तीन 'घाइते'का रोचक प्रतिर्स्पधा : थापा र डिनाका लागि कति बलिया छन् सिंह ?

मकवानपुर- तिहारको तयारी जारी छ । भोलि अर्थात् १० गते भाईटिका । सामान्यतया तिहारको चर्चा हुनुपर्ने यो समयमा यस वर्ष तिहारभन्दा चुनावी चासो बढी छ ।
नयाँ पुस्ता र पाका पुस्ताको भिडन्त रहने भएपछि मकवानपुरमा नयाँलाई मत तान्न र पाकालाई पुरानो विरासत जोगाउन कसरत जारी छ ।
मकवानपुरमा दुई वटा प्रतिनिधिसभा क्षेत्र छन् । जसमध्ये १ नम्बर क्षेत्रको चुनावी प्रतिस्पर्धा २ नम्बर क्षेत्रको भन्दा रोचक छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपा नेपालका अध्यक्ष (एमालेबाट उम्मेदवार) कमल थापा, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र राप्रपाका दिपकबहादुर सिंहबीचको प्रतिस्पर्धा रोचक छ । रोचक यसकारण पनि छ कि यी तीनै जना उम्मेदवार मकवानपुरका कम्युनिस्ट उम्मेदवारसँग पटक–पटक पराजित भएका थिए ।
कम्युनिस्टसँग प्रत्यक्ष निर्वाचन जितेर संसद् छिर्न नपाएका उनीहरू आगामी निर्वाचनमा पनि हारको सामना गर्नुपर्ला भन्ने त्रासमा दौडधुपमा छन् । यता नेकपा एमाले आफ्नो पुरानो अन्यत्र तानिनबाट जोगाउँदै विरासत जोगाउन लागि परेको छ ।
२०४८ सालदेखि भएका आमनिर्वाचन, मध्यावधि र संविधानसभा निर्वाचनमा थापा, डिना र सिंहले एमालेका उम्मेदवारसँग हार्दै आएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा भने यी तीन जना घाइतेहरू प्रतिष्ठाको लडाईंमा छन् । हालसम्म प्रत्यक्ष निर्वाचिन जित्न नसकेका राप्रपाका दिपकबहादुर सिंह त्रिपक्षीय प्रतिस्पर्धाको ‘हट केक’ उम्मेदवार हुन् ।
यसअघि संविधानसभा निर्वाचनसमेत लडेका सिंह गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए । मेयरमा भएको त्रिपक्षीय भिडन्तमा पराजित हुन पुगे पनि सिंहले ल्याएको भोट आश्चर्यजनक थियो । तीन दशकदेखि एमालेले राज गर्दै आइरहेको र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको शक्तिका अगाडि हेटौँडामा २० हजार भोट कटाउन सिंहका लागि चानचुने थिएन ।
हेटौँडामा ठूला दलको तुलनामा राप्रपाको जनमत थोरै भए पनि सिंहले स्थानीय तह निर्वाचनमा २० हजार ५ सय ३१ मत ल्याएका थिए । कुल ७३ हजार ४ सय १४ मत खसेकोमा मेयरमा निर्वाचित गठबन्धनबाट एकीकृत समाजवादीकी मिनाकुमारी लामाले २३ हजार ६७ मत ल्याएकी थिइन् ।
एमालेका मेयर उम्मेदवार अनन्तप्रसाद पौडेलले कुल २० हजार ९ सय ८ मत ल्याएका थिए । मतपरिणामले पनि गठबन्धन र एमालेका उम्मेदवारबीच सिंह शक्तिशाली देखिन्थे ।
सिंहले स्थानीय तह निर्वाचनमा हेटौँडाबाट ल्याएको मत आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा जोगाउन सक्छन् वा सक्दैनन् त्यसका लागि अन्तिम मतपरिणाम कुर्नुपर्छ । तर, १ नम्बर क्षेत्रमा गठबन्धनकी उम्मेदवार डिना र एमालेका उम्मेदवार थापाका लागि सिंह टाउको दुखाइ बनेका छन् ।
हेटौँडाका १९ वटा वडामध्ये १५ वटा वडा १ नम्बर क्षेत्रभित्र पर्छ । हेटौँडासँगै बागमती, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १ देखि ४ नम्बरसम्मका वडा १ नम्बर क्षेत्रमा पर्छन् । मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्रमध्ये पुराना राप्रपाका नेता, कार्यकर्ता १ नम्बर क्षेत्रमा बढी रहेका छन् । जसकारण सिंहलाई निर्वाचनमा थप सहज बनेको राप्रपा मकवानपुरका उपाध्यक्ष शंकर सिंह ठकुरी बताउँछन् । 'हेटौंडा बजारभन्दा गाउँमा उहाँको बलियो मत छ' ठकुरी भन्छन् । ठकुरीले मेयरमा आएको भन्दा बढी मत प्रतिनिधिसभा निर्वाचनमा आउने दाबी गरे ।
‘हामी हरेक मतदाताको घरमा पुग्दा यसपटक दिपक सिंहलाई जिताउने वाचा गरेको पाएका छौँ । हाम्रो अध्ययनले मेयरमा भन्दा बढी मत हेटौँडाबाट आउँछ । ३० हजार मत मात्रै हेटौँडाबाट ल्याउनु हुन्छ,’ ठकुरीले भने । मेयरमा ल्याएको मत जोगाउँदा पनि सिंहलाई गठबन्धनकी डिना र एमालेका थापासँगको प्रतिस्पर्धा जित्न सहज भने छैन ।
सिंहका लागि बागमती र बकैया गाउँपालिकामा कठिन रहेको राप्रपा उपाध्यक्ष ठकुरी स्वीर्काछन् । बागमतीमा एमाले र नेकपा माओवादी केन्द्रको पकड क्षेत्र हो । बागमतीमा कांग्रेस, राप्रपा र राप्रपा नेपालको जनमत कमजोर छ ।
बागमतीमा सिंहलाई मात्र हैन, डिनालाई पनि मुस्किल पर्ने देखिन्छ । बकैयामा एमाले र कांग्रेसको जनमत राम्रो छ । १ नम्बर क्षेत्र थापाले निरन्तर निर्वाचन लड्दै आएको क्षेत्र हो । थापाले एक अनलाइनसँगको कुराकानीमा आफ्नो करिब १५ हजार मत व्यक्तिगत रहेको दाबी गरेका थिए । आफू पटक–पटक निर्वाचन लडेको र ४० वर्षभन्दा बढी राजनीतिक जीवनमा विकास गरेको क्षेत्रमा आफू कमजोर नहुने उनले बताए ।
थापाका लागि सिंह टाउको दुखाइ बन्नुको कारण उनले एमाले र राप्रपा नेपालको मत काट्न सक्ने भएकाले हो । स्थानीय तह निर्वाचनमा सिंहले एमालेको मत काटेका थिए । एमालेको राम्रो पकड भएको हेटौँडाका अधिकांश वडामा सिंहले धेरै मत पाएका थिए । थापा एमालेबाटै उम्मेदवार भएकाले उनलाई सिंहदेखि थप संकट परेको राजनीतिक वृत्तमा चर्चा छ ।
गठबन्धनकी उम्मेदवार डिना आफू मकवानपुरको राईगाउँ, फापरबारीलगायतको विकट स्थानमा आफू राम्रोसँग भिजेको बताउँछिन् । 'त्यहाँका मतदाताले मलाई जस्तो नजिकबाट अरूलाई चिन्नु हुँदैन, त्यसले यसपटक मेरो जित सुनिश्चित छ।' डिनाको राजनीतिक भूगोल भने २ नम्बर क्षेत्र हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया