अधिवक्ता परीक्षामा महिला अघिअघि, कार्यस्थलमा पछिपछि

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतमा शाखा अधिकृतको पदमा कार्यरत दीपा न्यौपाने अधिवक्ताको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेमध्ये १० भित्र परेकी थिइन् । गोरखामा हुर्किएकी उनी चार दिदी-बहिनीमध्ये माइली हुन् । छोरा नै चाहिन्छ भन्ने समाजमा उनी उदाहरण बन्न चाहन्थिन् । समाजलाई जवाफ फर्काउन चाहन्थिन् । यसका लागि उनको रोजाइमा कानुन पर्यो । नभन्दै अठोट गरेझैँ उनले कानुनमा स्नातक मात्र गरिनन्, बार काउन्सिलको परीक्षासँगै जिल्ला अदालतमा शाखा अधिकृतमा नाम पनि निकालिन् ।
कानुन पढेर त्यही क्षेत्रमा सेवाको अवसर पाउने दीपा कर्मशील महिलामध्ये एक हुन् । कानुनको पढाइमा अब्बल भएर पनि वकालतमा अवसर नपाउने वा रोजाइमा नपर्ने महिलाको सूची भने निकै लामो छ ।
अधिवक्ताको लाइसेन्सको परीक्षामा महिलाहरू सर्वोत्कृष्ट भए पनि उनीहरूले कामलाई निरन्तरता दिन नसकेको न्यौपानको अनुभव छ । ‘बिहेपछि घर-व्यवहार धान्नुपर्ने र धेरै कुरामा सम्झौता गर्नुपर्ने भएकाले पेसाप्रतिको जोस र उत्सुकता हराउँदै जाने रहेछ,’ उनले सुनाइन्, ‘फिल्डमा पनि प्रायः पुरुष नै धेरै हुन्छन् । बिहेपछि धेरै महिलालाई समाजले सीमारेखा कोरिदिन्छ । अनि कसरी कार्यथलोमा देखिन्छन् त ?’
महिलाले काम गर्ने वातावरण स्वस्थ्य नभएका कारण पनि उनीहरू अगाडि बढ्न नसकेको उनले महसुस गरेकी छिन् । भन्छिन्, ‘सुरक्षित वातावरण नभएका कारण पनि हामीलाई काम गर्न, अगाडि बढ्न समस्या हुन्छ । अगाडि बढ्न राजनीतिक आबद्धता र व्यक्तिगत सम्बन्धका कुरा पनि आउने रहेछ ।’
रोशनी अधिकारी नेपाल ल क्याम्पसमा एलएलबी नवौं सेमेस्टरमा अध्ययनरत छिन् । उनी आठौँ सेमेस्टर टपर हुन् । उनले बीए एलएलबीको प्रवेश परीक्षा पनि टप गरेकी थिइन् । क्याम्पस प्रवेश गरेदेखि नै उनले हरेक सेमेस्टरमा महिलालाई पढाइमा तीक्ष्ण देखेकी छिन् । ‘कलेजमा मात्रै होइन स्कुलमा पनि वादविवाद, वक्तृत्वकला आदिमा महिला नै अगाडि देखिन्छन्,’ उनले भनिन्, ‘तर, महिला भएकै कारण समाजले साँघुरो घेरा कोरिदिएको छ । त्यसलाई तोड्नै चुनौती छ । पुरुषहरू रातिसम्म कार्यथलोमा बसेर काम गर्न सक्छन् । जबकि महिलालाई यसरी अबेर काम गर्न सजिलो छैन ।’
असुरक्षित कार्यथलो महिलाहरूको स्तरोन्नतिको बाधक भएको अधिकारीले बताइन् । नेपाल बार एसोसिएसन कास्कीकी सदस्य कुञ्जिनी परियार ‘प्यासी’ बाल अधिकारको क्षेत्रमा काम गरिरहेकी थिइन् । यो देखेर उनलाई धेरैले कानुन पढ्न सुझाए । सोहीअनुरुप उनले बीए एलएलबी पढिन् । २३ औं अधिवक्ता तहको परीक्षा पनि दिइन् । उनको नाम ११ औं नम्बरमा निस्कियो । उनी मानव अधिकारको विषयमा वकालत गर्छिन् ।
कानुनी कार्यथलोमा महिला सहभागितालाई लिएर उनका पनि थुप्रै अनुभव छन् । कानुनी क्षेत्रमा महिलाहरू भर्खर-भर्खरै प्रवेश गर्न थालेको उनले पाएकी छिन् । जसकारण पुरानै मानिसको बाहुल्य रहेको उनले बताइन् । ‘अरु क्षेत्रमा जस्तै यसमा पनि युवाहरूलाई खासै मौका दिइँदैन,’ उनले भनिन्, ‘सुरुमा त एकदमै गाह्रो हुन्छ । मुद्दा पाउनै मुस्किल हुन्छ । त्यही भएर महिलाहरू वकालतभन्दा सरकारी सेवातिर जान्छन् ।’
महिलालाई ल फर्ममा पनि उत्तिकै गाह्रो हुने उनले बताइन् । ‘इन्टर्न पनि राख्न गाह्रो मान्छन्,’ उनले भनिन्, ‘प्रो-बोनो (निःशुल्क कानुनी सेवा प्रदान)को काम आयो भने मात्रै युवाहरूले अवसर पाउँछन् । कानुनी पेसामा महिला, पुरुष, विवाहित, अविवाहितभन्दा पनि नवआगन्तुकलाई गाह्रो छ ।’
कानुनी पेसामा आबद्ध नभएको परिवार र चिनजानका मान्छे नहुनेहरूलाई गाह्रो हुने उनको ठम्याइ छ । महिलाहरूको हकमा भने चलखेल/दाउपेच गरेर जिताउन सक्दैनन् भनेर उनीहरूलाई मुद्दा नआउने गरेको उनको अनुभव छ । ‘मुद्दा नआएपछि कसरी आफूलाई साबित गर्नु र प्रमाणित नै नभई कसरी मान्छेलाई विश्वास दिलाउनु ? यो दुवै कुरा चाहिँ सँगसँगै जाने रहेछ,’ उनले भनिन् ।
तुलनात्मक रूपमा बिस्तारै महिला सहभागिता बढ्दै गरे पनि काम गर्न गाह्रो हुने उनी बताउँछिन् । ‘ल पढ्ने र लयर बन्ने कुरा चाँहि निकै फरक कुरा रहेछ,’ उनले भनिन् ।
पुरुषको तुलनामा महिला कानुन व्यवसायीलाई ‘नपत्याउने’ भएकाले पनि उनीहरू ओझेलमा परेका हुन् । महिलाहरूले सिधा कानुनी बाटो मात्रै अपनाउने आम सर्वसाधारणको बुझाइ छ । ‘न्यायालय भ्रष्ट छ । भ्रष्टाचार नगरी मुद्दा जितिँदैन । महिलाहरूले चोर बाटो अपनाउन सक्दैनन् भन्ने बुझाइ भएकाले मुद्दा महिलाले नपाउने गरेका छन्,’ उनले भनिन् ।
नतिजामा अब्बल देखिए पनि कामको अवसर नपाएकाले महिला कानुन व्यवसायीहरूले आफ्नो कार्यक्षमता देखाउन पाएका छैनन् । तथ्यांकअनुसार २०७२ को संविधानपछि परिषद्ले लिँदै आएको परीक्षामा आवेदन दिने, उत्तीर्ण हुने र सर्वोत्कृष्ट नतिजा ल्याउनेमा पनि महिला नै अगाडि छन् ।
नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले लिँदै आएको परीक्षाको नतिजामा सर्वोत्कृष्ट १० मध्ये अधिक महिला छन् । यसपटक परिषद्ले ३० औं अधिवक्ता तहको परीक्षा लिँदै छ । भदौ २३ देखि हुन लागेको परीक्षामा परिक्षार्थीको संख्या पनि महिलाकै बढी छ ।
तर, ७७ जिल्ला अदालत, सात उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशलाई हेर्ने हो भने अधिक पुरुष छन् । यसले न्यायमा पुरुषसत्ताको झल्को दिन्छ । न्यायाधीश मात्रै होइन श्रेस्तेदार, तहसिलदारदेखि सूचना अधिकारीसम्ममा पुरुषकै हालिमुहाली देखिन्छ । वकालतमा पनि उस्तै छ ।
खै किन हो समाजले महिलालाई पत्याउँदै पत्याउँदैन
मोना सिंह
सचिव, नेपाल कानुन व्यवसायी परिषद्
पछिल्लो समय कानुन संकायमा महिला संख्या बढिरहेको छ, कारण के होला ?
यसको कुनै तथ्यांक छैन । कुनै सिद्धान्त छैन । तर, सामान्य अनुमान गर्दा के भन्न सकिन्छ भने कानुन सबैले जान्नुपर्ने विषय हो । सैद्धान्तिक र व्यावहारिक हरेक कुरामा कानुनको जानकारी राख्दा आफैँलाई सहज हुन्छ भन्ने धेरैको अनुभव छ । साथसाथै कानुनको विषय भनेको एउटा सुरक्षित विषय भन्ने धारणा छ । न्यायको क्षेत्रमा आफूलाई स्थापित गर्दा सुरक्षित हुने हिसाबमा कानुनमा बढ्दो मोह हो कि भन्ने लाग्छ मलाई । उहाँहरूसँग कुरा गर्दा नै यस्तै-यस्तै कारण बताउँनुहुन्छ ।
प्राविधिक, विज्ञान, व्यवस्थापनतिर नभई न्याय सेवामा २०६३ पछि महिला सहभागिता बढेको छ । अधिकृतदेखि लिएर सहसचिवसम्मको पदमा खुल्लाबाट, आन्तरिक प्रतिस्पर्धाबाट आउने गरेका छन् । यसरी कानुन पढिसकेपछि जागिर सुरक्षित हुन्छ, हामी आफ्नो जीवनमा आर्थिक रूपमा सक्षम हुन्छन् भन्ने खालको सन्देश गयो ।
कानुन अध्ययन अध्यापन गराउने पहिले त त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पस मात्रै थियो । अहिले त नेसनल ल कलेज, चक्रवर्ती ल कलेज आदि ठाउँ थपिएका छन् । अहिले प्लस टुमा पनि कानुन पढाउन थालिएको छ । कानुन विषयप्रति पहुँच बढेको छ ।
पहिले कानुन पढ्न सहज हुँदैनथ्यो । काठमाडौँ नै आउनुपर्ने बाध्यता थियो । अहिले सुर्खेत, पोखरा, विराटनगरमा पनि पढ्न पाइने सुविधा छ । दिदीबहिनीहरू जो इच्छुक हुनुहुन्छ, उहाँहरू फिल्डमा हुनुहुन्छ । बारको परीक्षा त दिनै पर्यो, सँगसँगै लाइसेन्स पनि लिनुहुन्छ । यस्तै, कारणले नै महिला आवेदकको संख्या बढी देखिएको हो कि ?
बारले लिने परीक्षामा पनि छात्रभन्दा छात्रा अगाडि छन्, यसको संकेत के हो ?
काम गर्दा जुन कुनै कुरामा पनि महिलाहरू पुरुषको तुलनामा संवेदनशील हुने गर्छन् । पढ्नुपर्छ । पढेर राम्रो गर्नुपर्छ भन्ने भावना हुन्छ । उहाँहरूकै आन्तरिक पहलले बढी सफल हुनुभएको हो । आफ्नो अध्ययनप्रति उहाँहरू सिरियस हुनुहुन्छ । उहाँहरूको लगनशीलता, गम्भीरता, मेहनत नै हो जस्तो लाग्छ । यसपटक हामी ३० औं अधिवक्ता तहको परीक्षा लिदैँ छौँ, महिला आवेदकहरूको संख्या बढी छ ।
तर पढाइमा अघि भए पनि काममा त पछि नै हुनुहुन्छ ।
नतिजामा अघि-अघि फिल्डमा पछि-पछि कसरी भइरहेको छ ?
अघिसम्म भनेका कुराहरू लाइसेन्स लिँदासम्मका कुरा भए । फिल्डमा जानपर्ने हुन्छ । अनि सुरु हुन्छ, वास्तविक प्रतिस्पर्धा । लाइसेन्स लिएर त उहाँहरू मार्केटमा जानुपर्यो । पक्षले उहाँहरूलाई पत्याउनुपर्यो नि । अर्कातिर व्यवसायमा ‘सिन्डिकेट’ पनि छ । पुरुष कानुन व्यवसायीहरूको ‘सिन्डिकेट’ छ । त्यसलाई महिला कानुन व्यवसायीहरूले आफ्नो सक्षमताले, अध्ययनले चिर्न सक्नुपर्छ । हामीलाई पनि काम आयो भने हामी पक्षलाई न्याय दिलाउन सक्छौं दृढ विश्वास पनि हुुनुपर्छ । मुद्दा नै नभई सक्षम छौं भनेर साबित गराउन सक्ने कुरा नै गाह्रो छ ।
केस नै नभई हामी कोर्टमा कसरी उपस्थित हुने ? उपस्थित नभएपछि कसरी हामीले आफ्नो सक्षमता देखाउने ? यसलाई ‘चेन इफेक्ट’ भनिन्छ । परिवर्तन हुन समय लाग्छ तर हरेस खानु हुँदैन । हामी आफ्नो आन्तरिक प्रतिबद्धतालाई स्मरण गर्दै निरन्तर डटिराख्नुपर्छ । दुई-चार वर्ष काम गर्यो, त्यसपछि भएन अर्कै फिल्डमा जान्छु भनेर हुँदैन । धैर्य हुनुपर्यो ।
अध्ययन गरेर सर्टिफिकेट लिएर मात्र हुँदैन । हामी फिल्डमा छैनौँ । सिस्टमभित्र छौं । बाहिर वकालत गर्नुहुने, ल फर्ममा काम गर्नेलाई अप्ठ्यारै छ । सम्बन्धित निकायबाट सहयोग हुनुपर्यो । सहयोग त छ । कानुन पनि छन् तर किन किन के ? मान्छेको, समाजको मानसिकता नै महिलाहरूले सक्दैनन् भन्ने छ । त्यो त बिस्तारै परिवर्तन हुने न हो । एकैपटक आमूल परिवर्तन हुँदैन । कसैले बोलेर, भाषण गर्दैमा पनि त्यो हुने होइन । दुई-चारजना हुनुहुन्छ, सपना प्रधान मल्ल हुनुहुन्छ, मिरा ढुङ्गाना हुनुहुन्छ । उहाँहरूको त्यो लेभलसम्म पुग्न गाह्रो छ । मान्छेले पत्याउँदैनन् । अब खै किन हो ? हाम्रो समाजको त्यो संरचना नै हो कि ?
यसलाई त हाम्रो कुनै कानुन, कुनै बोलेका कुराहरूले तोड्न गाह्रो छ । महिलाहरू दोहोरो भूमिकामा हुनुहुन्छ । घर-व्यवहार पनि सम्हाल्नपर्यो, बल्ल ल फर्म जानुहुन्छ । पुरुषहरूको के छ भने बिहानै पनि ल फर्म जान सक्नुहुन्छ, नजीर अध्ययन गर्न पनि धेरै समय हुने गर्छ । कानुनमा उल्लेख भएका बराबरीका कुरा व्यवहारमा छैनन् । पुरुषले पनि महिलाले धानिदिएको घर-व्यवहार धान्ने हो भने, ल फर्ममा त्यही अनुसार जाने हो भने अनि बल्ल बराबरीको कुरा आउँछ ।
एउटा महिला कानुन व्यवसायी भएको घरमा काम बाँडफाँट हुने र बिहान छिटै, बेलुका अबेरसम्म काम गर्ने वातावरण भयो भने अवश्य नै महिला अगाडि आउँछन् । पुरुषभन्दा अब्बल साबित हुन्छन् । बाधा अड्चन धेरै छन् । हाम्रो व्यावहारिक बाधा छन् । जति ठूलो कुरा गरे पनि आखिर हामीले घर-परिवार बालबच्चाको जिम्मेवारी निभाउनुपर्ने संरचना छ । हाम्रै काँधमा आउँछ पनि । मैले अनुभव गरेको कुरा पनि यही हो ।
के भयो भने नतिजासँगसँगै कार्यथलोमा पनि महिला अब्बल होलान् त ?
हामी स्वयं मानसिक रूपमा बलियो भएर अगाडि बढ्नुपर्छ । कानुनी अड्चन छैन् । व्यावहारिक कुरालाई मिलाउँदै अगाडि बढ्यो भने मेरो विचारमा नतिजासँगै कार्यथलोमा पनि अब्बल स्थान हासिल गर्न सकिन्छ । जसरी म पढाइमा अब्बल थिएँ, नतिजामा अब्बल थिएँ, त्यसरी नै फिल्डमा अगाडि बढ्छु भन्नुपर्छ । कुनै किसिमको बाधा अड्चनलाई मान्दिनँ भन्ने दृढ अठोट र संकल्पसाथ अगाडि बढ्नुपर्छ । यी कुरा आफ्नै व्यक्तिगत पहलमा मात्रै हुने हो ।
२०७२ सालदेखि २०७८ सालसम्मको कानुन व्यवसायी अधिवक्ता तहको परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने महिला कानुन व्यवसायीहरूको नामावली र फाराम भर्ने महिला संख्या :
वर्ष |
परीक्षा नं. |
नाम थर |
स्थान |
फाराम भर्ने महिला संख्या |
२०७२ |
२१ |
स्वेच्छा संग्रौला रोशनी गिरी लजुला महर्जन रोशना प्रधान निलिमा सिंह करुणा पराजुली सुलना श्रेष्ठ |
प्रथम द्वितीय तृतीय पाँचौ छैठौ सातौं आठौ दशौं |
२९२ |
२०७३ |
२२ |
शुभम मल्ल दीपिका थापा मगर ओमकुमारी कंडेल सबना पौडेल निश्चला अर्जेल |
प्रथम पाँचौ छैठौ सातौ दशौ दशौं |
१६७ |
२०७४ |
२३ |
प्रभा त्रिपाठी भावना बानिया आकृती खनाल अमृता बोगटी बिना गौतम |
प्रथम द्वितीय पाँचौ सातौं आठौं नवौं |
३०७ |
२०७४ |
२४ |
कृपा श्रेष्ठ प्रतिमा ज्ञवाली रीमा कार्की सुस्मा गिरी दिक्षा कँडेल समता शर्मा गेलाल दीपा न्यौपाने किर्तिका कट्टेल |
प्रथम तृतीय चौथो पाँचौ छैठौ सातौ आठौ नवौ दशौं |
४४४ |
२०७५ |
२५ |
कृष्मा गिरी विनिता भारती प्रतिभा खनाल नम्रता गैरे
|
तृतीय पाँचौ आठौ नवौं |
३४७ |
२०७६ |
२६ |
दीपिका गजुरेल हसिना लामिछाने परिक्षा ढकाल प्रकृति मल्ल महिमा तिमिल्सेना स्वेता भट्टराई लज्जु श्रेष्ठ श्रीजला प्रजापति |
प्रथम द्वितीय तृतीय चौथो पाँचौ छैठौ नवौं दशौं |
६६० |
२०७६ |
२७ |
ममता शिवाकोटी संयोजीता आचार्य ममता पौडेल दिक्षा राउत श्रेया जोशी |
प्रथम तृतीय चौथो पाँचौ आठौं |
४२३ |
२०७८ |
२८ |
ओजस्वी भट्टराई प्रणीता उपाध्याय अधिकारी सिम्रन नापीत आर्या पौडेल दिप्ती सापकोटा गंगा माया लम्सा इन्दु पाण्डे मेधा नेपाल सोनी सिलवाल प्रन्जिला धिताल प्रतिभा खत्री सञ्जु दाहाल शोभा भुजेल ममता श्रेष्ठ अक्षि सुवेदी विनिता के.सी. ईशा उप्रेती मनुस्मृती बराल सुस्मिता भट्टराई |
प्रथम द्वितीय तृतीय चौथो पाँचौ छैठौ सातौ सातौ सातौ आठौ आठौ आठौ आठौ नवौ दशौं दशौं दशौं दशौं दशौं |
७४६ |
२०७८ |
२९ |
क्रान्ती भट्टराई मुना कार्की रिया भट्टराई रेजिना गरु विष्णु कुमारी तामाङ प्रकृती कोइराला |
प्रथम द्वितीय तृतीय चौथौ छैटौं आठौं नवौं |
८६१ |

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच के-के भयो छलफल ?

सुख्खायाममा भारतलाई सित्तैमा पानी उपलब्ध गराउने एडीबीको खेल

कसले गर्याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)

गर्भवती–सुत्केरीको मन बिमार हुन सक्छ भन्ने कहिले सोच्छौँ ?

र्यापर मेयरको रफ राजनीति

सेनाले दुई चिनियाँ ठेकेदारलाई ५७ करोड २४ लाख रुपैयाँको उन्मुक्ति दियो

महँगो चुनाव, एक मत बराबर ५ हजार रुपैयाँ खर्च

प्रतिक्रिया