मन्त्रीको पनि कतै जनार्दन शर्माकै शैलीमा रद्द गराएर बास्केटमा जाने आयोजनाहरू आफूले चाहेको व्यक्तिलाई दिलाउन खोजिएको त होइन ?’ जलविद्युतका एक प्रवर्द्धक इकागजसँग भने ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया