भाषिक ज्ञानको अभाव र प्रलोभनमा रुस नजान नेपाली विद्यार्थीलाई अपिल

काठमाडौँ - रुसी महासंघको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ ।
दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्न सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ ।
रुसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या पछिल्लो केही महिनादेखि बढिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।
नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रमार्फत विद्यार्थी प्रवेशाज्ञामा रुस जाने नेपालीले ‘रसियामा आकर्षक रोजगारीको अवसर रहेको, ‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायत विभिन्न प्रलोभनमा परी मोटो रकम बुझाएर रसिया पुग्ने गरेका छन् । तर परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण रुसमा कष्टकर दैनिकी भोगिरहेका नेपालीले हाल नेपाल फर्किन सहजीकरण गर्नका लागि अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्दै आएका छन् ।
तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घरपरिवारबाट समेत अनुरोध भई आएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । रुसी महासंंघका राम्रा विश्वविद्यालयमा छात्रवृत्तिमा एवं नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई यथेष्ट अवसर रहेका छन् । तर भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने विद्यार्थी अनेकन समस्यामा पर्ने गरेको दूतावासले जनाएको छ ।
दूतावासले विद्यार्थी प्रवेशाज्ञामा रुसी महासंघ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नु हुन सबै नेपाली विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ । उक्त विषयमा थप जानकारीका लागि दूतावासका सुशील घिमिरे (द्वितीय सचिव) +74992419313, +79680702815 र राजकुमार बस्नेत (सहचारी)+74992419512, +79684602225 लाई सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

प्रतिक्रिया