आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

एक्लाएक्लै हिँड्दा सफलता हात परेन अब बाबुरामसँगको सहकार्य धेरै लामो हुन्छ : प्रचण्ड

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् ।

अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए । आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब मुलुकका फेरि समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको पनि स्पष्ट पारे ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे ।

अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहोर्‍याए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरूले नयाँ समाजवादी मोडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकिर गरे ।