फूलको मूल्य आकाशियो

विराटनगर : तिहार आएसँगै बजारमा फूलको मूल्य बढेको छ । कोभिड-१९का कारण भारतबाट फूल नआएपछि बजारमा गत वर्षको दोबर मूल्यमा सयपत्री फूलका माला बिक्री भइरहेको छ । बजारमा अहिले एउटा सामान्य सयपत्री फूलको मालाको मूल्य ८० रुपैयाँ छ । जबकि गत वर्ष तिहारको समयमा त्यही माला ४० रुपैयाँ प्रति गोटा पाइन्थ्यो ।
तिहारसम्ममा एउटा सयपत्री फूलको मालाको मूल्य सय रुपैयाँ पुग्ने व्यापारीहरु बताउँछन् । ‘भन्सारबाट फूल आयात भएको छैन्,’ विराटनगरका एक फूल व्यापारीले भने, ‘चोरीवाटो बाट आएको हो त्यसैले महगो पर्छ ।' अहिले बजारका अधिकांश फूल पसलमा पाइने सयपत्री फूलका माला भारतबाट ल्याएका हुन् । तर विराटनगर भन्सार नाकाबाट यो वर्ष फूल नै आयात भएको देखिदैन् । फूलको मूल्य बढेपछि प्लाष्टिकका फूलको व्यापार बढ्न थालेको छ ।
गत वर्ष यो नाकाबाट ५७ लाख ९६ हजार मूल्य बराबरको ६३ हजार आठ सय २४ केजी फूल आयात भएको भन्सारको तथ्यांक छ । त्यसैगरी अघिल्लो वर्ष जोगबनी नाकाबाट ३५ लाख १२ लाख रुपैयाँको ६० हजार एक सय ८६ केजी फूल भारतबाट आयात भएको थियो । गत आर्थिक वर्षमा मात्र नेपाल सयपत्री तथा मखमली माला ३९ करोड आपूर्ति भएको थियो ।
चोरी बाटोबाट आएको भन्दै व्यापारीहरुले बढी मूल्यमा फूल बिक्री गरिरहेका छन् । फूल व्यापारी सत्य मण्डलले भने, ‘गत वर्ष ४० रुपैयाँमा बिक्री गरेको एउटा सयपत्री फूलको माला अहिले ८० रुपैयाँमा बिक्री गरिरहेका छौं । तिहार लागेपछि एउटाको मूल्य एक सय पुग्छ ।’ तिहारमा सयपत्रीको फूलका मालाको माग धेरै हुने गर्छ । नेपालमा उत्पादन भएको फूलले मागलाई धान्न सक्दैन । कोभिडका कारण भन्सार हुँदै फूल आउन छोडेपछि चोरी बाटोबाट बजारमा भारतीय फूल आइरहेको छ ।
देशका ७७ जिल्ला मध्ये ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । हाल लगभग एक सय ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको अनुमान छ । गत वर्ष मात्र ३३ करोड रुपैयाँभन्दा बढीको फूलका बिरुवाको व्यापार नेपालमा भएको थियो । यसै गरी आलंकारिक बोटबिरुवा ६४ करोड, कट फ्लावर्स ३४ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग २६ करोड, खुल्ला फूल ११ करोड, सयपत्री तथा मखमली माला ३९ करोड आपूर्ति भएको थियो । आथिर्क वर्ष २०७५/७६ मा २० करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएको थियो ।
धनकुटाको पात्ले गाउँमा मात्र सयपत्री र मखमली फूलको व्यावसायिक खेती गर्नेको संख्या एक सय ५० भन्दा बढी छ । उनीहरुले तिहारलाई लक्ष्यित गरी तीन सय रोपनीमा फूल लगाएका हुन् । अन्न, फलफूल र तरकारी खेती नहुने भिरालो र सेपिलो जमिनमा पनि मनग्गे फूल उत्पादन भएको छ । यो गाउँबाट मात्रै ७५ लाख रुपैयाँ बराबरको सयपत्री र मखमली फूलको कारोबार हुने अनुमान छ ।
एक करोडको झिलिमिली बत्ती र सवा आठ करोडको मसला आयात
तिहार र छठ पर्वलाई लक्ष्यित गरी जोगबनी नाकाबाट मात्र हालसम्म सवा नौ करोड मूल्य बराबरको सामान आयात भएको छ । एक करोड रुपैयाँभन्दा बढी बराबरको झिलिमिली बत्ती र सवा आठ करोडको मसला आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
विराटनगर भन्सारका अनुसार यसपटक १ करोड ३ लाख मूल्य बराबरका १ लाख ७९ हजार रुपैयाँको झिलिमिली बत्ती आयात भइसकेको छ । गत वर्ष यो नाकाबाट १ करोड ४८ लाख ३२ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको थियो । चालू आर्थिक वर्ष जोगबनी नाकाबाट नरिवल ५८ लाख ७१ हजार, काजु २ करोड ७७ लाख ३० हजार, हाडे बदाम ५ करोड ३ लाख ७१ हजार र किसमिस ८ लाख मूल्य बराबरको आयात भएको छ ।

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया