युरोपियन सुपर लिगबारे केही तथ्य

काठमाडौँ : युरोपियन क्लब फुटबलमा स्थापित १२ क्लबले सोमबार एउटा घोषणा गरे । जसमा भनियो, अब १२ क्लबले नयाँ लिगको स्थापना गरिनेछ । र, अब उप्रान्त युरोपियन फुटबल महासंघ (यूइएफए) ले सञ्चालन गर्ने च्याम्पियन्स लिगमा भाग नलिने ।
ती १२ क्लबको निर्णयप्रति कोही पनि खुसी छैनन् । समर्थकदेखि राजनीतिज्ञसम्मले विरोध जनाएका छन् । घोषणा गरिएको युरोपियन सुपर लिगबारेमा केही तथ्य यस आलेखमा प्रस्तुत गरिएको छ ।
सुरुवात
इंगल्यान्ड, स्पेन र इटाली १२ क्लब युरोपियन सुपर लिगको आयोजनामा लागेका छन् । म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी, मयानचेस्टर सिटी र टोटनहम इंगल्यान्डबाट सुपर लिगसँग जोडिन लागेका क्लब हुन् ।
त्यस्तै, बार्सिलोना, रियल म्याड्रिड र एथलेटिको म्याड्रिड गरी तीन स्पेनी क्लबले पनि सुपर लिगमा भाग लिनेछन् । अनि इटालीबाट इन्टर मिलान, एसी मिलान र युभेन्टस पनि सुपर लिगसँग जोडिने छन् । यी १२ क्लबले युरोपियन क्लब फुटबलमा कुल ९९ उपाधि जितेका छन् ।
आयोजना हुने लिगको नेतृत्व ती १२ क्लबले गर्नेछन् । तर अझैँ तीन क्लबका लागि संस्थापक बन्ने मौका छ । कुल १५ संस्थापक र अन्य पाँच क्लबलाई यस लिगमा समावेश गराउने योजना छ । तर ती पाँच क्लब भने प्रत्येक वर्ष छनौट चरण पार गरेर सुपर लिगमा सहभागी हुनेछन् । सबै खेलहरू च्याम्पियन्स लिगमा जस्तै साताको मध्यमा गरिने बताइएको छ ।
लिग संरचना
सुपर लिगको पहिलो संस्करणको मिति तोकिएको छैन । यद्यपि अगस्टबाट सुरु गर्ने योजना भएको बताइएको छ । सुपर लिगमा २० टिमलाई दुई समूहमा विभाजित गरिनेछ । सुपर लिग ‘होम एण्ड अवे’ कै ढाँचामा खेलाइनेछ । समूहको शीर्ष तीनमा रहने टिमले क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । अनि चौँथो र पाँचौँ हुने टिमले अन्तिम आठमा प्रवेश पाउन प्ले-अफ खेल्नेछन् । क्वार्टरफाइनल र सेमिफाइनलका दुई-दुई लेग हुनेछन् भने उपाधि भिडन्त तटस्थ मैदानमा खेलाइनेछ ।
सुपर लिग कसको योजना ?
च्याम्पियन्स लिगको कमाई ठूलो छ । त्यसकारण युरोपका ठूला क्लबहरूले च्याम्पियन्स लिगले गर्ने कमाईको ठूलो हिस्सा आफूले पाउनु पर्ने माग राख्दै आइरहेका थिए । फेरि यो वर्ष कोभिड-१९ ले विश्व अर्थतन्त्र नै तहसनहस बनायो । ठूला स्टारहरू अनुबन्ध गर्ने ती क्लबहरू मारमा परे । जसका कारण सुपर लिगको योजना चाँडै कार्यन्वयनमा ल्यान सहमती गरियो ।
सुपर लिगको कमाई च्याम्प्यिन्स लिगको भन्दा धेरै हुने अनुमान गरिएको छ । संस्थापक रहेका १० क्लबले मात्रै करिब १० अर्ब यूरो प्राप्त गर्नेछन् । त्यो पनि सुपर लिगको सुरुवाती संस्करणमा भाग लिए वापत । तीन अर्ब यूरो भन्दा धेरै रकम क्लबहरुको पूर्वाधार र कोभिड-१९ ले पुर्याएको घाटालाई पूर्ति गर्न प्रयोग गरिने योजना छ ।
क्रोधित यूइएफए
सुपर लिगको योजनाले यूइएफए खुसी छैन । इगंलयान्ड, स्पेन र इटालीका फुटबल संघहरु पनि क्रोधित बनेका छन् । सुपर लिगमा भाग लिने क्लब तथा खेलाडीहरूलाई घरेलु लिग र युइएफए तथा फिफाले आयोजन गर्ने कुनैपनि प्रतियोगितामा भाग लिन बन्देज लगाइने बताइएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि सुपर लिगको विरोध गरेका छन् । फ्रान्सका राष्ट्रपतिले आफ्ना मुलुकका कुनै पनि क्लब सुपर लिगको हिस्सा नबन्ने भएपछि खुसी ब्यक्त गरेका छन् । ग्यारी नेभिलदेखि राफ हसेनहुटेलसम्मले सुपर लिगको विरोध गरेक छन् । त्यस्तै इंगल्यान्डबाट सुपर लिगमा सहभागी हुन भनिएका सबै क्लबका समर्थक समूहहरुबाट पनि सुपर लिगको विरोध भइरहेको छ ।
सम्भव छ सुपर लिग ?
सुपर लिगको घोषणासँगै युइएफए र सबै घरेलु संघहरू विरोधमा उत्रिसकेका छन् । अनि रियल, युनाइटेड, लिभरपुल जस्ता क्लबहरूले आफ्नै समर्थकबाट पनि समर्थन पाइरहेका छैनन् । फिफाले गत जनवरीमै सुपर लिगलाई मान्यता नदिने बताइसकेको छ ।
त्यसो त बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पएिसजी) जस्ता क्लबले सुपर लिगको हिस्सा बन्न इन्कार गरिसकेका छन् । बोरुसिया डर्टमन्ड, एएफसी पोर्टो जस्ता स्थापित क्लब पनि सुपर लिगमा हुनेछैनन् । सुपर लिग अमेरिकी मोडलमा सञ्चालन हुने हुँदा रेलिगेसनको व्यवस्था छैन । जसले गर्दा प्रत्येक क्लबले प्रायोजक सजिलै पाउने विश्वास गरिएको छ ।
सोमबार मात्रै युइएफले च्याम्पियन्स लिगमा केही परिवर्तनको घोषणा गरेको छ । टिम संख्या ३६ बनाइएको छ भने खेल संख्या पनि बढेको छ । सुपर लिग र च्याम्पियन्स लिग सम्बन्धि घोषणा एकैपटक हुँदा ठूला क्लबहरुले युइएफएसँग ‘बार्गेन’ गर्न खोजेको हो की भन्ने शंका पनि उत्पन्न भएको छ ।
बेलायती अखबारले आफ्नो स्रोतलाई उल्लेख गर्दै लेखेको छ, ‘सुपर लिगको घोषणा बार्गेनिङ चिप हुनसक्छ । ठूला क्लबहरुले च्याम्पियन्स लिगको कमाईमा आफ्नो हिस्सा बढ्नुपर्ने बताइरहेका छन् । यद्यपि यो बार्गेन नै गर्न खोजिएको भए पनि तारिक सही भएन ।' (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया