‘नेताहरु भोट लिन्छन्, समस्या सुन्दैनन्’

मकवानपुर । मकवानपुरस्थित मनहरी गाउँपालिकाकी ५० वर्षीया कान्छीमाया बोटेले आफ्नो जीवन कालमा पटक–पटक मतदान गरेकी छिन् । पटकैपिच्छे मतदान गर्नु पहिले राजनीतिक दलका ठूला नेतादेखि कार्यकर्ताहरुसम्म उनलाई भेट्न घरैमा आउँछन् ।
कान्छीमायालाई मात्रै हैन, चुनावको पूर्वसन्ध्यामा आउने नेताहरु सबैका घरघर पसेर नमस्कार गर्छन्, र भोट माग्छन् ।
“चुनाव लागेपछि कहिल्यै नदेखेका मान्छेहरु हाम्रो बस्तीमा आउँछन्, मीठा मीठा कुरा गर्छन्, त्यसपछि फर्केर उहाँहरु कहिल्यै यहाँ देखापर्नुहुन्न” स्थानीय बबिता बोटेले भनिन् । आफूहरुलाई हात जोडेर भोट मागेको देख्दा आफ्नो पीडा र समस्या साथ दिने उहाँ नै होला भन्ने लाग्ने गरेको बताउँछिन् बबिता । “चुनावपछि त हामीले उहाँकै अफिस पुगेर नमस्कार गर्दा नि फर्काउनु हुदैन, समस्याको कुरो त सबै बिर्सनुहुन्छ” बबिताले भनिन् ।
माछा मारेर गुजारा चलाउँदै आएका यो समुदायलाई वर्षौदेखि आवासको समस्या छ । तीन वर्ष पहिले बागमती प्रदेश सरकार र स्थानीय मनहरी गाउँपालिकाको सहयोगमा यो बस्तीमा घर नभएका १४ परिवारलाई आवास निर्माण गरिदिने भनिएपछि ५ घरमात्रै बने । आवासविहीन अन्य ९ परिवारलाई पनि चाँडै घर बनाइदिने घोषणा गरेको प्रदेश सरकारले हालसम्म काम अघि बढाएको छैन ।
“उहाँहरुको बोलीमा परेर हामीले धेरै भोट दियांै, तर हामीलाई जहिले पनि आशा मात्रै देखाइयो” स्थानीय संगीता माझीले भनिन् । “हाम्रो सवाल नै सकारको सवाल भन्नेहरु, हामीले राखेको गुनासो नै सुन्न चाहनुहुदैन” संगीताले भनिन् ।
मनहरी गाउँकार्यपालिका सदस्यसमेत रहेकी कान्छीमाया ¬माग्ने आफै स्थानीय तहमा पुदा समेत बोटे समुदायको लागि काम गराउन नसेकेको बताउँछिन् । पहिलो माग्ने ठाउँमा थिएँ, धेरै पटक माग गरियो, तर अब दिने ठाउँमा छु, मसँग अरुले गुनासो गर्नुहुन्छ पालिकाले कुरा सुन्दैन” उनले भनिन् ।
१० धुर जग्गामा २ कोठे घर बनाएर बासको व्यवस्था सरकारले गरिदिए पनि अन्य बनकरीयाहरु अझै समस्या मै रहेको कान्छीमायाले बताइन् । राप्ति खोलामा माछा मारेर गुजारा गर्दै आएको यी बोटे समुदायलाई यसवर्ष पर्सा वन्यवन्तु आरक्षले माछा मार्ने इजाजत पत्र नवीकरण नगरेको कारण समस्या भएको उनले बताइन् ।
वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट ३५ किमी पश्चिम मनहरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने यो बोटे बस्तीमा रोजगारी नहँुदा युवाहरु तास खेलेर दिन बिताउँछन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएपछि यो बस्तीमा नेता तथा कार्यकर्ताहरू देखिन थालेका हुन् । चुनाव नजिकिएपछि नेताहरुले यस समुदायको अभावमा साथ दिएझैं गर्न थालेका छन् । यी बस्तीको दुःखमा आफ्नो साथ रहेको आभाष दिलाउन नेताहरू लागिपरेका छन् ।
राजनीतिक चासो र चेतना कमै भएका बोटे समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्न निर्वाचनताका सबैजसो दलका नेता तथा कार्यकर्ताहरू आईपुग्छन् । तर, चुनावी तयारीको क्रममा आफूहरूसँग वाचा गरिएका सवाल नेताहरूले सत्तामा पुगेपछि बिर्सने गरेको बोटे समुदायको गुनासो छ ।
मनहरी गाउँपालिका ७ स्थित बोटे बस्तीमा झण्डै ९० भोट रहेको मनहरी गाउँकार्यपालिका सदस्य कान्छीमाया बोटेले बताइन्। मनहरी गाउँपालिकाको राई बस्ती, वनकरीया तथा चेपाङ बस्तीका भोटलाई नेताहरुले जित्ने आधार मात्रै बनाउने गरेको कान्छीमायाले बताउँछिन् ।
चुनावको मिति नजिकिँदा यस्ता समुदायको समस्या राष्ट्रिय सवाल भएको बताउने गरिए पनि जब चुनाव सकिन्छ, यी बस्तीका समस्या यहीँको मात्रै हुन्छन्, नेताहरूले बिर्सन्छन् । ‘दलका नेताहरूलाई सत्तामा पु¥याउनका लागि सर्वसाधारण कहिलेसम्म भर्याङ बनिरहनु पर्ने ?’ स्थानीयको प्रश्न छ ।
तर यसवर्ष भने वाग्मती प्रदेशको मकवानपुर, चितवन र धादिङमा बसोबास गरिरहेका चेपाङ, बोटे र वनकारिया जातिलाई पक्की आवास निर्माणको लागि सरकारले १० करोडको लगानी गर्ने भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर चितवन तथा धादिङका उनीहरुका लागि दुई सय ५० पक्की घर निर्माण गरिने भएको हो ।
उक्त समुदायको दुई सय ५० घर निर्माणका लागि संघीय सरकारको पाँच करोड तथा वाग्मती प्रदेश सरकारको पाँच करोड बजेट छुटयाइएको प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वनकारिया समुदायलाई २४ घर, बोटे जातिलाई ५० घर तथा चेपाङलाई १७६ घर निर्माण गरिने भएको हो । एउटा घर निर्माणका लागि चार लाख उपलब्ध गराइनेछ । सम्बन्धित समुदायको सामाजिक, सांस्कृतिक तथा मूल्य मान्यता सुहाउँदो किसिमले आवासको नक्सा भौतिक पूर्वाधार मन्त्रालयले नै गर्नेछ । पहिरो र सडक निर्माणका कारणले विस्थापित भएका, खरको छानो भएका, ऐलानी जग्गामा घर भएकालाई प्राथमिकतामा राखेर घर निर्माण प्रदेश सरकारले जनाएको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया