कर्णाली र गोदावरीमा आन्तरिक पर्यटकको भिड

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–३स्थित चिसापानीमा रहेको कर्णाली पुलमा आन्तरिक पर्यटकको भिडभाड बढेको छ । पर्यटकले कर्णाली पुल र चिसापानी बजार भरिभराउ हुने गरेको छ । नयाँ वर्षको दिन मात्रै १५ हजारभन्दा बढी आन्तरिक पर्यटकले कर्णाली पुलको अवलोकन गरेको वडाध्यक्ष भक्त चलाउनेले जानकारी दिए ।
‘चिसापानीभन्दा थोरैमाथि रहेको पितमारीमा पिकनिक खानेको पनि भिडभाड रहेको थियो,’ उनले भने, ‘नेपालगञ्ज, सुर्खेत, बुटवल, भैरहवासम्मका आन्तरिक पर्यटक अवलोकनका लागि चिसापानी पुगेका थिए ।’ उनकाअनुसार नयाँ वर्षको दिन मात्रै नभएर कर्णाली पुलमा अहिले दैनिक नै आन्तरिक पर्यटकको भिड हुने गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख तथा प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीका अनुसार सो क्षेत्रमा सबैभन्दा बढी टिकटक बनाउनेका भिड हुने गरेको छ । उनले भने, ‘सार्वजनिक बिदाको दिन हजारौको संख्यामा युवाहरू टिकटक बनाउन कर्णाली पुलमा पुग्ने गरेका छन् ।’ पर्यटकको भिडभाड भएपछि चिसापानीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । कर्णाली पुलमा कैलाली होटल व्यवसायी संघले ७८ वटा नेपाली झण्डसमेत राखेको छ ।
गोदावरीमा पनि उस्तै भिड
कैलालीको गोदावरी नगरपालिकामा दशकौँ अगाडि निर्माण भएको जीर्ण काठे पुलमा पनि आन्तरिक पर्यटकको भिड हुने गरेको छ । नयाँ बर्षको दिन गोदावरीको पुल र वरपरको क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ थियो । उक्त पुल अवलोकन गर्न दैनिक सयौको संख्यामा आन्तरिक पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् ।
पुलमा गोदावरीका स्थानीय युवाले राष्ट्रिय झण्डाले सजाएपछि झनै आकर्षण बढेको छ । आँठ वर्ष यता उक्त पुलमा यातायातका साधन आवागमनमा रोक लगाइएपछि अहिले उक्त पुल पनि आन्तरिक पर्यटकका लागि टिकटक ‘स्पट’ बनेको छ । गोदावरीको जीर्ण पुलमा टिकटक बनाएपछि भाइरल भइन्छ भन्ने विश्वास टिकटक प्रयोगकर्तामा देखिन्छ ।
गोदावरीबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाको यात्रा सुरु हुन्छ । सो क्षेत्रमा काठे पुलसंगै मठमन्दिर र नेपालकै अग्लो हनुमानको मूर्ति पनि छ । गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले गोदावरी क्षेत्रलाई व्यवस्थित बनाउँदै धार्मिक पर्यटकको गन्तव्य बनाउने योजना रहेको बताए ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया