शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

शेयर बजारमा उछाल

अमेरिकी र जर्मन कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको खबरसँगै मंगलबार छिमेकी भारतसहित विश्वका धेरैजसो देशहरूको शेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखापरेको छ । वर्ष दिनदेखि कोरोना भाइरस महामारीको असरले विश्व अर्थतन्त्रलाई नराम्ररी गाँजिरहेको छ ।

बढ्दो जोखिमले लगानीका अवसर साँघुरो बनाइदिएको छ । उपभोगमा कमी र उत्पादन कटौतीको क्रमले विश्वभर बढ्दो बेरोजगारी भीमकाय समस्याका रूपमा उभिएको छ । आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । यस्तो अवस्थामा अचानक सकारात्मक सन्देश प्रवाहित हुँदा शेयर बजारमा त्यसको प्रभाव देखिनु स्वाभाविक हो ।

गत साउनयता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा ‘बुलिस ट्रेन्ड’ देखिँदै आएको छ । दैनिक कारोबार पनि क्रमशः बढ्दै चार अर्ब रुपैयाँ नाघेको छ । मंगलबार नेप्से परिसूचक १.५७ प्रतिशत अर्थात् २५.९८ अंकले बढेर १,६७८.७९ अंकमा पुगेको छ । लकडाउनपछि शेयर कारोबार सुरु भएयता बजार बढ्ने क्रममा छ । लगातारको वृध्दिपछि छोटो अवधिका लागि ‘करेक्सन’ हुने र त्यसपछि पुनः वृध्दि हुने क्रम देखिएकाले शेयर बजारमा तेस्रो चरणको उछाल आउन लागेको संकेत गर्छ । बजार बढ्दै गएपछि उच्चतम बिन्दुमा पुगेर पुनः ओरालो लाग्ने भएकाले बजार बढ्ने क्रममा पस्ने लगानीकर्ता सचेत भएर लगानी गर्नुपर्छ ।

बजार बढ्दो क्रममा रहेकाले लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय विवरण यसको प्रतिफल समेतलाई मध्यनजर गरीकन संयमित ढंगले लगानी गर्नु उचित हुन्छ ।

नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च विन्दु १८८१.४५ विन्दुमा पुगेपछि झन्डै तीन वर्ष ‘वियरिस ट्रेन्ड’मा अघि बढ्यो । बजार वियरिस ट्रेन्डमा जाने क्रम सुरु भएपछि पुनः ‘बुलिस ट्रेन्ड’मा आउन प्रायः तीन वर्ष लाग्ने गरेको नेपालको शेयर बजारको अनुभव छ । बजार पुँजीकरण कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार बराबर पुग्नै लाग्दा ‘बुलिस ट्रेन्ड’ उच्चतम बिन्दुमा पुगेको देखिन्छ ।

बजार ‘स्याचुरेसन’मा पुगेपछि धेरै समय स्थिर रहन सक्दैन । किनकि बजार ‘स्याचुरेसन’मा पुगेको अनुभूति भएपछि टाठाबाठा लगानीकर्ता आफ्नो शेयर बेचेर कमाएर निस्कन खोज्छन् । त्यसले बजार केही घट्न थाल्छ । धेरैजसो साना-मझौला लगानीकर्ता यही समयमा आत्तिएर शेयर बेच्न थाल्छन् । जसले बजारमा बिक्रीको चाप बढ्छ र बजार घट्न थाल्छ ।

यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा ‘बुलिस ट्रेन्ड’को उच्चतम बिन्दुमा पुगेको देखिन्छ । २०५२ मा उच्चतम बिन्दुमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो । २०७३ को साउनमा शेयर बजार स्याचुरेसनमा पुगेपछि सुरु भएको वियरिस ट्रेन्ड समाप्त हुन पनि झन्डै तीन वर्ष नै लाग्यो । त्यसअघि, २०७२ भदौको पहिलो साता १२ सय अंकको आसपासमा आएर ‘बुलिस ट्रेन्ड’को उच्चतम बिन्दुमा रहेको नेप्से परिसूचक राष्ट्र बैंकले तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयसँगै पुनः बुलिस ट्रेन्ड पक्रिएको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृध्दि गरेपछि शेयर बजारमा लगानी बढ्ने क्रम सुरु भयो र २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च १८८१.४५ अंकमा पुगेको थियो । बजार घट्ने क्रममा पनि न्यूनतम बिन्दु ११ सय अंकको आसपासमा रह्यो । त्यसअघि २०७२ मा १२ सय अंकमा पुगेपछि बजार स्याचुरेट हुने ठानिएकामा पुँजी वृद्धिले एकै वर्षको अन्तरालमा शेयर बजारमा निकै दुर्लभ मानिने ‘कपल बुल’को अवस्था सिर्जना गर्‍यो ।

शेयर बजारमा देखिएको तेस्रो चरणको उछाल ‘थर्ड वेभ’ देखिएको छ । कोभिड-१९ का कारण लगानीका अन्य क्षेत्र खुम्चिएको र मौद्रिक नीतिले शेयर धितो कर्जा केही खुकुलो बनाएपछि शेयर बजार क्रमशः बढ्दो क्रममा छ । बजार बढ्दो क्रममा रहेकाले लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीको वित्तीय विवरण यसको प्रतिफल समेतलाई मध्यनजर गरीकन संयमित ढंगले लगानी गर्नु उचित हुन्छ ।