शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मेयर बालेनलाई धन्यवाद अनि सुझाव पनि

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नक्सा पास नगरी बनाइएका अवैध संरचना भत्काउने अभियान आक्रामक तरिकाले सुरु गरेका छन् । ३५ दिने सूचना दिँदा पनि ठाउँ खाली नगरेपछि आफैँ भत्काउन सुरु गरेको उनको कथन छ ।

राज्य–सरकार नियम–कानुनले चल्छ । नियम नमान्नेले कारबाही भोग्नुपर्छ । अन्याय भने कसैलाई हुनुहुँदैन । यसर्थ मेयर बालेनको कदम ठीक छ । यसमा आमनागरिक, स्थानीय, बटुवा, मिडिया सबैले उनलाई साथ दिनुपर्छ । साथै सरकारले नागरिकलाई अनाहकमा दुःख दिन्छ भने त्यसप्रति सबैले औँला पनि ठड्याउनुपर्छ ।

काठमाडौँ उपत्यका एउटा ऐतिहासिक महत्व बोकेको सुन्दर सांस्कृतिक सहर हो । यो केन्द्रीय राजधानी भएपछि स्वभावैले यहाँको जनसंख्या बढ्दै बढ्दै गयो । योजनाबद्ध बस्ती विकास नहुँदा यो सहर वर्षाैंदेखि कुरुप बनेको छ । 

काठमाडौँका नदीनाला फोहोर बगाउने नाला बनेका छन् । बाटाहरु फोहोर थुपार्ने खुला डस्टबिन बनेका छन् । पोखरीहरू अतिक्रमण गरिएको छ । प्राचीन हिति (ढुंगेधारा)हरू सुकेका छन्, मिचिएका छन् । बाटोहरू साँघुरा भएका छन् । 

उमेरले ५० वर्ष मात्र पारे गरेका काठमाडौँवासी अहिलेको सहर देखेर कहालिन्छन् । उनीहरू अहिलेको पुस्तालाई अनौठो लाग्ने सुन्दरताको बयान गर्छन् । यहाँका पोखरी, नदीमा पौडी खेल्थ्यौँ मात्र हैन, त्यही पानी पिउँथ्यौँ पनि भन्छन् । अझ महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्रले त धोबीखोला भनिने रुद्रमतीबाट पानी लिएर स्लाइन चढाएको समेत भनेका छन् । 

यहाँ काठमाडौँ उपत्यकामा गल्लीगल्लीमा इतिहास छ । प्रशस्त अभिलेखहरू छन् । शिलापत्रहरू छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू छन् । ती जोखिममा परेको हुँदा चेतावनी पनि आएको छ ।

राजधानी भएको हुँदा यहाँ अनेक पेसा–व्यवसाय गर्ने मानिस बस्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीको विकेन्द्रीकरण हुन नसक्दा काठमाडौँ सरह कहालिँदो सरह बनेको छ । उपत्यका उकुसमुकुस छ । खुला ठाउँहरू र हरियाली देख्नै मुस्किल बनेको छ । केटाकेटी/बूढाबूढीहरु रमाउने ठाउँ छैन । डेटिङ स्पटहरु छैनन् । 

पैदल हिँड्ने र साइकल चलाउने वातावरण छैन । फुटपाथ छैनन् । भएकामा पनि व्यवसाय र निर्माण सामग्रीले छोपिएको छ । ढलमा पसेर एक दर्जन जतिको केही वर्षयता त दुःखद् निधनसमेत भइसकेको छ । यसको जिम्मा कसैले लिएको छैन । 

रवाफ देखाउने, शासकका नजिकलाई छोड्ने तर गरिबलाई पहिला पेल्ने काम महानगरले गर्दै नगरोस् । सजाय माथिबाट भएको राम्रो । माथिकालाई पनि सजाय भएपछि तलकाले डराएर भए पनि कानुन मिच्न छोड्छन् । 

पानीको अभाव बढेको छ । आकाशबाट परेको पानी भित्र छिर्ने गरी चौर अब धेरै छैनन् । कंक्रिटले युक्त छ काठमाडौँ । आँगन, बाटोमा ढुंगा छापेदेखि पानी पुनर्भरण हुन सक्थ्यो होला, तर भद्रगोल पिच गरिन्छ । भृकुटीमण्डप, खुलामञ्चमा घाँस उम्रेको हुन्थ्यो, हेर्दाहेर्दै आकाशे पानी जमिनभित्र नछिर्ने बनाइएको छ । इनारबाट पानी आउन छोडेको छ । पानीको सतह धेरै तल पुगेको छ । 

काठमाडौँ उपत्यका प्रकृतिको एउटा वरदान हो । यहाँ न धेरै जाडो र न धेरै गर्मी हुन्छ । यत्रो जनसंख्या अहिलेसम्म जेनतेन थेगेको छ, काठमाडौँले । वरिपरि हरिया डाँडा छन्, तिनले प्राणवायु पठाइरहेका छन् । तर, अहिले ती क्षेत्र मास्दै बिचौलिया पोस्दै अवैध संरचना बनाउन दिइएको छ । चन्द्रागिरि केबलकार–रिसोर्टको सिको गरेर वरिपरि सबैतिर यस्तै संरचना बनाइयो भने के होला ? पानीका मुहान सुक्छन्, खलबलिन्छन् । हावा कम र प्रदूषित हुन्छ । भूक्षय बढ्छ । 

मेयर बालेन्द्र शाहले अवैध संरचना भत्काएको एकदम ठीक छ । तर, यसलाई स्टन्ट मात्र नबनाएर सिस्टममा लैजानुपर्छ । सार्वजनिक जग्गा मिच्नेलाई लाज हुने गरी समाजले पनि मिचाहालाई तह लगाउनुपर्छ । मिचेको सूचना टोलले नै दिनुपर्छ । यो मेयरको मात्र जिम्मेवारीको विषय होइन । 

तर, पुटपाथमा व्यवसाय गर्नेले पनि यहाँ बाँच्न पाउनुपर्छ । उनीहरूका लागि केही शुल्क लिएर निश्चित ठाउँ महानगरपालिकाले तोकिदेओस् । सडक–बजार मासिँदा निम्न मध्यम आय भएकालाई पनि दुःख हुन्छ । सटरभित्र सामान महँगो हुन्छ, सडकमा किन्दा सस्तो पर्छ । यतातिर पनि विचार गरोस्, महानगरपालिकाले । 

र, महानगरपालिकाले संरचना भत्काउने काम ठूलाबडा, धनीमानी, पहुँचवालाबाट गरोस् । ठूला ठूला विजनेस कम्प्लेक्सहरुले जग्गा मिचेका छन् ।  रवाफ देखाउने, शासकका नजिकलाई छोड्ने तर गरिबलाई पहिला पेल्ने काम महानगरले गर्दै नगरोस् । सजाय माथिबाट भएको राम्रो । माथिकालाई पनि सजाय भएपछि तलकाले डराएर भए पनि कानुन मिच्न छोड्छन् । 

समग्रमा भन्दा कानुन कार्यान्वयन गर्ने मेयर बालेनको अभियान सही छ । बरु कोही एक जना अपराधी छुटोस्, तर एक जना पनि निर्दाेष पीडित नहोस् । यतातिर ध्यान पुगोस् ।