आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

उदयपुर २ मा एमालेका उम्मेदवार फेरिए

विराटनगर - नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ उदयपुरको क्षेत्र नम्बर २ मा उम्मेदवार फेरिएका छन् । ज्ञानेन्द्र श्रेष्ठ (काजी) को ठाउँमा अम्बर रायमाझीको टिकट दिइएको छ । शनिबारसम्म श्रेष्ठ नै फाइनल उम्मेदवार रहेकोमा सहमतिमै रायमाझीलाई उम्मेदवार बनाइएको एमाले उदयपुरले जनाएको छ । 

टिकट पाइसकेको भनिएका श्रेष्ठ एमाले उदयपुरका उपाध्यक्ष एवं कटारी नगरपालिका निवर्तमान मेयर हुन् । अन्तिम समयमा श्रेष्ठको ठाउँमा रायमाझीलाई उम्मेदवार बनाइएको हो ।

उदयपुर क्षेत्र नम्बर २ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रदेशसभातर्फ २ (क) मा एमालेले देवराज राई र २ (ख) मा जीवनाथ दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै गठबन्धनबाट २ (क) मा कांग्रेसका रामकुमार खत्री र २ (ख) मा नारायण बुर्जा मगर उम्मेदवार बन्ने निश्चित भइसकेको छ । कांग्रेसका खत्री अघिल्लो निर्वाचनमा सोही क्षेत्रमा पराजित भएका थिए । त्यतिबेला बागी उम्मेदवारी दिएका माओवादीका बुर्जा मगर भने पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गराएर तत्कालिन नेकपा गठबन्धनबाट निर्वाचित भएका थिए ।

उदयपुर क्षेत्र नं. १ मा एमालेबाट मञ्जु कुमारी चौधरी लड्दैछिन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा.नारायण खड्का उम्मेदवार रहेका छन् । चौधरी र खड्का दोस्रो पटक आमने सामने हुँदैछन् । अघिल्लो निर्वाचनमा एमालेकी चौधरी कांग्रेसका खड्कासँगै पराजित भएकी थिइनन् ।

प्रदेशसभातर्फ गठबन्धनले क्षेत्र १ (क) मा माओवादी केन्द्रका बासु किराँती र १ (ख) मा कांग्रेसका हिमाल कार्की उम्मेदवार बनेका छन् । एमालेबाट १ (क) मा बिमल कार्की र १ (ख) मा इश्वरमणि राउत उम्मेदवार बनेका छन् । 

कांग्रेसका हिमाल कार्की र एमालेका उम्मेदवार बिमल कार्की दोस्रो पटक सोही क्षेत्रबाट प्रदेशसभामा लड्न लागेका हुन् ।