सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

‘जन्मभूमिमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न मेरो उम्मेदवारी’ : रेखा थापा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताएकी छन् ।

बिहीबार सुन्दरहरैँचा वडा नम्बर ११ का मतदातासँगको भेटमा उनले समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भएपनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत प्रवृत्तिको अन्त्य गर्न आफूले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको बताएकी हुन् ।

अभिनेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ का सबै घरपरिवार आफन्त भएको उल्लेख गर्दै उनीहरुसँग छलफल गरेर यस क्षेत्रको समस्या गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ‘मेरो दायित्व यहाँका माटोसँग छ, यो क्षेत्रसँग छ,’ उनले भनिन्, ‘म यसरी भेला नभईकन पनि तपाईहरुसँग नभेटीकन पनि माननीय बन्ने मेरो उद्देश्य थियो भने म त्यहीँ बसेर माननीय बन्थे ।’ यो क्षेत्रको माटो र यो क्षेत्रका हरेक घर परिवार मेरा आफन्त भएकाले आफू यहाँ आएको उनले सुनाइन् । 

अभिनेतृ थापाले महिलाहरु नेतृत्वमा पुगे मुलुकको भ्रष्टाचार आफंै समाप्त हुने दावी समेत गरिन् । घर चलाउन सक्षम महिलाहरु मुलुक चलाउन पनि सक्षम रहेको उनँको भनाई थियो ।