शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेपाल–भारत असफल जलस्रोत वार्ता

महाकाली सन्धि तत्कालीन संसदको दुई तिहाई बहुमतले पारित भएको आज २६ वर्ष पूरा भयो, तर नेपालले सन्धिमै उल्लिखित पानी पाउन पनि २६ वर्ष लाग्यो । यद्यपि, नेपालतर्फ महाकाली तेस्रो सिंचाइ आयोजनाको मूल नहर आधा मात्र खनिएको र शाखा नहरहरु खन्न बाँकी नै रहेकाले महाकाली उक्त पानी पूर्ण रुपमा उपयोगमा आएको छैन । उता महाकालीपारिका दोधारा र चाँदनीलाई सन्धिको धारा ४ मै किटान भएको १० घनमिटर प्रतिसेकेण्ड पानी सन्धि भएको २७ वर्ष बितिसक्दा पनि पाएको छैन ।

२०७७ पुस १३ गते नेपाल र भारतका जलस्रोत सचिवबीच भएको सहमतिअनुसार सन्धिमा उल्लिखित पानी उपलब्ध गराउन दुई महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम टुंगो लगाउने सहमति भयो । अचम्म त के छ भने विवादास्पद महाकाली सन्धिमै उल्लेख भएर पनि दोधारा र चाँदनीले पानी पाएन र पानी दिन्छु भनेर भारतले सहमति गर्‍यो । तैपनि अब त आउला भन्ने ठान्दा भारतले दुई देशका सचिवस्तरीय बैठकले गरेको निर्णय/सहमतिलाई मान्यता दिएन । जबकि सन्धिमै अक्षरले नै लेख्दालेख्दा पुनः सहमति गर्ने अनि पुनः नमान्ने भारतीय कृत्यका कारण यो मामिलामा भारत इमानदार नभएको स्पष्ट छ ।

गत साता काठमाडौंमा सकिएको जलस्रोत सचिवस्तरीय बैठक (जेसीडब्लूआर) मा दोधारा र चाँदनीले पानी पाउने कुरोका नामगोतासमेत भएन । सचिव स्तरीयभन्दा अघिल्लो दिन बसेको सहसचिवस्तरीय (जेएसटीसी) मा ‘पुनः अध्ययन’ गर्ने भन्ने कुरो उठ्यो तर ऊर्जा मन्त्रालयको विज्ञप्तिमा दोधारा र चाँदनीले पानी पाउने विषय समावेश गरिएन । यसको अर्थ अब जेसीडब्लूआरको बैठकबाट दोधारा र चाँदनी भन्ने मुद्दा हटेको हो भन्ने प्रश्न उठेको छ ।

नेपाल र भारतबीच विभिन्न बैठकका संयन्त्र छन् । जलस्रोत मामिला हेर्ने जेसीडब्लूआर उपल्लो निकाय हो । सन्धिमै लेखिएको कुरा भारतले मानिरहेको छैन भने सचिवस्तरीय बैठकका निर्णय अवज्ञा गर्नु भारतका लागि नौलो कुरा होइन । महाकाली सन्धि नै त्यस्तो सन्धि हो, जुन नेपालले मात्र मान्नुपर्छ, मान्दै आएको पनि छ । तर भारतको हकमा लागू भने हुँदैन । सन्धिमा उल्लिखित प्रावधानले भारतलाई मात्र फाइदा पुग्ने कुरा छ भने मान्ने भई नै हाल्यो । नेपालले पनि केही पाउने कुरा छ भने त्यो लागू नै हुँदैन । महाकाली मात्र होइन, कोशी र गण्डकका सन्धिमा पनि पानीजन्य विषयमा भारतले छलछाम गर्दै आएको छ ।

महाकालीपारिका दोधारा र चाँदनी (हाल नगरपालिका) लाई महाकाली नदीबाट ३५० क्यूसेक पानी (१० घनमिटर प्रतिसेकेण्ड) पानी पाउने कुरा सन्धिको धारा ४ मै उल्लेख छ । सन्धिमा उल्लिखित विषय द्विपक्षीय संयन्त्रमा सहमति गरिरहनु पर्ने मुद्दा नै होइन । सचिवस्तरीय बैठक ठूलो कि महाकाली सन्धि ? नेपालले पालना गर्नुपर्ने विषयमा चाहिँ त्यो सन्धि हो, पालना गर्नैपर्छ । भारतले पालना गर्नुपर्ने विषयमा चाहिँ त्यो केही पनि होइन जस्तो रवैया भारतले २६ वर्षदेखि गर्दै आएको छ ।

गत साता काठमाडौंमा सम्पन्न नवौं जेसीडब्लूआरको बैठकको निर्णय उतार (मिनट्स) मा दोधारा र चाँदनीको विषय नै परेन । हालसम्म भएका जलस्रोतजन्य संयन्त्रमा नेपालले दोधारा र चाँदनीले सन्धिमा प्रावधान भएअनुसार पानी पाउनुपर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आइरहेको छ । यसपालिको जेएसटीसी र जेसीडब्लूआरको बैठकमा भारतले जे भन्यो त्यही मात्र भयो । यसको अर्थ बैठकमा सहभागीहरुले नेपालको हितको पक्षमा प्रष्टसँग कुरा उठाउन सकेनन् ।

भारतसँग प्रस्ट रुपमा कुरा राख्न त्यहीअनुसारको ज्ञान, अनुभव र क्षमता पनि चाहिन्छ । यसपालिको बैठकमा नेपाली पक्षको उपस्थिति र अडान फितलो देखियो । भारतले जे जे भन्यो त्यसलाई लुरुलुरु मानिदिए । भारतसँग जलस्रोतमा ‘नेगोसियसन’ (वार्ता) गरेका अनुभवी टिम भएन । मन्त्रालयमा गतिलो टीम नभएकै कारण ऊर्जा मन्त्री पटक–पटक विवादमा पर्दै आएकी छिन् । मन्त्रीजस्तो व्यक्तिले गरेको निर्णयबाट पछि समेत हट्नुपर्‍यो ।

सन् २००० देखि सुरु भएको जेसीडब्लूआरको निर्णय मन्त्रालयले आफ्नो वेभसाइटमा राख्थ्यो । यसबाट सार्वजनिक रुपमा बहस हुन्थ्यो । पारदर्शी हुन्थ्यो । सरकारलाई विज्ञ क्षेत्रबाट राय, सल्लाह र सुझाव दिन्थे । तर वर्तमान ऊर्जा मन्त्री आएदेखि ती निर्णयहरु मन्त्रालयको वेवसाइटमा राखिएन । यी ऊर्जामन्त्री आउनुभन्दा अघिका बैठकका निर्णय हटाउन बेर छैन । आफू गर्न क्षमता पनि नपुग्ने, अर्धदीक्षित विज्ञ र सल्लाहकारका भरमा मन्त्रालय चलाउँदा नेपालले जलस्रोतको मामिलामा पटक–पटक हार खाने गरेको थियो । यसपालि पनि त्यस्तै भयो । समग्रतामा ऊर्जा मन्त्रीले मन्त्रालयमा गतिलो जनशक्ति परिचालन गन नसक्दा भारतको पेलाईमा पर्न गएको कतैबाट लुकेको छैन ।