अनि अचानक धिरजलाई पारस सरकार बन्ने आइडिया आयो

काठमाडौँ - ‘बाबरी’मा सानो राजा साब बनेका धिरज मगरको भाव भंगिमा र आवाजले अहिले धेरैको ध्यान तानेको छ । तर धिरजलाई ‘कबड्डी’मा दयाहाङ राईले गरेको वीरकाजीको चरित्र नक्कल गर्ने प्रयास गरेको पनि आरोप छ । धिरजले आफूलाई दयाहाङ राईसँग गरेको तुलना निकै मानेका छन् तर आफूले निर्वाह गरेको चरित्र वीरकाजीबाट प्रभावित भने नभएको उनले खुलाएका छन् । धिरज बरु चरित्रका केही गुण पारस सरकारबाट लिएको बताएका छन् । उनले इकागजसँग कुरा गर्दै भने, ‘ बाबरीको विक्रान्त भन्ने चरित्र आफूले आफूलाई राजा ठान्छ र सोही अनुसार लवज र चालढाल निकाल्छ । यो चालढाल मैले पारस सरकारबाट लिएको हो ।’
धिरज मगरलाई यो फिल्मको अफर तीन वर्ष अगाडि नै आएको थियो जतिबेला उनी ‘आइ एम ट्वान्टी वान’ खेल्न भनेर लन्डनबाट काठमाडौँ झरेका थिए । तर ‘आइ एम ट्वान्टी वान’का लागि लामो तयारी गर्नु परेकाले उनले निर्देशक सुरेन्द्र पौडेललाई यो फिल्म गर्न नभ्याउने जवाफ दिएका थिए । तर ‘आइ एम ट्वान्टी वान’को सुटिङ सक्दासम्म पनि ‘बाबरी’ भने फ्लोरमा जान सकेको थिएन । यो बीचमा महामारी पनि थियो र धिरज अर्को एउटा फिल्म खेल्ने तरखरमा थिए । तर महामारीका कारण यो फिल्म पनि रोकिएको बेलामा फेरि धिरजलाई ‘बाबरी’को अफर आयो । यसपटक उनलाई नाइँ भन्न कुनै बहाना थिएन ।
धिरज भन्छन्, ‘सन् २०१९ मै सुरेन्द्र दाइले यो कथा सुनाउँदा मन परेको थियो । चरित्र पनि राम्रो थियो र फेरि समय पनि मिल्यो । यसरी म बाबरीमा जोडिएँ ।’
तर यो चरित्रको मुटु भेट्टाउन भने धिरजलाई सकस भयो । फ्लोरमा जानुअघि आफ्नो भूमिकाको तयारीका लागि धिरजसँग जम्मा तीन हप्ताको समय थियो । बन्नु थियो राजा साहेब तर जीवनमा नजिकबाट यस्ता व्यक्ति नदेखेका धिरजका लागि चरित्रमा डुब्न सकस भइरहेको थियो । एक दिन फिल्मका एक्टिङ कोच सुदाम सिके र धिरज यही चरित्रलाई लिएर माथापच्चि गरिरहेका थिए । छुट्ने बेलामा पारस सरकारको नाम झ्ट्ट दिमागमा आयो । फेरि त के थियो दुवैलाई रहस्यको गाँठो भेटे जस्तै लाग्यो । यसपछि धिरजले गुगलमा पारस शाह खोजी खोजी हेर्न थाले । भेटे जति भिडियो हेरेर उनले बोल्ने काइदा, हिँड्ने तरिका आदि कुरा ख्याल गरे । तर फिल्ममा उनले न पारस शाहको लवज नक्कल गरेका छन् न अरु कुरा । धिरज भन्छन्, ‘खाली मैले उहाँको व्यक्तित्व आत्मसात गर्ने प्रयास गरेको छु ।’
त्रिकोणात्मक प्रेमकथा जस्तो देखिने फिल्ममा अदिती बुढाथोकी दुई हिरोको केन्द्रमा छिन् । व्यक्तिगत जीवनमा लजालु र हत्तपत्त खुलिहाल्न नसक्ने स्वभावकी अदिती यसमा ठीक उल्टो भूमिकामा छिन् । फिल्ममा विजेता नामको भूमिका निर्वाह गरेकी अदितीले पनि चरित्र निर्माणका लागि मेहनत गरेकी छिन् ।
वास्तविक जीवनमा भेगन र ड्रिंक नगर्ने अदितीको चरित्रले भने यो सब गर्नुपर्ने भूमिका छ । उनले पनि भूमिकालाई जीवन्त बनाउन क्लबमा गएर केही समय बिताएको अनुभव सँगालेकी छिन् ।
‘विजेता जिद्दी छे र रक्स्याहा पनि । आफू कहिल्यै अल्कोहल नपिउने भएकाले मैले केही दिन क्लबमा गएर सबै गतिविधि अब्जर्ब गरेकी थिएँ । बाँकी कुरा त इन्टरनलाइज गरेर पुग्ने थियो त्यो भएर धेरै गरिँन,’ अदितीले आफ्नो तयारीको बारेमा बताइन् । ‘कृ’मा लभर गर्लको भूमिका गरेकी अदितीलाई दोस्रो फिल्ममा फरक सेडको चरित्र गर्न मन थियो । निर्देशक सुरेन्द्र पौडेलले यस्तै चरित्र ल्याएकाले आफू फिल्म गर्न राजी भएको पनि अदिती बताउँछिन् ।
‘कृमा केशरको चरित्र र ममा धेरै समानता थिए । यसमा बिल्कुल फरक छ । लभरगर्लको भूमिका उस्तै भए पनि दुवै चरित्रमा आकाश जमिनको फरक छ । यही कुराले नै मलाई विजेता छान्न प्रेरित गरेको हो,’ अदितीको भनाइ छ ।फिल्ममा अदिती र धिरज मगरको बीचमा अर्का धिरज छन् धिरज नाडकर जो नेपाली फिल्मको पहिलो पुस्ताकी हिरोइन तृप्ति नाडकरका छोरा हुन् । मुम्बईमा बसेर मोडलिङ र अभिनयमा करिअर बनाउन संघर्षरत धिरज नाडकरको बकेट लिस्टमा एउटा सपना थियो, ‘जीवनमा कुनै दिन नेपाली फिल्म खेल्ने ।’ तर यो बकेट लिस्ट यति चाँडो पूरा होला भन्ने उनले कल्पना पनि गरेका थिएनन् । तर जब दुई वर्षअघि उनले ‘बाबरी’को अफर पाए, उनले ‘ यस’ भन्न निमेष पनि लगाएनन् ।
‘ ममीले खेलेका केही फिल्म हेरेर मैले जीवनमा एकचोटि नेपाली फिल्म पनि खेल्छु भन्ने सोचेको थिएँ । तर आफैँ यसरी अफर पाउँदा मैले नाइँ भन्ने कुरै थिएन,’ हिन्दी मिश्रित टुटेफुटेको नेपाली लवजमा उनले भने । तर नेपाली फिल्म गरिरहँदा आफूभन्दा पनि ममीको खुसी हेर्न लायक रहेको उनको अनुभव छ ।
‘म त खुसी छु नै तर मैले नेपाली फिल्म खेलेको देखेर ममी झन् खुसी हुनुहुन्छ,’ धिरजले भने, ‘व्यक्तिगत रुपमा मैले चाहिँ यसलाई अभिनय सिक्ने अवसरको रुपमा पनि लिएको छु । किनकि फरक फरक भाषामा काम गर्यो भने अभिनय इम्प्रुभ हुन्छ भन्ने मलाई लाग्छ ।’
नेपाल आएपछि आमाले नेपाललाई किन यति धेरै माया गर्नुहुन्छ र जीवनको महत्वपूर्ण समय किन अभिनयमा बिताउनु भयो भन्ने कुराको पनि जवाफ पाएका छन् ।
‘यस्तो धेरै माया गर्नुहुँदो रैछ त कसरी यो ठाउँ छाडेर जान मन लागोस् । मलाई पनि त्यस्तै लागेको छ । सायद यति राम्रो कोएक्टर पाएर हो कि ?’ उनले अदिती र धिरजलाई पनि फुक्र्याउन बाँकी राखेनन् । फिल्ममा धिरजले सिक्किममा बस्ने युवकको भूमिका निर्वाह गरेका छन् । को एक्टर राम्रो हुँदाहुँदै पनि भाषाका कारण केही ठाउँ ‘अक्वार्ड मोमेन्ट’को सामना गर्नुपरेको अनुभव पनि छ धिरजसँग ।
फिल्मको आधा सुटिङ लेटाङमा भएको हो भने आधा सिक्किममा । लेटाङको सुटिङमा भने धिरजले भाषाका कारण एउटा रमाइलो घटना घट्यो । फिल्मको तीनै जना एक्टर एक दिन लेटाङको पसलमा कालो चिया खान गएका थिए । तर चियामा धिरज नाडकरलाई कागती हालेर खान मन लाग्यो । धिरजलाई कागतीलाई नेपालीमा के भन्छ भन्ने झट्ट आएन । धिरजले अर्को धिरजलाई सोधे, ‘लेमनलाई के भन्छ ?’ धिरज मगरले ‘कागती चाहियो भन न । कागतीलाई निम्बु पनि भन्छ नत्र निम्बु मागे पनि हुन्छ’ भनेर अप्सनसहित दिए । उता धिरजले भने शब्द टिप्न नसकेर ‘भाइ लिम्बू छ’ भनेर मागे । धिरज नाडकरले निम्बूलाई लिम्बू भनेको सुनेर धिरज र अदिती पेट दोब्रिने गरी हाँसे । अझ यसको क्लाइमेक्स के थियो भने चिया पसलमा उनीहरूलाई चिया दिने भाइको थर पनि लिम्बू नै रहेछ । चिया दिने भाइ पनि चियामा लिम्बू मागेको देखेर कम चकित परेको थिएन । यसरी रमाइलो रमाइलोमा सुटिङ गरेको र फिल्म पनि उत्तिकै रमाइलो रहेको तीनजनाको दाबी छ ।
धिरज मगरले ‘बाबरी’लाई कम्फर्ट जोनभन्दा बाहिर गएर काम गर्ने प्रयासको रुपमा लिएका छन् । किनकि ‘इन्टु मिन्टु लन्डनमा’ उनी जस्ता थिए तर चरित्र पनि त्यस्तै थियो तर यसमा भिन्न छ । यसोभन्दा भन्दै धिरज थप्छन्, ‘मलाई कलाकारको रुपमा सुध्रँदै जानुछ । म यहाँ स्टार वा हिरो बन्न आएको होइन दया दाइ, सौगात दाइ वा विपिन दाइ जस्तो एक्टर बन्ने लालसाले आएको हुँ ।’
उता अदितीलाई पनि नआउनु यो क्षेत्रमा आइसकेपछि छाप छाड्ने गरी काम गर्न मन छ । मुम्बईमा ज्यादा समय बसे पनि नेपाली फिल्ममा अभिनयका लागि खुल्ला रहेको बताउँदै उनी अब थ्रिलर वा डार्क शैलीका फिल्मका लागि थप उत्सुक भएको बताउँछिन् । दुई धिरज र अदितीको मुख्य भूमिका रहेको फिल्म असोज १४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया