सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

बिहारी राजनीतिमा मुख्य खेलाडीका रूपमा फेरि फर्कियो बीजेपी

काठमाडौं : मगंलबार बिहार बिधानसभा निर्वाचनको नतिजा आएसँगै, भारतीय जनता पार्टी (बीजेपी) उत्तरी भारतीय राज्यको राजनीतिमा दुई दशकपछि मुख्य खेलाडीका रूपमा फर्केको छ । निर्वाचनमा बीजेपीले ७४ सिट ल्यायो । उसको नेसनल डेमोक्रयाटिक एलाइन्स (एनडिए) को सहयात्री दल जनता दल युनाईटेड (जेडियु) ले ४३ सिट मात्र प्राप्त गर्‍यो । निर्वाचनको नतिजाले मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जेडियुलाई बीजेपीको जुनियर पार्टनर बनाइदिएको छ । 

पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको कमाण्डमा रहेको राष्ट्रिय जनता दल (आरजेडी) ले बीजेपीको भन्दा एक सिट बढी ल्यायो । जम्मा २४३ सिट रहेको बिहार बिधानसभामा पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव पुत्र तेजस्वी यादव नेतृत्वमा निर्वाचनमा होमिएको आरजेडी सम्मिलित महागठबन्धनले जम्मा ११० सिटमा विजय प्राप्त गरेको छ । 

बिहारको शक्तिशाली पार्टी बन्‍न आरजेडीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको जेडियु तेस्रो स्थानमा खुम्चिँदा बीजेपी सिट संख्यामा अगाडि आइपुग्यो । सन् १९९६ देखि नितिशसँग गठबन्धन गरिरहेको बीजेपीले यति धेरै सिट प्राप्त गरेको यो पहिलो पटक हो । 

कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थतिका कारण जेडियुका साथै उसको सहयोगी दल बिजेपीको सिट कटौती हुन सक्ने कतिपय विश्लेषकहरूको अनुमान थियो । तर कोरोना महामारीपछि बढेको नितिश कुमार सरकारको अलोकप्रियताले बीजेपीलाई फरक पारेको देखिएन ।

लगातार १५ वर्षदेखि बिहारको सत्तामा रहेका नितिशविरुध्द विपक्षी पार्टीहरूले अभियान नचलाएको होइनन् । तर त्यस्तो अभियानले बीजेपीका मतदाताहरूलाई छोएन । बिहार निर्वाचनको नतिजा प्रकाशित भएपछि दिल्लीस्थित बिजेपीको मुख्य कार्यलयमा कार्यकर्ताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा नारा लगाए । प्रधानमन्त्री मोदीको लोकप्रियताका कारण बीजेपीले बिहार बिधानसभा निर्वाचनमा धेरै सिट ल्याउन सफल भएको उनीहरूले बताएका छन् ।  

बिहारको निर्वाचन अभियानका क्रममा मोदीले एक दर्जन भन्दा बढी र्‍यालीलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले मतदाताका नाममा पत्र पनि लेखे । जसमा बिहारको विकासका लागि नितिश मुख्यमन्त्रीमा पुनः निर्वाचित हुन आवश्यक रहेको ब्यहोरा थियो । यसले पनि मतदातालाई आकर्षित गरेको बुझाइ छ । मोदीले विजेपीलाई बिहारको राजनीतिमा बलियो स्थानमा पुर्‍याउन त भूमिका खेले नै, त्यसका साथै नितिशको राजनीतिक करियर पनि उद्दार गरिदिएको विजेपी नेताहरुले दाबी गरिरहेका छन् ।

