मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

मधेश प्रदेशमा पनि गठबन्धन आबद्ध दलका मन्त्रीहरुलाई हटाउने तयारी

जनकपुरधाम । संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका चार जना मन्त्रीलाई हटाएपछि मधेश प्रदेश सरकारले पनि गठबन्धनमा आबद्ध मन्त्रीहरुलाई हटाउने तयारी शुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दल जसपाले प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेको भन्दै जसपाबाट मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पुर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्र सिंहलाई बिहीवार हटाएका छन् । तिनीहरुलाई संघीय मन्त्रिपरिषदबाट हटाउने बितिकै जसपा नेतृत्वका प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमा गठबन्धनबाट आबद्ध कांग्रस, नेकपा एस, माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने तयारीमा जुटेका छन् ।

शुक्रवार बिहानै गठबन्धन आबद्ध नेकपा एस, कांग्रेस र माओवादीका मन्त्री बैठक बस्दैछन् । सो बैठकबाट राजीनामा दिने नदिने बारे निर्णय हुने बुझिएको छ । प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, खानेपानी, उर्जा तथा विकास मन्त्री ओमप्रकाश शर्मा, माओवादीबाट गृह तथा सञ्चार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, नेकपा एसबाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा शत्रुधन महतो, राज्यमन्त्री नागेन्द्र यादव, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रीमा प्रमोद यादव सहभागी छन् ।