शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

हाम्रामा भए मध्यरातमै प्रतिनिधि सभा विघटन हुन्थ्यो, बेलायतमा चाहिँ राजीनामा

संयुक्त अधिराज्य बेलायतमा आधुनिक संसदीय शासन व्यवस्था सुरु भएको आज एक हजार वर्ष भएको छ । निरंकुश राजतन्त्र हटाउन बेलायती जनताले धेरै वर्ष संघर्ष र लडाइँ गर्नुपर्‍यो । सन् १९४९ मा तत्कालीन राजा चार्ल्स प्रथमलाई राजद्रोहको अपराधमा मृत्युदण्ड पनि दिइयो । यसरी कठिनपूर्ण संघर्षबाट सुरु भएको बेलायती संसदीय इतिहासमा संसदीय सिद्धान्त, मूल्य-मान्यता, नैतिकता, इमानदारी, निष्ठा र जवाफदेहिताको राजनीति चल्दै आएको छ । त्यसैले बेलायती मोडेलको संसदीय लोकतन्त्रलाई संसारका धेरै देशले अवलम्बन गर्दै आएका छन् ।

बेलायती मोडेलको संसदीय लोकतन्त्र अपनाए पनि धेरै देशले संसदीय, सिद्धान्त, आदर्श, मूल्य-मान्यता, नैतिकता, इमानदारी, निष्ठा र जवाफदेहिताको राजनीति चाहिँ व्यवहारमा उतार्न सकेको पाइँदैन । अरू देशको त के कुरा हाम्रो छिमेकी मुलुक भारतमै पनि संसदीय मूल्य-मान्यता र निष्ठा तथा इमानदारीको राजनीति पाउन गाह्रो भएको अवस्था छ ।

बेलायतमा गत सेप्टेम्बर ६ मा प्रधानमन्त्री पदमा नियुक्त भएकी प्रधानमन्त्री लिज ट्रसले पैतालीस दिनमै पदबाट राजीनामा गरी संसदीय सिद्धान्त, मूल्य-मान्यता, आदर्श र नैतिकता, इमानदारी, निष्ठा र जवाफदेहिताको राजनीतिलाई यथावत कायम गरेर सबैलाई चकित पारिन् । यति छोटो अवधिमा प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुको मुख्य कारण आफ्नो गलत अर्थ नीति अर्थात् ‘मिनी-बजेट’ र तीन सय पैतालिस अर्ब पाउन्डको कर कटौतीको प्रस्ताव हो । यसका साथै उनले चुनावमा कन्जरभेटिभ पार्टीका नेता तथा मतदातासँग गरेको कवोल पूरा गर्न नसक्नु राजीनामाको अर्को कारण हो ।

कर कटौतीको प्रस्तावले बेलायती अर्थतन्त्रलाई नकारात्मक मोडतिर लग्यो । जसका कारण बेलायतमा महँगी र मुद्रास्फीति बढ्नुका साथै आर्थिक स्थिति नै भद्रगोल हुने अवस्था आयो । सर्वत्र उनको यो नीतिको विरोध हुन थाल्यो । कन्जरभेटिभ पार्टीका हाउस अफ कमन्सका अधिकांश सदस्य तथा अरू नेताहरूले पनि उनको नीतिको चर्को विरोध गर्दै राजीनामा माग्न थाले । 

प्रधानमन्त्री लिज ट्रसले विपक्षी पार्टीको भन्दा पनि आफ्नै पार्टीभित्रका नेता तथा सदस्यहरूको चर्को विरोध र आलोचनाका कारण बाध्य भएर राजीनामा दिइन् । तर, उनले पद लम्ब्याउन हाउस अफ कमन्स विघटन पनि गरिनन् । अरू किसिमका योजना, प्रयास र जालझेल पनि गरिनन् ।

मार्गरेट थ्याचर लगायत बेलायतका थुप्रै पूर्वप्रधानमन्त्रीहरूले आफ्ना पार्टीको बहुमत हुँदाका अवस्थामा पनि आफ्नो नीति र कार्यक्रमको विरोध बढ्दै गएपछि हाउस विघटन गर्नुभन्दा अरूलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नु श्रेयष्कर ठाने । प्रधानमन्त्री लिज ट्रसले पनि पूर्ववर्तीहरूको दिशा समात्दै निष्ठाको राजनीति गर्नु नै श्रेयष्कर मानेर पदबाट राजीनामा दिइन् ।

न नेतृत्वमा खुला र पारदर्शी प्रतिस्पर्धा हुन्छ, न नेतृत्व परिवर्तन-पुस्तान्तरण र रूपान्तरण हुन्छ ।

राजीनामा दिँदा उनले चुनावको बेला गरेको प्रतिबद्धता पूरा गर्ने क्षमता नभएको तथ्य स्पष्टसँग स्वीकारेर निष्ठा, नैतिकता र जवाफदेहिताको सिद्धान्तको पनि  पालना गरेकी छिन् । उनको राजीनामापछि बेलायतमा राजनीतिक संकट र अस्थिरता बढ्ने खतराबीच नयाँ प्रधानमन्त्री चयन हुँदै छन् ।

राजनीति बेलायतको होस् वा नेपालको, निश्चित आदर्श, सिद्धान्त, मूल्य-मान्यता र नीतिका आधारमा राजनीति र शासन सञ्चालन गर्न सकिएन भने यसले जुनसुकै बेला पनि दुर्घटना निम्त्याउन सक्छ भन्ने बेलायती नेताहरूले राम्ररी बुझेका छन् ।  

सुरुमा लिजले आफ्ना विश्वासिला अर्थमन्त्री हटाइन् र नयाँ अर्थमन्त्रीमा जेर्मी हन्टलाई नियुक्त गरिन् । अर्थमन्त्री जेर्मी हन्टले त प्रधानमन्त्री लिजको अर्थ नीति र मिनी बजेटलाई पूरै उल्टाएर बेलायती अर्थतन्त्र सुधारको बाटोमा ल्याए । यसले पनि प्रधानमन्त्री लिजलाई पदमा बसिरहन अप्ठेरो पर्न गयो । हुन त, प्रधानमन्त्री लिजले नेतृत्वको छनौटको बेलादेखि नै कर कटौतीको प्रस्ताव गरेकी थिइन्, जसलाई उनका प्रतिस्पर्धी ऋषि सुनकले विरोध गरेका थिए । 

संसदीय शासन पद्धति, सिद्धान्त, नीति, आदर्श, संस्कार, नैतिकता, इमानदारी, निष्ठा र जवाफदेहितामा चल्ने खुला र पारदर्शी शासन व्यवस्था हो । बेलायतमा लिखित संविधान छैन । तर, आधुनिक संसदीय प्रणाली एक हजार वर्षदेखि सिद्धान्त, नीति, परम्परागत प्रथा र संस्कार, इमानदारी, नैतिकता, निष्ठा र जवाफदेहिताको आधारमा चलिरहेको देखिन्छ । नीति र कार्यक्रमप्रति इमानदार हुन नसक्ने नेताको भविष्य राम्रो हन्न भन्ने यो घटनाले पनि प्रमाणित गरेको छ । 
नेपालमा लिखित संविधान छ । तर, नेपालका  शासक र सबै दलका नेताले लिखित संविधान आफूखुसी चलाउँदा क्षतविक्षत भएको अवस्था छ । हाम्रो राजनीतिमा न सिद्धान्त र नीति छ, न राजनीतिक संस्कार । राजनीतिमा इमानदारी, निष्ठा, नैतिकता र जवाफदेहिताको अभावमा स्वेच्छचारी प्रवृत्ति हाबी हुन पुगेको हो । यस्तो स्थितिमा नेपालमा जति र जस्तो संविधान बनाए पनि र जुन शासन व्यवस्था अपनाए पनि केही हुनेवाला छैन भन्ने २००७ साल, २०१५ साल, २०१९ साल, २०४७ साल तथा २०६३ र हालको संविधान र शासन व्यवस्थाले स्पष्ट देखाएका छन् ।  

अर्को कुरा, बेलायती रानी नीति सिद्धान्त, निष्ठा, इमानदारीमा आधारित हुने भएकाले नेताहरूले पनि आफ्नो नीति गत, कार्यगत, क्षमतागत कमी-कमजोरी र गल्ती स्वीकार्न लाज मान्दैनन् । असल राजनीति र असल राजनीतिज्ञको राजनीतिक धर्म, संस्कार, नैतिकता, निष्ठा, इमानदारी र जवाफदेहिता पनि यही हो । यसलाई बेलायती राजनीतिको परिपक्वता, विशेषता र राजनीतिक संस्कार भन्न सकिन्छ । 

नीति र कार्यगत कमजोरी सबै देशका नेतामा हुन्छ । तर, नेताले आफ्ना कमजोरी र गल्ती स्वीकारेर अगाडि बढ्नु सक्नुपर्छ । तर, नेपालका नेताहरूमा आफ्ना नीतिगत तथा कार्यगत कमजोरी र गल्ती स्वीकार्ने चलन छैन । यसैकारण नेपालको राजनीति सँधै अविश्वास, संक्रमण र अस्थिरताबाट गुज्रिन परिरहेको अवस्था छ ।  
२०४७ यताकै कुरा गर्ने हो भने पनि यो ३२ वर्षमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक दल र तिनका नेताहरूमा लोकतान्त्रिक सिद्धान्त, मूल्य मान्यता, इमानदारी, नैतिकता, निष्ठा र जवाफदेहिताको सिद्धान्त र नीतिको पालना भएको देखिँदैन । यो अवधिमा नेपालमा असल शासनको सोच र  व्यवहार  तथा  संस्कारको जग बसाल्न पनि नसक्नु बहुतै दुर्भाग्यपूर्ण कुरा हो । यसमा सबै दलका शीर्ष र दोस्रो तहका नेताहरू उत्तिकै जिम्मेवार छन् ।

बेलायती हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको बहुमत हुँदाहुँदैको अवस्थामा कन्जरभेटिभ पार्टीका तीन जना प्रधानमन्त्री टेरेजा मे, वोरिस जोन्सन र लिज ट्रसले पदबाट राजीनामा दिनु परेको घटना सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर, परिपक्व निष्ठा र इमान्दार किसिमको राजनीतिमा बहुमत भन्दा पनि प्रधानमन्त्रीको नीति, कार्यक्रम, व्यवहार, निष्ठा,  नैतिकता र इमानदारीलाई आधार मानेर दलका सदस्यहरूले प्रधानमन्त्रीको वस्तुनिष्ठ मूल्यांकन गर्दा रहेछन् भन्ने स्पष्ट देखिन्छ । 

खुला, पारदर्शी, निष्ठा र जवाफदेहिताको राजनीतिमा नेता प्रधान  हुँदैन, नीति र सोच तथा विचार प्रधान हुन्छ । नीति र सोच तथा व्यवहार गलत हुनासाथ नेताको आलोचना र विरोध पार्टी भित्रैबाट हुन्छ । यस्तो विरोध संसदमा पनि हुन्छ र बाहिर पनि हुन्छ । बेलायती संसदीय प्रजातन्त्र उत्कृष्ट  बन्नुका मूल कारण पनि यही हो । संसारमा जे-जति राजनीतिज्ञ प्रख्यात छन्, तिनीहरूको मान-सम्मान र ख्याति बढ्नुको मूल कारण असल नीति, सोच र इमानदार तथा नैतिक व्यवहार हो । यो कुरा न हाम्रा नेताहरूले बुझ्न सकेका छन्, न हामीले बुझाउन सकेका छौं । 

नेपालमा प्रतिनिधि सभाबाट आफूविरुद्ध अविश्वास प्रस्ताव पारित हुँदा पनि प्रतिनिधि सभामा बहुमत छ भन्ने र उनैलाई प्रधानमन्त्री बनाउन खोज्ने गैरसंवैधानिक र गैरसंसदीय चरित्र र व्यवहार देखाउनुलाई पनि लाज मानिँदैन । सार्वजनिक पदाधिकारीहरूको यस्तो व्यवहारले नेपालको राजनीतिमा सिद्धान्त, नीति, राजनीतिक मूल्य मान्यता, नैतिकता, निष्ठा, इमानदारी र जवाफदेहिताको कुनै अर्थ रहेनछ भन्ने देखाउँछ ।

नेपालमा सार्वजनिक पदमा बस्नेहरूसँग पदीय दायित्व, भूमिका र नैतिकता, इमानदारी, निष्ठा र जवाफदेहिताको थोरै पनि भाव रहेको पाइँदैन । नत्र २०७८ जेठ ७ मध्यरात १ः४९ बजे प्रतिनिधि सभा विघटनको सिफारिस गर्नु र मध्यरातमै स्वीकृत गर्नु कुन सिद्धान्त, नीति र नैतिकताले काम गर्‍यो भन्ने ? त्यस्तै प्रतिनिधि सभामा विश्वास गुमाइसकेको प्रधानमन्त्रीले छ महिनामा दुई-दुईपटक प्रतिनिधि सभा विघटन गर्नुको पछाडि कुन सिद्धान्त, मूल्य-मान्यता, नैतिकता र इमानदारीले काम गर्‍यो भन्ने ? त्यस्तै, प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याइसकेपछि त्यसलाई संवैधानिक सीमा र प्रावधानअनुसार टुंगो नलगाउनुलाई कुन सिद्धान्त, नीति, आदर्श, निष्ठा र इमानदारीले काम गर्‍यो भन्ने ? संसदमा समयमै विधेयक पेश नगर्ने तर संसद् अधिवेशन सकिनासाथ अध्यादेश ल्याई शासन गर्ने सोचलाई कुन सिद्धान्तले काम गर्‍यो भन्ने ?

वामपन्थी रुझान भएकी र कुनै बेला बेलायतबाट राजतन्त्र हटाउनुपर्छ भन्ने मान्यता राख्ने प्रधानमन्त्री लिज ट्रसले बेलायती राजा र राजसंस्थालाई गरेको आदर र सम्मान अरू नेताको भन्दा कम देखिँदैन । नेपालमा पूर्वराजाहरूको नाम लिन पनि नखोज्ने प्रवृत्ति छ । तर, सबै पूर्वराजा त्यस्ता थिएनन् ।

यो देश निर्माण गर्ने तथा यो देश एकीकरण गर्ने राजा-योद्धाहरूको उचित सम्मान र कदर गर्न नसक्नु दुर्भाग्यपूर्ण राजनीति हो । साँच्चिकै भन्ने हो हाम्रा आजका नेताहरूको सोच, नीति, सिद्धान्त, चरित्र र व्यवहार तथा जनता र राष्ट्रप्रतिको निष्ठा पूर्व राजाहरूको जति पनि छैन भन्दा अन्यथा सोच्नुपर्ने देखिँदैन ।
अर्को विडम्बनाको कुरा, नेपाली राजनीतिमा के छ भने नेताहरू जतिसुकै अक्षम, अयोग्य र नालायक भए पनि हामीले उनीहरूलाई नै आदर्श नेता मान्ने गरेका छौँ । यसमा हामी मतदाताहरूको पनि ठूलो कमजोरी छ । यो कुरा श्रीलंकाका जनताले आर्थिक संकटको घोषण भएपछि र मुलुक टाट पल्टेको घोषणा भएपछि मात्रै थाहा पाए । तर, हामीले यो कुरा अझै थाहा पाउन सकिरहेका छैनौं । 

राजनीतिक दलहरूमा निरंकुशतावाद हाबी छ । त्यही कारण न सिद्धान्त र नीति तथा योजनामाथि छलफल न वहस नै हुन्छ । न नेतृत्वमा खुला र पारदर्शी प्रतिस्पर्धा हुन्छ, न नेतृत्व परिवर्तन-पुस्तान्तरण र रूपान्तरण हुन्छ । जबसम्म पार्टीहरूमा खुलापन, निष्ठापूर्ण बहस र छलफल तथा प्रतिस्पर्धा हुँदैन, तबसम्म देशमा आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक र धार्मिक विकास, पूर्वाधार विकास तथा औद्योगिकिकरण र रूपान्तरण हुन सक्दैन ।  

केही समयअघिसम्म राजनीतिलाई समाज सेवा र राष्ट्र सेवा गर्ने पवित्र सेवा मानिन्थ्यो । त्यतिबेलासम्म राजनीति र राजनीतिज्ञहरूको कदर र सम्मान उच्च थियो । नेताहरूले राजनीतिलाई शक्ति आर्जन र आर्थिक उपार्जनको माध्यम जनाउन थाले । यसैले राजनीति र नेताहरूप्रति आमजनताको विश्वास र समर्थन पनि टुट्न गएको छ । बेलायतमा जस्तै नेपालमा पनि लोकतान्त्रिक सिद्धान्त, नीति, मूल्य-मान्यता, नैतिकता, निष्ठा, इमानदारी र जवाफदेहिताको राजनीतिको विकास र सुदृढीकरण हुनुपर्छ ।

spj [email protected]