मोदीको भुमिकाका बारेमा प्रशंसा गरिरहँदा चिराग पासवान र असुद्दिन ओवेसीले खेलेको भुमिकालाई पनि बिर्सन हुँदैन । एनडिएसँगै रहेको पासवान नेतृत्वमा रहेको लोक जनशक्ति पार्टीले एक्लै निर्वाचन लड्ने निर्णय गरेको थियो । पासवानको पार्टीले नितिशको जेडियूविरुध्द उम्मेदवार खडा गरेका कारण निर्वाचन नतिजामा प्रभाव पर्‍यो । त्यस्तै, ओवेसी नेतृत्वको पार्टीले पनि उम्मेदवार खडा गरेका कारण बिहारको सुदुर पूर्वी र सिमाञ्चलका मुस्लिम भोटमा विभाजन देखियो । ओवेसीको पार्टीको उम्दवारहरू पाँच सिटमा विजय हुँदैगर्दा आरजेडी-कांग्रेस गठबन्धनको १० सिट घटेको बताइएको छ । 

यस्तो रणनीतिका कारण बिहारमा वर्षौदेखि सामाजिक न्यायको राजनीति गर्दै आएका जेडियू र आरजेडीलाई निश्चित रूपमा मर्का पर्‍यो । साथै, माथिल्लो जातको वर्चस्व रहेको बिजेपी बिहारी राजनीतिको निर्णायक स्थानमा पुग्यो । राज्यको राजनीतिमा प्रतिद्वन्द्वी रहेका जेडियू र आरजेडी दुवैको भोटब्याकं भने पिछडिएका जातहरू हुन् । 

बिहारको राजनीतिमा सामाजिक न्याय सन् ९० को दशकबाट मुख्य मुद्दा बन्यो । तर यो निर्वाचनमा भने यो मुद्दा कमजोर बन्न पुग्यो । बिहारमा बिजेपीको उपस्थिति बलियो बन्दै गएपछि सामाजिक न्याय भन्दा राम मन्दिर र अन्य धार्मिक मुद्दाले मतदाताको मन जितेको दखियो । छिमेकी उत्तर प्रदेशमा राम मन्दिरलगायतका धार्मिक मुद्दाले मतदाताको मन जित्न सफल भएको परिपेक्षमा बिजेपीले बिहारमा पनि त्यही अभ्यास गर्न सुरु गरेको छ ।
 
बिजेपीले मूख्यमन्त्रीमा नितिशलाई नै निरन्तरता दिने बताइसकेको छ । पूर्वसहमति अनुरुप नै बिजेपीले कम सिट ल्याएको जेडियूलाई सरकार बनाउने मौका दिन लागेको हो । मुख्यमन्त्रीको पद नितिशलाई सुम्पिनु पर्दा पनि बिजेपी खुशी नै देखिएको छ । कारण ? बिहार बिधानसभाको निर्वाचनका लागि बनाइएको रणनीति सफल हुनु । बिजेपी, उत्तर प्रदेशमा जस्तै बिहारको राजनीतिमा पनि प्रमुख शक्ति हुने दिन धेरै टाढा नरहेको ठान्छ । 

उत्तर प्रदेशमा बिजेपीले यादव बाहेकका पिछडिएका जातीका मतदाता रिझाउन सफल भइरहेको छ । उसले त्यहाँ केशवप्रसाद मौर्य जस्ता पिछडिएका जातीलाई प्रतिनिधित्व गर्ने नेतालाई अघि बढाएको छ । मौर्य राज्य सरकारका उप-मुख्यमन्त्री हुन् । बिजेपीले उत्तर प्रदेशमा पिछडिएका जातीहरूको प्रतिनिधित्व गर्ने कयौं साना पार्टीहरूसँग गठबन्धन गरेको छ । 

मौर्य उत्तर प्रदेशको राज्य सरकारको उप–मुख्यमन्त्रीको हैसियतमा भएपनि त्यो अनुसारको भुमिका निर्वाह गर्न पाइरहेका छैनन् । उनलाई मुख्यमन्त्री आदित्यनाथले छायाँमा पारेका छन् । यता बिहारमा नितिश मूख्यमन्त्रीको कुर्सीमा त फर्केलान तर बिजेपीले जेडियूको भन्दा धेरै सिट ल्याएको स्थितीमा उनले पहिलाको जस्तो स्वतन्त्रतापूर्वक सरकार चलाउन पाउने सम्भावना कम छ । 
भारतीय अखबार दि टेलिग्राफको सहयोगमा