किताब जात्राको पाँचौं संस्करण : गौतमलाई प्रेम साहित्य सम्मान, 'सत्यमोहन' किताबलाई अवार्ड

काठमाडौं - किताब जात्रा– २०७९ नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सुरु भएको छ । किताब यात्रा फाउन्डेसनले हरेक वर्ष गर्ने आयोजना गर्ने जात्राको पाचौं संस्करण शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
जात्राको अवसरमा उनले साहित्यकार ध्रुवचन्द्र गौतमलाई 'प्रेम साहित्य सम्मान' र 'सत्यमोहन' किताबका लागि गिरीश गिरीलाई ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिन् । १ लाख ११ हजार १११ रुपैयाँ राशि रहेको ‘प्रेम साहित्य सम्मान’ नेपाली वाङ्मयमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई हरेक वर्ष प्रदान गरिने जात्राका निर्देशक ऋषिराम अधिकारीले बताए । गतवर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो । सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन् ।
अधिकारीका अनुसार अनलाइन बुक स्टोर किताब यात्रा डटकमबाट वर्षभरिमा सबैभन्दा बिक्री हुने किताबलाई 'बेस्ट सेलर अवार्ड' प्रदान गरिन्छ । गत वर्ष जीवा लामिछानेलिखित 'देशदेशावर'ले अवार्ड प्राप्त गरेको थियो । त्यसअघिका वर्षमा अमर न्यौपानेलिखित उपन्यास 'गुलाबी उमेर' र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए ।
जात्रामा वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रबारे विमर्श हुने गरेको छ । त्यसै सन्दर्भमा शुक्रबार सात वटा विमर्शका सत्रहरू सञ्चालन भएको महोत्सव संयोजक सुवास अर्यालले बताए । पहिलो सत्रमा उद्यमी शिक्षित भट्ट र कवि विप्लव प्रतीकबीच 'चिन्तन–मनन' शीर्षकमा संवाद भयो भने टेलिभिजन बहसकर्ता टीकाराम यात्री र राजेन्द्र बानियाँले प्रश्न–प्रतिप्रश्न शीर्षकमा रहेर बहस–विमर्शको पृष्ठकथा सुनाए । 'डिजिटल नेपालः दृश्य–परिदृश्य' शीर्षकमा बैंकर अनिल उपाध्याय र किरणकुमार श्रेष्ठका साथमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विमर्श गरे । जसको सहजीकरण एपीवान टेलिभिजनकी सह–सम्पादक सञ्चारकर्मी समा थापाले गरेकी थिइन् ।
'चलचित्र चरित्र' शीर्षकमा अभिनेत्रीत्रय भुवन चन्द, गौरी मल्ल र मिथिला शर्माले आफ्नो चलचित्र जीवनबारे रङ्गकर्मी सरस्वती अधिकारीका साथ छलफल गरे । लेखक बसन्त बस्नेत, छुदेन काविमो र सरस्वती प्रतीक्षाले ‘मौलिक स्वर’ शीर्षकमा सञ्चारकर्मी भूपेन्द्र खड्काका साथ बहस गरे ।
जात्रामा सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’, सञ्जय बिष्टको आख्यान ‘माटाको घर’ र मनप्रसाद सुब्बाको समालोचना–किताब ‘काव्यास्था’ विमोचन भएको किताब यात्रा डटकमका सिइओ विकेश भट्टराईले बताए । उनका अनुसार साँझ ५ बजे दृश्य सादृश्य समूहको नाट्यप्रस्तुति ‘अक्षरारम्भ’ प्रदर्शन हुनेछ भने त्यसपछि प्रख्यात भारतीय कलाकार पीयूष मित्राको विशेष प्रस्तुति रहनेछ ।
जात्रा भोलि शनिबारसम्म जारी रहने फेस्टिभल क्रियटिभ डाइरेक्टर कला अनुरागीले जानकारी दिए । उनका अनुसार शनिबार ‘अनुवाद मनोभाव’ शीर्षकमा अनुवादकहरू मोहन मैनाली, स्वरूप आचार्य र सगुना शाहले सुरेश बडालका साथ बहस गर्नेछन् । त्यस्तै ‘आख्यान–ख्याख्यान’ शीर्षकमा दीपक सापकोटाले आख्यानकार नारायण ढकाल, नयनराज पाण्डे र प्रगति राईसँग विमर्श गर्नेछन् ।
साहित्यकार उमा सुवेदी, प्रभा बराल र बिना थिङका साथमा मनिषा गौचनको बहस ‘बिम्ब–प्रतिबिम्ब’ शीर्षकमा हुनेछ । शनिबार ‘कञ्चनजङ्घा जुहार’ पुस्तक सार्वजनिक हुनुका साथै विशेष काव्य प्रस्तुति पनि रहनेछ । ‘काव्य सन्ध्या’ नाम दिइएको सत्रमा कवि डा. नवराज लम्साल, धीरेन्द्र प्रेमर्षी, शकुन्तला जोशी, बाबु त्रिपाठी र सुदेश सत्यालले कविता प्रस्तुत गर्नेछन् ।
जात्रा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अनेकन भाषा र वाङ्मय भएको हाम्रो देशको कला साहित्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन जात्राले निकै महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
‘समाज परिवर्तनका लागि ज्ञान अनिवार्य छ । र, ज्ञानका लागि अध्ययन र पठन अपरिहार्य छ’, उद्घाटन मन्तव्यमा उनले भनिन्, ‘यस सन्दर्भमा किताबलाई अध्ययन र जात्रालाई संस्कृतिको बिम्बको रूपमा व्याख्या गर्दै किताब जात्राले राखेको अध्ययन जीवनसँग एकाकार हुने अनिवार्य सांस्कृतिक कर्म बन्नुपर्छ भन्ने उद्देश्य महत्वपूर्ण छ।’
अध्ययनले सत्य खोज र तथ्य पहिचानको क्षमता निर्माण गर्ने बताउँदै उनले त्यसैको जगमा समाज समृद्ध हुने उल्लेख गरिन् । उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउने उद्देश्यले किताब यात्राले चलाएका समुदायमा पुस्तकालय, जेलमा पुस्तकालय, प्रविधिमैत्री इ–पुस्तकालय, सार्वजनिक स्थलमा सार्वजनिक पुस्तकालय जस्ता सामाजिक अभियानको प्रशंसा गरिन् ।

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

‘सन अफ सरदारः २’ को हिस्सा बन्न नपाएको सञ्जय दत्त दुखी

अभिनेत्री कोइरालालाई बेलायतमा सम्मान

वारः२ का निर्माताले ऋतिक रोशन र जुनिएर एनटिआरलाई दिए सरप्राइज

अवतारः ३ को पोस्टर सार्वजनिक, यसै वर्ष क्रिसमसमा हेर्न पाइने

प्रतिक्रिया