बालविवाहमुक्त प्रदेश बनाउने सरकारी योजना घोषणा अलपत्र

मकवानपुर - बागमती प्रदेश सरकारले प्रदेशलाई बाल विवाहमुक्त प्रदेश बनाउने लक्ष्य पाँच वर्षअघिदेखि काम थाल्यो । बाल विवाहमुक्त प्रदेश बनाउन प्रदेशको सबै जिल्लामा सहजकर्ता नियुक्त गर्यो, सरकारी कार्यालयहरूमा 'फोकल पर्सन' नियुक्त गर्यो । गैरसरकारी संस्थाहरूसँग सञ्जाल समूहहरू निर्माण गरेर काम थाल्यो । तर अन्ततः यी सबै काममा भएको लगानी बालुवामा पानी भएको छ ।
प्रदेश सरकारले २०७८ को अन्त्यसम्म प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने घोषणा गरेको थियो । तर घोषणा कागजमा सीमित भएको छ । अहिले पनि बाल विवाहको रूप प्रदेशमा डरलाग्दो भएको यो क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका अभियन्ताहरूको दाबी छ । ग्रामिण क्षेत्रमामात्रै हैन शहरी क्षेत्रमै बालबालिकाहरू कानूनले तोकेभन्दा कम उमेरमै विवाह गरिरहेका छन् ।
आफ्नो लक्ष्यमा असफल भएपछि मन्त्रालयले यो जानकारी गोप्य राख्न खोजको छ । प्रदेशको बालअधिकार समितिले यो लक्ष्यमाथि भएको कार्यप्रगति प्रश्न गर्दा, यसबारे ‘चुप’ रहन निर्देशन दिइएको स्रोतले बताएको छ । 'चुनावको मुखमा यस्ता कुरा सार्वजनिक नगरौं, पत्रकारहरूले पत्तो नपाउन्' भन्दै समितिको बैठकमा कुरा उठाउँनै नदिएको बताइएको छ । 'घुमाउरो पाराले मन्त्रालयले यो जानकारी गोप्य राख्न निर्देशन नै दिएकोले यसबारे बोल्न मिल्दैन' मन्त्रालयका एक कर्मचारीले भने ।
प्रदेश सरकारभित्र सरकार फेरबदलको तिव्र राजनीतिकरण र यसको प्रभाव स्थानीय तहसम्म पुग्दा महत्वकाक्षी योजना अलपत्र परेको हो । सरकारी तवरबाट भएको बेवास्ताको कारण महत्वकाक्षि लक्ष्यले सफलता पाउन नसकेपछि स्थानीय तहले काम नगरेको भन्ने उत्तर दिन थालिएको छ ।
विवाह मात्रै हैन, उनीहरू बालिका आमा बनेको प्रयाप्त उदाहरण भेटिने गरेको छ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ नामटारकी मीना घिसिङ यसकै उदाहरण हुन् । १९ वर्षीया उनको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्ष मात्रै लागेकी मीनाको कैलाश गाउँपालिकाको भार्ताका १६ वर्षका खुसीलाल प्रजासँग विवाह भयो । सामान्य चिनजानकै भरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए ।
मकवानपुरगढी गाउँपालिका ५ कि १८ वर्षकी झमककुमारी घिमिरेले हालैमात्रै २ पटक गर्भपतन गरीसकिन् । 'पढाइ छाडेर बिहे त गरियो, सन्तान चाहिँ चाँडै नहोस् भने गर्भपतन गरेको' उनले भनिन् । सानै उमेर विवाह र आमा बन्नु उनीहरू आफ्नो बाध्यता भएको दाबी गर्छन । सानै उमेरमा विवाह गरेको भन्दै परिवारले बालविवाहको मुद्दा चलाएर उनीहरूलाई छुटाउने कोसिस गरे पनि अन्नत मुद्दा मिलेमतोमा टुङ्गीने गरेको छ ।
'विवाह भइसकेपछि छुटाएर माइती फर्काउँदा माइती र चेलीको इज्जतमाथि प्रश्न उठाउने गरेको कारण अभिभावकहरूले पनि छोरीको भविष्यभन्दा इज्जत प्यारो मान्ने गरेको बताउँछन् सिविन बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञावली । सानैमा विवाह, किशोरी अवस्थामै आमा अनि नागरिकता समेत बनाउन नपाएको पीडा झेलिरहेकी छन् यतिबेला मीना । उनी त प्रतिनिधि पात्र हुन् । बागमती प्रदेशमा मीना जस्तै सयौं किशोरी आमा बनिसकेका छन् । बालविवाह मुक्त प्रदेश घोषणा गर्ने नीति ल्याइए पनि सफल हुन नसक्दा अहिले पनि प्रदेशका धेरै ठाउँमा समस्या ज्यूँकात्यूँ छन् ।
बागमती प्रदेशलाई २०७८ भित्र बालविवाहमुक्त गर्ने प्रदेश सरकारको लक्ष्य थियो । तर, यो वर्षभित्र सरकारको लक्ष्यले गतिसमेत लिन सकेन । बालविवाह मुक्त प्रदेशको घोषणा कार्य पूरा हुनका लागि १ सय १९ वटै स्थानीय तहमा बालमैत्री पालिका घोषणा गर्नुपर्छ । तर, हालसम्म प्रदेशभर जम्मा पाँचवटा स्थानीय तह मात्रै बालमैत्री पालिका घोषणा भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्रदेशलाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरिरहँदा तथ्यांकअनुसार मकवानपुर बालविवाह धेरै हुने सूचीको पाँचौं स्थानमा पर्छ । प्रदेशमा सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत, नुवाकोटमा ६२.५ प्रतिशत, सिन्धुलीमा ६२.५ प्रतिशत, सिन्धुपाल्चोकमा ६०.९२ प्रतिशत र मकवानपुरमा ५९.७ प्रतिशत बालविवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
बागमती प्रदेशको काठमाडौं भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह हुने जिल्लामा छ । बालविवाह मात्र होइन किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै रहेको मन्त्रालयले जनाएको छ । २० वर्ष नपुग्दै विवाह गर्न नपाइने कानूनी व्यवस्था भए पनि बागमती प्रदेशको धेरै जिल्लामा यसको कार्यान्वयन भएको छैन ।
सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवाला बताउँछन् । मकवानपुरमा सबैभन्दा बढी बालविवाह हुने राक्सिराङ र कैलाश गाउँपालिका हुन् ।
बकैया, मकवानपुरगढी, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपलिकामा बालविवाह निरुत्साहित गर्न विभिन्न संघ संस्थाले अभियान चलाउँदै आएका छन् । बालविवाह हुनबाट उद्धार गरिएका सबै बालिकाले मकवानपुरमा रहेको सिविन बाल हेल्पलाइनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् ।
सिविन बाल हेल्प लाइनको तथ्यांकअनुसार सन् २०२० मा जिल्लामा ९८ वटा बालविवाह भएको थियो । त्यस्तै, २०२१ मा ६६ र २०२२ को जनवरीदेखि ३ अप्रिलसम्म २६ वटा बालविवाहको घटना दर्ता भएको हेल्पलाइनका कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिए ।
सामाजिक सञ्जाल मुख्य समस्या
जिल्लाको राक्सिराङ, मनहरी, बकैया, भीमफेदीलगायत गाउँपालिकामा बालविवाहका घटना बढी भेटिएका छन् । ती गाउँपालिकामा अभिभावकले विवाह गरिदिने भन्दा आफैं राजीखुसी भागेर विवाह गर्ने धेरै रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ज्ञवालीले बताए । 'सामाजिक सञ्जालको बढ्दो प्रयोग, बीचैमा पढाइ छाड्ने समस्या, बाबुआमाको दबाब आदि कारणले बालविवाह न्यूनीकरण हुन नसकेको देखिन्छ,' उनले भने, 'छोरीलाई घरको गराउन बीचमै पढाइ छोड्न लगाउने र गरिबीका कारण पनि बालबिवाह बढ्दै गएको पाइन्छ ।'
सामाजिक संघसंस्थाले रोकिदिएको बालविवाह पनि कतिपय अभिभावकले नै तत्काल पुनः गराइदिने गरेको संयोजक ज्ञवालीले बताए । पछिल्लो समय कोरोना महामारीका कारण विद्यालय बन्द रहँदा अनलाइन कक्षाको लागि मोबाइल र इन्टरनेटको पहुँचमा रहेका बालबालिका पनि बालविवाहको सिकार भइरहेका ज्ञवालीले बताए । अन्य आर्थिक वर्ष र चालू आर्थिक वर्षको तुलना गर्दा जिल्लामा बालविवाहको संख्या बढ्ने उनको भनाइ छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया