मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

भारतीयले गरेको विस्फोटबाट उछिट्टिएको ढुङ्गा लागेर बालकको मृत्यु

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका-२ तम्बाकुमा एक बालकको भारतीयले गरेकाे विष्फोटका कारण मृत्यु भएको छ ।

भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछिट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धिरन सिह बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुवा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए ।

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाउन विष्फोट गराउँदा घटना घटेको बताइएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिएको छ । घटना के कति कारणले घटेको हो भन्नेबारे अनुसन्धानपछि खुल्ने प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए ।