बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

काठमाडौँ महानगर पुगेका फुटपाथ व्यापारीको मागः स्वरोजगार श्रमिकले राष्‍ट्रिय परिचयपत्र पाउनुपर्छ

काठमाडौँ- फुटपाथ व्यापारीले व्यापार गर्न नपाएपछि काठमाडौँ महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन गर्न साना व्यवसायीलाई हटाएकाले फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिकामा नाराबाजी गरेका हुन् ।

मंगलबार उनीहरूले मेयर बालेनलाई भेटेर ज्ञापन पत्र बुझाउन खोजेपनि वास्ता नगरेको भन्दै नाराबाजी गरेका हुन् ।

पछिल्लो समय बानेश्वर आसपास बसेका फुटपाथ व्यापारीलाई महानगरले हटाएपछि उनीहरूले व्यापार गर्न पाएका छैनन् । फुटपाथ व्यापारीहरू महानगरको बानेश्वर, न्युरोड, सुनधारा, कोटेश्वर तथा चावहिलमा आसपासमा व्यापारीहरू बस्ने गर्थे ।

फुटपाथ व्यापारीले हामी बाँच्न पाउने अधिकार सुनिश्चित गर, रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, गाँसबास को ग्यारेन्टी गर, श्रमको सम्मान गर, नगर प्रहरीको अत्याचार बन्द गर, विना विकल्प धोका दिन पाइदैन जस्ता नारा लगाएका छन् ।

फुटपाथ व्यापारीले सडक किनारामा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखीकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने । स्वरोजगार श्रमिकलाई मापदण्ड बनाएर व्यवस्थापन गरिनुपर्ने बिना विकल्प विस्थापित गर्न नपाइने उनीहरूले माग गरेका छन् ।