माओवादीबाट ह्याट्रिक गरेका प्रभु साहलाई एमालेबाट जित्न कति चुनौती ?

काठमाण्डाैँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले रौतहट–३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ प्रभु साह सिफारिस गरेको छ । क्षेत्रीय समन्वय समितिबाट सर्वसम्मत सिफारिस भएका साहलाई केन्द्रले सदर गर्ने पक्का जस्तै छ । यसो हुँदा उनी पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिनेछन् ।
तर, पछिल्ला तीनै निर्वाचनमा माओवादीबाट जितेर ह्याट्रिक गरेका साहलाई यसपालि भने सत्ता गठबन्धन ठूलो चुनौती बन्ने देखिन्छ । उनले २०६४ र २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचन तीनैमा जित्दै ह्याट्रिक गरेका थिए । २०७४ को चुनावमा उनले नेपाली कांग्रेसका सुनीलकुमार यादवलाई हराएका थिए । साहले २७ हजार ७ सय ९९ मत ल्याउँदा यादवले १८ हजार २०६ मत मात्रै पाएका थिए ।
त्यसो त यही वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहट–३ मा एमाले पहिलो दल बनेको छ । तर, वडागत मतमा भने एमाले गठबन्धनभन्दा धेरै पछाडि छ । यसकारण दलगत रूपमा एमाले बलियो देखिए पनि पाँच दलको संयुक्त मोर्चासामु कमजोर नै छ । यसलाई विस्तृतमा हेरौँ ।
जिल्लाका १८ मध्ये यस क्षेत्रमा ६ पालिका पर्छन् । ती गुजरा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका सबै वडा र गरुडा गाउँपालिकाका ५, ६, ७, देवाहीगोनाही नगरपालिकाका ५, ६, ७, ८, ९ र मौलापुर नगरपालिकाका १, २, ३, ४, ५, ८, ९ वडाहरू हुन् । यहाँ कुल ४४ वडा छन् ।
यी ६ पालिकामध्ये एमालेले तीनमा प्रमुख र दुईमा उपप्रमुख जितेको छ भने कांग्रेसले दुईमा प्रमुख र चारमा उपप्रमुख जितेको छ । एक पालिकाको प्रमुखमा भने जसपा विजय भएको छ ।
अब वडा हेरौँ । कुल ४४ वडामध्ये एमालेले सबैभन्दा धेरै १८ वडा जितेको छ । दोस्रो हुने कांग्रेसले १५ वडा जितेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले समान तीन–तीन वडा जितेको छ । दुइटामा भने स्वतन्त्रले विजय प्राप्त गरेका छन् ।
अब पार्टीहरूले वडामा पाएको मत हेरौँ । वडागत मतमा पनि एमाले नै अगाडि छ । ऊ कुल ४४ बाट २१ हजार ८ सय १ मत प्राप्त गर्दै पहिलो दल बनेको छ । कांग्रेस १९ हजार २ सय ७० मत पाएर दोस्रो बनेको छ । त्यस्तै, एकीकृत समाजवादीले ११ हजार ७ सय ३६ मत ल्याएर तेस्रो बनेको छ भने माओवादी केन्द्र ११ हजार २ सय ७६ मत पाएर चौथो दल बनेको छ ।
त्यसैगरी, वडागत मतमा पाँचौँ दल बनेको जसपाले ९ हजार ४ सय २६ मत प्राप्त गरेको छ । मधेश प्रदेशका केही स्थानमा राम्रो प्रभाव भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले यहाँ १ हजार ८१ मत मात्र प्राप्त गर्न सक्यो । मधेशमा अन्यन्तै न्यून प्रभाव रहेको राप्रपाको १ सय ४३ मत पाएको छ ।
तथ्यांकले एमाले पालिका र वडामा पहिलो दल भए पनि गठबन्धनविरुद्ध उसलाई जित निकाल्न चुनौती छ । गठबन्धन घटकहरूले प्राप्त गरेको सम्पूर्ण मतलाई जोडेर तुलना गर्दा एमाले झन्डै ३० हजार मतले पछाडि छ । गठबन्धनले ५१ हजार ७ सय ८ मत हुँदा एमालेको २१ हजार ८ सय १ मत मात्र छ ।
त्यसो त एमालेले राप्रपा र जसपासँग चुनावी तालमेल गर्ने चर्चा पनि चलिरहेको छ । तर, तालमेल भए पनि त्यसले एमालेलाई ठूलो सहयोग हुने देखिँदैन । एमालेले लोसपा र राप्रपाबाट केही मत पाउँछ, जुन गठबन्धनविरुद्ध जित दिलाउन पर्याप्त हुँदैन ।
यी विविध कारणले साहलाई गठबन्धनविरुद्ध जित निकाल्न फलामको चिउरा चपाउनुसरी हुनेछ ।
गठबन्धनबाट उम्मेदवार को ?
यता, सत्तारुढ गठबन्धनले यस क्षेत्रका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । मोर्चामा सम्मिलित दलहरूले यो क्षेत्र आफूले पाउनुपर्ने दाबीसहित आआफ्ना उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले सुनीलकुमार यादव, माओवादीले विन्देश्वरप्रसाद यादव र जसपाले गोविन्द चौधरीलाई अगाडि सारेका छन् । सबैको दाबी भए पनि स्रोतका अनुसार यहाँ गठबन्धनबाट माओवादीले टिकट पाउनेछ ।
मधेश प्रदेशका कांग्रेस सभापति कृष्ण यादव रौतहट–३ कांग्रेसको आधार क्षेत्र भएकाले यो क्षेत्र आफूहरूले पाउनुपर्ने बताए । ‘कांग्रेस रौतहट–१ बाहेक अन्य सबै क्षेत्रमा अगाडि छ । क्षेत्र नम्बर ३ मा अगाडि नै छौँ । स्थानीय तह निर्वाचनको नतिजाले यो कुरा प्रमाणित गर्छ । त्यसैले यहाँ हाम्रो प्रमुख दाबी हो,’ यादवले भने, ‘गठबन्धनमा सहभागी अन्य दलहरूको यो क्षेत्र कांग्रेसले पाउनुपर्ने मान्यता छ ।’
तर, गठबन्धनले जसलाई उम्मेदवार बनाए पनि कांग्रेसको पूर्ण साथ रहने उनले बताए । यता, गठबन्धनको अर्को घटक जसपाले पनि यो क्षेत्र आफूले पाउनुपर्ने बताइरहेको छ । रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल रौतहट–३ मा जसपाले टिकट पाए जित निश्चित भएको बताए । ‘यस क्षेत्रमा हाम्रो पकड बलियो छ । गोविन्द चौधरीलाई उम्मेदवार बनाइयो भने जित निश्चित छ,’ पटेलले भने, ‘हाम्रो दाबी भए पनि गठबन्धनले उठाउने साझा उम्मेदवारलाई हाम्रो पूरा सहयोग हुन्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया