मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

मध्यपुर थिमिमा घरजग्गा हस्तान्तरण गर्न पाइने

काठमाडौं : मध्युपुर थिमि नगरपालिकाको एकीकृत जग्गा विकास कार्यक्रममा परेका घरजग्गा हस्तान्तरण गर्न पाइने भएको छ । गत फागुन १७ मा नगरपालिकाले यो कार्यक्रममा परेका जग्गाको हक हस्तान्तरणमा रोक लगाएको थियो ।

हस्तान्तरणमा मात्रै होइन, भौतिक संरचना निर्माण तथा फेरबदल र कित्ताकाटमा समेत रोक लगाएको थियो । नगरपालिकाले सूचना संशोधन गर्दै घरजग्गा हक हस्तान्तरण गर्न पाइने व्यवस्था गरेको हो । कोंला फाँट, राधे राधे, कुन्डोल हाडोल र मनोहरा निलबहारी क्षेत्र भित्रमा पर्ने जग्गाहरूलाई एकीकरण गर्न लागिएको हो ।

कोला फाँट-३ मा पूर्वतर्फ सुन्दर नगर चारदोबाटो चोकदेखि विद्युत् प्राधिकरण जाने मूल सडक छन् । त्यस्तै पश्चिमतर्फ रुब्साना पार्टी प्यालेसदेखि पश्चिमको तल्लो भागसहित छन् । उत्तरतर्फ विद्युत प्राधिकरणको कार्यालयदेखि पश्चिम डिल जोड्ने सडक र चन्द्र मीलेश्वर मन्दिरको तल्लो भाग र दक्षिण अरनिको राजमार्ग छ ।

राधे राधे वडा नं. ९ को पूर्वतर्फ हनुमन्ते खोला, पश्चिमतर्फ १४ मि राजकुलो बाटो, उत्तरःतर्फ भक्तपुर जाने पुरानो बाटो सडक र दक्षिणतर्फ अरनिको राजमार्ग छन् । कुन्डोल हाडोलमा पूर्वमा मध्यपुर थिमि नगरपालिका र चाँगु नगरपालिकाको सिमाना बाटो, पश्चिम: नगरपालिका भवन हुँदै बोडे चारदोबाटो सडक, उत्तरतर्फ बोडे चारदोबाटो चोकदेखि गाँखु जोड्ने सहक र दक्षिणमा भक्तपुर जाने पुरानो बाटो सडक छन् ।

मनोहरा निलवाराहीमा पूर्वतर्फ चाँगु दुवाकोट खहरेसम्म सिमाना, पश्चिमतर्फ दिव्येश्वरी ज.ए. आयोजनाको उत्तर पूर्वको भाग, उत्तरमा का.जि. मनोहरा कागेश्वरी न.पा. सिमाना, दक्षिणमा बोडे पुरानो वस्ती, निलवाराही जंगल, घुन्चोपाखा सिमाना छन् । यसअघि एकीकृत जग्गा विकास कार्यक्रममा परेका कांलाडोल क्षेत्र र बुढाथोकी गाँउ हटेका छन् ।