सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

फाइल फोटो

काठमाडौँ- प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुशान्त थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् । 

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवास खड्कासहितको टोली घट्नास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिए। “अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ”, उनले भने ।   

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा गएको छ । पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ । “सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ”, प्रवक्ता थापा मगरले भने ।