शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

समस्याको जरो

नेपालको संविधान २०७२ मा तत्कालीन संविधानसभाका ९२ प्रतिशतभन्दा बढी सदस्यको हस्ताक्षर छ, जसमा दलित, जनजाति, पिछडिएको क्षेत्र, महिला, ब्राह्मण, क्षत्री सबैको प्रतिनिधित्व रहेको थियो । उक्त संविधानमा मधेसी दलबाट प्रतिनिधित्व गर्ने केही सदस्यले बाहेक अरू सबैले अपनत्व लिएका थिए । सहमतिसाथ हस्ताक्षर गरेर संविधान जारी गरेका थिए ।

संविधान जारी भएको ६ वर्ष पनि नपुग्दै आफैँ वा आफ्नै प्रतिनिधिले हस्ताक्षर गरेर जारी गरेको संविधानसँग नागरिक असन्तुष्ट छन् । हरेक वर्ग, क्षेत्र, लिंग, जातजाति तथा समुदायको प्रतिनिधित्व भएको संविधान यति छोटो समयमै किन अनवान्टेड बेबी जस्तो अवस्थामा पुग्यो ? के कारणले यति छोटो समयमा संविधानमाथिको विश्वासमा तिनै समुदायका व्यक्तिहरूको एकपछि अर्को गर्दै प्रश्न उठाइरहेका छन् ?

२००७ सालदेखिको नेपाली नागरिकको संविधानसभामार्फत संविधान लेख्ने चाहना २०७२ मा आएर पूरा भएको हो । यो दिन र संविधानका लागि धेरै नेपाली नागरिकले ज्यान गुमाएका छन् । कति अझै पनि अंगभंग भएर आफ्नो रहरलाग्दो जीवन अर्काको सहारामा बाँच्न विवश छन् । राज्यले ठूलो मूल्य चुकाएको छ । हरेक वर्ग, क्षेत्र, लिंग, जातजातिका नागरिक आफ्ना प्रतिनिधिको सहभागितामा संविधान लेख्ने उत्कठ चाहनामा हाँसीहाँसी ज्यानको आहुति दिएका छन् । तिनैका प्रतिनिधिले लेखेको संविधानले यति छोटो समयमै के कारणले चाहना परिपूर्ति गर्नै नसक्ने अवस्थामा पुग्यो त ? यो गम्भीर प्रश्नको जवाफ नखोजीकन अब नेपाली समाज अगाडि बढ्नै नसक्ने अवस्थामा पुगेको छ ।

यस अवस्थालाई बुझ्न राज्य र समाजबीचको संघर्षलाई समेटेर सन् १९८८ मा क्याब्रिज विश्वविद्यालयले प्रकाशित गरेको जोल मिग्डलको पुस्तक ‘स्टेट इन सोसाइटी’ सहयोगी हुनसक्छ । उक्त पुस्तकमा राज्य र समाजबीचको संघर्षपूर्ण सम्बन्ध, संघर्षका तत्वलगायतका सवाल उल्लेख छ । कुनै पनि राज्यको प्रकृतिलाई समाजको चरित्रबाट छुट्टयाएर हेर्न सकिन्न । कुनै पनि बलियो र प्रभावकारी राज्यको उदय सोहीअनुसारका सामाजिक नियन्त्रणका माध्यमहरू भएमा मात्र सम्भव हुन्छ । तर, आफ्नो क्षमताविना नै राज्यका नेताहरूले समाजलाई जबर्जस्ती नियन्त्रण गर्न थाल्दा राज्य र समाजबीच संघर्ष तथा द्वन्द्व हुन्छ ।

मिग्डलका अनुसार राज्यको सबैभन्दा ठूलो क्षमता भनेको समाजलाई आवश्यकताअनुसार परिचालन गर्न सक्नु हो । संसारका हरेक राज्यसँग समाज र समाजका सदस्यहरूलाई परिचालन गर्ने राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संयन्त्र हुन्छन् । मानव तथा अन्य भौतिक स्रोतको परिचालन गर्दै यस्ता संयन्त्रलाई सञ्चालन गर्न सकिन्छ । तर, धेरै देशले बलियो पुलिस तथा आर्मी, कर संकलनका संयन्त्रहरू तथा न्यायिक निकायहरूलाई मात्र बढी मात्रामा परिचालन गरेर समाजलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका हुन्छन् । यस्ता संयन्त्रको मात्र परिचालन गरेर समाज नियन्त्रणमा राखेको जस्तो लागे तापनि यसले प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्दैन ।

सामाजिक नियन्त्रणका लागि राज्यसँग सांकेतिक, भौतिक, औपचारिक, अनौपचारिक लगायतका विभिन्न संयन्त्र रहेका हुन्छन् । यसैगरी राज्यले समाजलाई परिचालन गर्ने सन्दर्भमा राज्य र यसको नेतृत्व गरेका नेताहरूको क्षमता कस्तो छ ? सामाजिक नियन्त्रणका लागि कस्ता किसिमका नियम तथा कानुन बनाउँछ भन्ने सवाल निकै महत्वपूर्ण हुन्छ । राज्यले समाजलाई नियन्त्रण गर्ने सन्दर्भमा बनेका नीतिनियम कानूनहरू समाजका सदस्यको अपेक्षानुसार निर्माण भएनन् भने त्यसले द्वन्द्व र संघर्षलाई निम्त्याउँछ ।

राज्यभन्दा समाज अघिअघि भएमा आफ्नो अपेक्षा र चाहना पुरातन सोचाइ राज्यका नेतृत्वबाट सम्भव छैन भन्ने समाजका सदस्यले बुझे भने विभिन्न आन्दोलन, जनआन्दोलन, संघर्ष, विद्रोहको माध्यममार्फत राज्यका नेतृत्वविरुद्ध धावा बोल्छन्, असन्तुष्टि पोख्छन् र परिवर्तन खोज्छन् । मिग्डल भन्छन्, “राज्य, राज्य संयन्त्र, राज्यका नेताहरू कमजोर र पुरातनवादी भए भने राज्यले सामाजिक नियन्त्रण गर्न सक्दैन । समाजलाई नियन्त्रणमा राख्न सक्दैन ।”

कुनै पनि समाजमा यदि सामाजिक नियन्त्रणको अभाव भयो भने समाज र यसका सदस्य जहिल्यै पनि राज्य संयन्त्रविरुद्ध संघर्ष गर्न तत्पर हुन्छन् । उनको निष्कर्ष छ– राज्य र समाजको संघर्षमा यदि राज्यभन्दा समाज अगाडि भयो भने विद्यमान राज्यबाट आफ्ना अपेक्षा वा चाहनाको परिपूर्ति हुन सक्दैन भन्ने बुझेर समाज र यसका सदस्यहरू संघर्ष गर्न अगाडि सर्छन् । तेस्रो विश्वका अधिकांश देशहरूमा समाज र यसका सदस्यहरू निकै अगाडि छन्, राज्य संयन्त्र र यसलाई नेतृत्व गर्ने नेताहरू निकै पछाडि अर्थात् पुरातन छन् । यसले गर्दा राज्यले समाजमाथिको आफ्नो नियन्त्रण गुमाउँछ । तेस्रो विश्वमा भइरहेका संघर्ष, द्वन्द्व, युद्ध यसैको उपज हो । 

नागरिकको चाहना र बुझाइको गतिअनुसार संविधानलाई संशोधन गर्ने, अन्य नीति–नियम–कानुनहरू बनाउँदै राज्यलाई नागरिककै गतिमा दौडाउन सक्ने नेतृत्वले मात्र अहिलेको समस्याको हल गर्न सक्छ ।

मिग्डलले आफ्नो पुस्तकमा भनेजस्तै राज्य र समाजको बहस नेपालमा पनि सान्दर्भिक देखिन्छ । समाज र समाजका अन्य व्यक्तिहरूको सोचाइ, चाहना, बुझाइ जुन तहमा अगाडि छ, राज्यको नेतृत्व गर्ने राजनीतिक दलका नेता अझ शीर्ष नेताहरूको बुझाइ, सोचाइ, चाहना निकै पछाडि छ । अर्थात् समाज निकै अगाडि र दलका नेता दशकौँ पछाडि छन् । उदाहरणका लागि तत्कालीन राजा ज्ञानेन्द्रलाई हेरौँ । उनले नेपाली समाज र यसको पात्रलाई बुझ्नै सकेनन् । समाज २०५८ सालमा पुगिसक्दा पनि उनको बुझाइ २०१७ सालकै वरिपरिमै रुमल्लिरहेका थिए । २०७७ मा आइपुग्दा पनि उनको बुझाइ त्यहाँबाट अगाडि बढेको जस्तो देखिन्न । २०७७ सालमा आइपुग्दा प्रधानमन्त्री केपी ओलीको नेपाली समाजप्रतिको बुझाइ २०५० सालको मध्यावधि निर्वाचनकै समयभन्दा अगाडि बढेको देखिँदैन । २०७८ सालको यो समयमा प्रतिपक्षी दलको नेता २०४८ सालमा आफू गृहमन्त्री हुँदाको भन्दा माथि उठेर सोच्न सक्ने सामथ्र्य राख्दैनन् ।

अहिलेको समयमा एनेकपा माओवादीका अध्यक्षमा २०५२ सालको भन्दा अगाडि बढेर सोच्न सक्ने सामथ्र्य विकास भइसकेको देखिँदैन । अर्थात् राज्य र यसको नेतृत्व गर्ने नेताहरूको चेतना र बुझाइ पुरातन छ । तर, समाज र यसका सदस्यको सोचाइ, बुझाइ त्योभन्दा निकै अगाडि बढिसकेको छ । राज्य र यसका नेताअघि लागेर समाज र यसका सदस्यलाई दिशानिर्देश गर्ने र गति दिनुपर्ने हो । तर, नेपालमा ठीक उल्टो भइरहेको छ । जनताले गणतन्त्र भनिसक्दा प्रमुख दलका शीर्षनेताहरू बयलगाडावाला प्रवचन दिँदै थिए । यसले समाजका सदस्य र राज्यका नेताहरूबीचको बुझाइको दुरी र असमानता बुझ्न सजिलो हुन्छ ।

राज्य र यसका नेता र नागरिकबीचको बुझाइमा रहेको यो तहको असमानताले संविधानसभामार्फत बन्दै गरेको संविधानमा पनि प्रत्यक्ष प्रभाव पार्‍यो । नागरिक अत्यन्तै प्रोग्रेसिभ संविधान चाहन्थे । दलितले सार्वजनिक र निजी दुवै क्षेत्रमा भइरहेको विभेदको अन्त्य चाहन्थे । संविधानले सार्वजनिक क्षेत्रको विभेदलाई घटाएर निजी क्षेत्रमा ल्याएर छाडिदियो । दलित सन्तुष्ट हुने कुरै भएन । जनजाति इतिहासदेखिको संरचनात्मक बहिष्करणलाई स्वशासनको माध्यमबाट हटाउन चाहन्थे ।

देखावटीजस्तो लाग्ने संघीयतामा ल्याएर नेताले उनीहरूको अपेक्षालाई टुङ्ग्याइदिए । अझ त्यसलाई संघीयताको मर्मअनुरूप कार्य गर्ने वातावरण नै बनाइदिएनन् । महिला सदियौँदेखिको बहिष्करण, हिंसा र असमानताको अन्त्य चाहन्थे । उनीहरूलाई केही प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेर मुखमा बुझो लगाइदिए । क्षेत्रगत बहिष्करणको दीर्घकालीन समाधान खोजिरहेका कर्णाली तथा मधेसका नागरिकलाई चित्तबुझ्दो जवाफ नै नदिइकन टालटुल पारेर अगाडि बढिदिए ।

टालटुले समाधानले तत्काललाई सहज अवतरण गराए पनि संविधानले नागरिकका अपेक्षालाई पूरा गर्न सकेको जस्तो देखिँदैन । अझ संविधानका कतिपय धारा त शीर्ष नेताले आफू अनुकूल निर्माण गरेका देखिँदैछन् । यति बेला नागरिकले आफ्नो गति, बुझाइ र सोचाइलाई सम्बोधन गर्ने गरी संविधानसभाले संविधानका कतिपय धारा निर्माण नगरेको अनुभव गर्न थालेका छन् ।

समाज र यसका सदस्यले नयाँ संविधानमा पुरातनवादी नेतालाई प्रक्रियागत रूपमा हट्दै जाने प्रणालीको अपेक्षा राखेका थिए । तर, जीवनको अन्तिम घडीसम्म पनि उनीहरूले राजनीति छाड्नु नपर्ने प्रणालीलाई उक्त संविधानले संस्थागत गर्‍यो । नाममा गणतन्त्र भनिए तापनि आजीवन सत्ता र शक्तिमा रहने प्रणाली भनेको नवराजतन्त्र नै हो । समाज र यसका सदस्य आफैँ प्रत्यक्ष रूपमा कार्यकारी प्रमुख चुन्न चाहन्छन् । तर, दलका नेताले त्यसको ठीक विपरीत आफँै मात्रै सत्तामा रहिरहन मिल्ने व्यवस्थालाई निरन्तरता दिए । जुन नागरिकको चाहना र बुझाइभन्दा निकै प्रतिगामी प्रणाली हो । नागरिक एउटा निश्चित प्रणाली बनाएर एउटा व्यक्ति निश्चित पटकभन्दा बढी राज्यसत्तामा जानै नपाउने गरी संवैधानिक सुनिश्चितता चाहन्थे । तर, संविधानले बलियो गुट बनाउन सक्नेले आजीवन राज्यसत्तामा रहिरहन सक्ने पुरातन प्रणालीलाई स्वीकार गर्‍यो ।

संविधानसभा सप्तरंगी त भयो । सबै जात, वर्ग, लिंग, धर्म, जाति, समुदाय, क्षेत्रको प्रतिनिधित्व त भयो । तर, त्यो कागजमा भयो, व्यवहारमा भएन । व्यवहारमा केही दलका शीर्ष नेताको मात्र दबदबा रह्यो । त्यही असाधारण शक्तिमार्फत नेताले अन्यमाथि धावा बोले । प्रतिनिधित्व गरेर संविधानसभामा जानेहरूले आफ्नो राजनीतिक भविष्यको स्वार्थमा परी चुपचाप सहीछाप गरिदिए । समाज सामन्तवादी सोचबाट निकै अगाडि बढिसक्यो तर, हाम्रा नेता त्यही दशकौँ अगाडिको सामन्ती सोचबाट उठ्न सकेका छैनन् । त्यही कारण संविधानसभामा निर्वाचित भएका आफू बाहेकका अरूलाई दलका शीर्ष नेताले आफ्नो भतुवाको व्यवहार गरे । आफ्नो सीमित पुरातन सोचाइ र बुझाइलाई संविधानका धारामा जर्बजस्ती रूपमा समेटे । त्यसको असर अहिले देखिन थालेको मात्रै हो ।

अहिलेको अवस्था हेर्दा राज्यले समाज र यसका सदस्यमाथिको सामाजिक नियन्त्रण गर्ने आधार बिस्तारै गुमाउँदै र भएका पनि निष्प्रभावी बन्दै गइरहेका देखिन्छ । यस्तो अवस्थामा सामाजिक नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि समाज र यसका सदस्यहरूको सोचाइलाई ठम्याउँदै त्यही गतिमा अगाडि बढ्न सक्ने नयाँ नेतृत्व आवश्यक पर्दछ । नागरिकको चाहना र बुझाइको गतिअनुसार संविधानलाई संशोधन गर्ने, अन्य नीति–नियम कानुनहरू बनाउँदै राज्यलाई नागरिककै गतिमा दौडाउन सक्ने नेतृत्वले मात्र अहिलेको समस्याको हल गर्न सक्छ । अन्यथा दशकौँ पुराना सोचाइ र बुझाइ भएका नेताहरूले नै अझै अग्रगामी समाजको नेतृत्व गर्ने दुष्प्रयास गरिरहने हो भने त्यसले गम्भीर दुष्परिणाम ल्याउने निश्चित छ ।