शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

भारतको थाङ्नामा लम्पसार ओली सरकार‍

भारतको विद्युत् मन्त्रालयले उसको ‘इनर्जी एक्सचेञ्ज मार्केट’ बाट नेपालले चाहेको बिजुली खरिद गरी लैजान दिने निर्णय बुधबार गर्‍यो । नेपालले ठूलै उपलब्धि हासिल गरेको भन्दै विद्युत् प्राधिकरणले हल्लीखल्ली मच्चायो । तर त्यो निर्णय नेपाललाई थाङ्नामा सुताउने खालको थियो भन्‍नेचाहिँ प्राधिकरणले बुझेन । कारण, भारतले एकतर्फी अनुमति मात्र दिएको छ ।

उसको नियत सफा थियो भने नेपालले किन्‍नेमात्र होइन, बेच्‍न पनि पाउनुपर्थ्यो । जबकि माथिल्लो तामाकोसी (४५६ मेगावाट) र उपल्लो भोटेकोसी (४५ मेगावाट) को बिजुली बेच्‍न प्राधिकरणले सँगै प्रस्ताव गरेको थियो । यसले के देखाउँछ भने भारत नेपालको बिजुली लिन भित्रैदेखि इच्छुक छैन ।

खुला प्रतिस्पर्धामा बजारले निर्धारण गरेको भाउमा बिजुली किनबेच गर्दा त्यो राजनीतिक र रणनीतिक हुँदैन । तर भारतले नेपालको बिजुलीलाई जहिले पनि ‘रणनीतिक वस्तु’ को रुपमा लिंदै आएको छ । यो कुरो नेपालका शासक, कर्मचारीतन्त्र र प्राधिकरणका हाकिमहरुले नबुझेका होइनन् । बुझेर पनि त्यसअनुसार अपनाउनुपर्ने कूटनीतिक, राजनीतिक सबै संयन्त्र उपयोग गर्न सकेनन् वा भनौं हाम्रो देशको प्रधानमन्त्रीले भारतलाई बिजुली निकासीको मार्ग प्रशस्त गर्ने गराउने क्षमता प्रदर्शन गर्न सकेनन् । किनभने प्रधानमन्त्री स्तरमा नसल्टाईकन नेपालको बिजुली निर्यातको सम्भावना अति न्यून छ ।

नेपालले सन् २०१६ देखि भारतसँग औपचारिक रुपमै बिजुली खरिद सम्झौता (पीपीए) गर्दै गर्जो टार्दै आएको छ । यो आर्थिक वर्षको असारसम्म माथिल्लो तामाकोसी आएपछि बर्खायाममा करिब साढे पाँच सय मेगावाट बिजुली जगेडा हुने देखिएको छ । तर हिउँदयाममा आइपुग्दा भारतबाट झन्डै ८ सय मेगावाट आयात गर्नैपर्ने प्राविधिक बाध्यता छ । 

यो बाध्यता हटाउने उपाय नेपालसँग नभएको होइन, थियो र छ । तर यो सरकार भारतप्रति निर्भर हुनुमा रमाउँदै आएको छ । सरकारलाई थाहा छ, बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) बनाइदियो भने भारतबाट आयात गर्नुपर्दैन । तर प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्टमार्फत् बूढीगण्डकी चिनियाँ कम्पनीलाई सुम्पिदिए । तर, उसले कुनै काम अघि बढाएको छैन ।

बूढीगण्डकीका हकमा कहाँसम्म बेइमानी भएको छ भने यही बूढीगण्डकीको नाममा ‘पूर्वाधार विकास कर’ असुल्न छाडेका छैनन् । पेट्रोलियमा पूर्वाधार विकासका नाममा उठाइएको कर ५० अर्ब रुपैयाँ नाघिसक्यो । पेट्रोलियमलाई महँगो पारिएको छ । तर बूढीगण्डकी वा अन्य ठूला र जलाशययुक्त आयोजना बनाउने सरकारको सोचसम्म देखिन्‍न । भारतबाट बिजुली आयात गर्नुमै सरकार दंग छन् ।

प्रधानमन्त्री र उनका मन्त्रीहरुको नियत नै नेपालाई माथि उठ्न नदिने खालको छ भने भारतले हेप्यो, हाम्रो प्रस्ताव स्वीकार गरेन, महँगोमा बिजुली भिडाउन लाग्यो भनेर रोइलो गर्नु नै बेकार छ ।

भारतले नेपाललाई एक्सचेञ्जबाट बिजुली लिन पाउने अनुमति त्यस्तो अवस्थामा आएर दिएको छ, आगामी जूनमा नेपाल भारत पीपीएको अवधि सकिँदैछ । अब भारतले उसको एक्सचेञ्जबाट नेपालले बिजुली लिन सक्छ÷पाउँछ भनी पीपीए नवीकरण गरिदिएन भने झन्डै प्रतियुनिट १२ रुपैयाँ पर्ने बिजुली आयात गर्न नेपाल बाध्य हुनेछ । त्यही ट्रयापमा नेपाललाई पार्ने उसको रणनीति देखिन्छ ।

जबकि पीपीए अनुसार नेपालले प्रतियुनिट ६ रुपैयाँ ६८ पैसामा ७८० मेगावाटसम्म बिजुली आयात गरिरहेछ । झन्डै दोब्बर महसुल असुल्न पाइन्छ भने भारतले सहजै पीपीए नवीकरण किन गर्थ्यो भन्‍ने प्रश्न पनि स्वाभाविक रुपमा उठ्छ । भारतको नियत ठीक थियो भने भारतीय बजारमा बेच्‍न पाउने नेपालको प्रस्ताव पनि स्वीकृत हुन्थ्यो ।

एकातिर बर्खायाममा बिजुली जगेडा, अर्कोतिर हिउँदमा नपुग्‍ने र आयात गर्नुपर्ने बाध्यता । यो बाध्यता एकाएक आएको होइन । दस वर्षअघि नै थाहा थियो । तर नेपालका कुनै पनि राजनीतिक दल वा सरकारहरुले यस राष्ट्रिय मुद्दामा कहिल्यै गम्भीर बनेनन् मात्र होइन, छलफल समेत गरेनन् । मुलुक र जनताप्रति सरकारहरुले गरेको यो सरासर बेइमानी हो ।

जलाशययुक्त आयोजना नबनाउनु, बन्‍न नदिनु, अध्ययन भएका कमिसन लालचमा विदेशीलाई बेचबिखन गर्नु, भारतप्रति सदा निर्भर गराइरहनु नै हाम्रा नेता र सरकारले गरेको गद्दारी हुन् । झन्डै दुई तिहाईको केपी शर्मा ओली सरकारले चाहेको भए बूढीगण्डकी यतिखेर निर्माणमा गइसक्थ्यो । आगामी दुई, चार वर्षभित्रै सम्पन्‍न हुने थियो । र, हामी बिजुली मात्रै वर्षको २५ अर्ब रुपैयाँको खरिद गर्छौँ । 

अर्कोतिर, जगेडा बिजुली स्वदेशमै खपत गराउने सोचसम्म यो सरकारको छैन, देखिएन । बीरगञ्जदेखि काठमाडौंसम्म सामान ढुवानी गर्ने विद्युतीय रेल बनाइदिएको भए बिजुली खपतको समस्या हुँदैनथ्यो । जम्मा २० अर्ब रुपैयाँको पूर्वाधारले वर्षको खर्बौँ रुपैयाँको ढुवानी भाडा बच्थ्यो । 

तर सरकारले उल्टो काम गर्दै आयो । विद्युतीय बसमा कर लगाइदियो, विद्युतीय चुल्होमा भन्सार बढाइदियो, स्वदेशमा निर्माण हुने टर्बाइनमा कर बढाइदियो र चकलेटमा कर घटाइदियो । यी सबै कृत्य जहिले पनि चाँदी कटाइमा परेका असफल अर्थमन्त्री डा. युवराज खतिवडाले गरे, जसलाई ओलीले पुरष्कृत गर्दै अमेरिकाको राजदूतसमेत नियुक्त गरे । यसरी प्रधानमन्त्री र उनका मन्त्रीहरुको नियत नै नेपालाई माथि उठ्न नदिने खालको छ भने भारतले हेप्यो, हाम्रो प्रस्ताव स्वीकार गरेन, महँगोमा बिजुली भिडाउन लाग्यो भनेर रोइलो गर्नु नै बेकार छ ।