कुर्था–जयनगर सेवा : रेल चढ्न पाउँदैनन् स्थानीयवासी
अहिले एउटा रेलमा झण्डै ६५० जनासम्म अटाउँछन्

काठमाडौँ । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए । तर पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा हुन सकेको छैन ।
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्काेले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उनले भने, “अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।”
यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट््याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए । उनले भने, “झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।”
रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए। ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले बताए । “जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।” उनले भने ।
आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पाेरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताए ।
अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ । उनले भने, “त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।”
अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन उनले बताए । “नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।” उनले भने ।
रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताए । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै रु सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा रु १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उनले बताए ।
अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उहाँले बताए।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया