सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, १५ दिनमा डेढ करोडको व्यापार
बोका–च्याङ्ग्राको बिक्री नवमीसम्म

काठमाडौँ- चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।
दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडौँमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् ।
अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । 'काठमाडौँसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ,' उनले भने, 'सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनक रूपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ ।'
कम्पनीले एक महिनाको अवधिमा रु पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा रु एक करोड ५० लाखको सामान बिक्री भएको र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्क रूपमा खाद्य वस्तु पुर्याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडौँ, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ ।
सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।
बोका–च्याङ्ग्राको बिक्री नवमीसम्म
सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्याङ्ग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्याङ्ग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्याङ्ग्रा काठमाडौँ भित्र्याएको छ । 'केही खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँ आइसकेका छन्,' उनले भने, 'केही आउँदै छन्, दसैँसम्म लक्ष्यअनुसारको खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्छौं ।'
कम्पनीले जिउँदो खसीको मूल्य प्रतिकेजी रु छ सय ८० र च्याङ्ग्राको मूल्य जिउँदो प्रतिकेजी रु एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी रु १० छुट दिइएको छ । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपी क्षेत्रबाट च्याङ्ग्रा ल्याएको छ । रासस

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्ता…

फ्रान्सेली पर्वतारोही हर्जोगले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको …

प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सह…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

प्रतिक्रिया