मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

भेटिएनन् नदीमा डुबेका दुई किशोरी

तुलसीपुर- दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् । 

घटना स्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरू डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ । स्थानीयवासीले पानीमुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् ।

बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए ।

शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरू दुवै जना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकाले  स्थानीयवासीले प्रहरीलाई बोलाएका थिए ।