शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

‘काम चलाउ’ भएपछि संसद्को आयु बढाउने अधम खेल बन्द गर

एकातिर चुनावका लागि उम्मेदवारी छनेट प्रक्रिया तीव्र छ, अर्कोतिर गठबन्धन सरकार चाहिँ भकाभक विधेयक प्रस्तुत गर्ने र पारित गर्ने ‘महाभियान’मा लागेको छ । हुँदा हुँदा गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभाको आयुसमेत बढाउँदैछ । यो डरलाग्दो बेथिति हो । यो आफैँले चुनाव घोषणा गरेर आफूहरू ‘चुनावी सरकार’मा परिणत भएको भेउ नपाएको हैन लाज पचाएको हो । 

चुनाव घोषणासँगै सरकार दैनिक प्रशासन चलाउनेमै सीमित हुनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक शासन पद्धतिको आधारभूत मान्यता हो । सरकार सुरक्षा, रक्षा र दैवी विपत्ति परेको खण्डमा त्यस्ता काममै सीमित हुन्छ । निर्वाचनको मिति घोषणासँगै सरकार एक किसिमले ‘कामचलाउ’ परिणत भइसकेको हुन्छ । त्यसो हुँदा उसलाई साधारण अवस्थामा जस्तै नीतिगत निर्णय लिने वा कानुन बनाउने छुट हुँदैन ।

तर, दुई दिनअघि ‘केही नेपाल ऐन संंशोधन गर्न बनेको विधेयक’भित्र घुसाउँदै प्रतिनिधि सभाको आयु बढाउन प्रपञ्च सुरु भएको छ जुन आज नै प्रतिनिधि सभामा प्रस्तुत भएकाे छ । प्रतिनिधि सभा, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा दफा थप्दै ‘कार्यकालको गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिनेछ । नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ ।’ सरकार ‘फ्रास्ट ट्रयाक’बाट यो प्रावधान पारित गर्न खोज्दैछ । 

आउँदो असोज पहिलो साताबाट समानुपातिक उम्मेदवारका निम्ति सूची बुझाउने प्रक्रिया सुरु हुन्छ । त्यो सूचीमा हालकै सांसदहरू पनि उम्मेदवार हुने अवश्यंभावी छ। त्यसरी उम्मेदवारी सूचीमा परेसँगै वा रहेसँगै उनीहरू सांसद्कै पदमा रहिरहन मिल्दैन । संविधान तथा कानुनलाई थाङ्नामा सुताएर आफ्नो आयु बढाउन खोज्नु सरकारको गैरकानुनी काम हो । चुनावी मिति घोषणा भइसकेपछि कामचलाउ चुनावी सरकारले यसरी नीतिगत वा कानुनी निर्णय लिन सक्दैन ।

जब उम्मेदवारी प्रक्रिया सुरु हुन्छ, तब सांसदहरूको आयु स्वतः समाप्त हुन्छ नै । सभामुख र उपसभामुखको हकमा चाहिँ उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिन स्वतः पदमुक्त हुने व्यवस्था छ । संविधानतः सभामुख र उपसभामुख रहँदैन भने सांसदहरुको पद चाहिँ कसरी रहन्छ ?

सांसदका हकमा कुनै उल्लेख नभएको जिकीरसहित ‘रकमी दफा’ राख्न खोज्दैछ । यदि यो प्रावधान लागू भयो भने सांसदहरू पदीय हैसियतमै चुनावी मैदानमा खडा हुनेछन् । जुन ‘समान प्रतिस्पर्धा’का हिसाबबाट हेर्दा पनि नाजायज हो ।

स्थानीय तहकै चुनावका बेला पनि पदबाटै राजीनामा दिँदै उम्मेदवारी दर्ता गराएको नजिर हामीसँग छ । अझ कतिपय स्थानीय सरकारका पदाधिकारीले पाँच वर्ष आयु पूरा गर्न पनि पाएनन् । तर, स्थानीय तहमा पदमै रहेर चुनाव लड्न पाएनन् । सांसदका हकमा कानुनमा कुनै व्यवस्था राखिएन । त्यसरी व्यवस्था नराखेपछि विगतमा अपनाएको प्रक्रिया र नीतिअनुरुप चल्नुपर्नेमा कानुन संशोधनको नौटंकीतिर लाग्ने कर्म आफैँमा अनुचित काम हो ।

कामचलाउ सरकारले यसरी भकाभक कानुन संशोधन गर्ने नीतिप्रति पूर्व गृहसचिव उमेश मैनालीले सार्वजनिक विरोध गरिसकेका छन् । २०६४ मा संविधानसभा चुनाव गराउँदाका बखत गृहसचिव मैनालीले प्रश्न गरेका छन् ‘नेपालमा सरकार किन नपच्ने काम गर्छ ?’ उनकै शब्दमा, ‘नगरी नहुने काम’ र ‘सरकारी सम्पत्तिको सुरक्षा’ गर्दै चुनावपछिको सरकारलाई सहज हस्तान्तरण गर्नेबाहेक उसलाई अरु काम गर्ने छुट हुँदैन ।

संसद्मै विचाराधीन विधेयकमाथि बहस चलाउनु त औचित्यपूर्ण मानिँदैन भने चुनावी सरकारले नयाँ विधेयक प्रस्तुत गर्ने कल्पनासमेत गर्न सकिँदैन । तर सरकार यही समयमा बहुविवादित मिडिया काउन्सिलसम्बन्धी विधेयक पारित गर्न खोज्दैछ जसको चारैतिर आलोचना भइरहेको छ । यदि त्यस्ता विधेयकहरू आवश्यक थियो भने उहिल्यै पारित गर्न पर्थ्याे । चुनावको मुखमा संसद्‌बाट हतारिएर विधेयक पारित गर्दा नियतमा प्रश्न उठ्छ । 

अब जे जति नीतिगत तथा कानुनी कामहरू छन्, चुनावपछिको सरकारकै जिम्मामा छाडिनुपर्छ । ‘कामचलाउ सरकार’को सीमामा बस्नुपर्छ । चुनावी सरकार आलोचना र बेथिति आमन्त्रण गर्नेतिर मोहित भयो भने चुनावमा मतदाताले स्वाद चखाउन सक्छन् । त्यसमा सत्तारुढ गठबन्धन सचेत रहेको राम्रो । अर्कातिर सरकारले मनमौजी तरिकाले संसद् सचिवालयमा दर्ता गराएको विधेयक संसद्‌बाट अस्वीकृत गर्नुपर्छ र अरु विधेयकहरू पनि जहाँको त्यहीँ छाड्नुपर्छ ।

चुनावी सरकार भएका बेला संसदबाट कानुन परिवर्तनसम्बन्धी नजिर बसालियो भने भोलिका दिनमा अनेकन विकृति देखापर्न सक्छन् । त्यसो हुँदा विधेयक पारित गर्ने मामलामा सांसदहरू स्वयं पनि विपक्षमा उभिनुपर्छ । चुनावी मैदानमा सांसदकै रुपमा जाँदा मतदाताबाट पनि चर्काे आलोचना खेप्नुपर्ने हुन्छ, सांसदहरूले यो तथ्य पनि ख्याल गरुन् ।