मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

विधान संशोधनमा सुझाव लिन एनआरएनएद्वारा १२ घन्टे बैठकको आव्हान

लण्डन- गैरआवासीय नेपाली संघले विधान संशोधनका लागि सुझाव संकलन गर्ने भएको छ । 

गैरआवासीय नेपाली संघको विधान संशोधन समितिका संयोजक डा. हेम राज शर्माका अनुसार संघका राष्ट्रिय समन्वय परिषद अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद समेतको सहभागितामा विधान संशोधन सुझाव संकलन गर्न लागिएको हो ।

यसअघि संघले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानमा आवश्यक संशोधन सुझाव पेस गर्न डा. शर्माको नेतृत्वमा विधान समिति गठन गरेको थियो । उक्त समितिले तयार पारेको संशोधन प्रस्तावलाई अक्टोबरमा सम्पन्न हुने संघको साधरण सभामा प्रस्तुत गर्ने तयारी विधान संशोधन समितिले गरेको छ ।

विधान संशोधन प्रस्तावको प्रारम्भिक दस्तावेज सार्वजनिक गर्दै समितिले १२ घन्टासम्म खुल्ला रूपमा जुममार्फत सुझाव संकलन गर्ने तयारी गरेको समितिका सचिव गंगाधार गौतमले जनाकारी दिएका छन् । 

भोलि (सोमबार)का दिन सबै गैरआवासीय नेपाली संघका सदस्यहरूले जुममा उपस्थित भएर विधान संशोधनमा आआफ्ना भनाइहरू राख‍न सक्नेछन् ।