गणितमा अगाडि रहेका बानियाँले मकवानपुरमा चुनाव जित्लान् ?

मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएकाहरुले यतिबेला चुनावी सभा तथा घरदैलोलाई तीव्रता दिइरहेका छन् ।
निर्वाचन नजिकिएसँगै कुन उम्मेदवारले जित्छन् भन्नेबारे अड्कलबाजीसमेत हुन थालेको छ । यसै क्रममा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दलका उम्मेदवारहरुले प्राप्त गरेको मतलाईसमेत आधार बनाई विश्लेषण भइरहेको छ । दुई प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नम्बर २ को (ख) मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको छ ।
राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको हो । २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेका राजाराम स्याङ्तानलाई नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले निर्वाचनमा पराजित गरेका थिए । तत्कालीन समयमा माओवादी समेतको साथ लिएर चुनाव उठेका स्याङ्तानलाई बानियाँले एक हजार ४ सय ११ मतान्तरले पराजित गरेका थिए ।
अघिल्लो चुनावमा नेकपाको उम्मेदवारलाई एक्लै पराजित गरेका बानियाँलाई यो पटक माओवादी र एमालेबाट फुटेर बनेको समाजवादीको पनि साथ थपिएको छ । जसले उनलाई चुनाव जित्नका लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ । यही तथ्यांक र यो अवधिमा उनले गरेको विकासको कामलाई आधार बनाएर बानियाँको सहज जित हुने विश्लेषण सर्वसाधारणमा हुने गरेको छ ।
२०७४ को निर्वाचनमा बानियाँले १९ हजार दुईसय ४५ मत पाएका थिए भने एमालेका स्याङ्तानले १७ हजार ८ सय ३४ मत पाए । यो निर्वाचनमा बानियाँसँग प्रतिष्पर्धाका लागि नेकपा एमालेले लालबहादुर थापालाई मैदानमा उतारेको छ भने यसअघि बानियाँसंग पराजित स्याङ्तानको साथ पनि बानियाँलाई थपिएको छ । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
मकवानपुर–२ प्रदेशसभा ख मा ६७ हजार ४ सय ६९ मतदाता छन् । हेटौंडाको ३ र १९ नम्वर वडासहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्दछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यी स्थानीय तहको ३० वटा वडामध्ये नेपाली कांग्रेसले १६ वडामा जित हात पारेको थियो भने माओवादी र एमाले ७/७ वटा वडामा विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छ । स्थानीय तह चुनावमा निर्वाचन क्षेत्रमा कांग्रेसको वडाध्यक्षले १९ हजार ७२, एमालेको वडाध्यक्षले १३ हजार पाँचसय ८३ र माओवादीको वडाध्यक्षले ११ हजार ७१ मत पाएका थिए । यो तथ्यांक हेर्दा कांग्रेस एक्लै पनि एमालेभन्दा अगाडि छ भने माओवादीसँग मत जोड्दा कुल मत संख्या ३० हजार एक सय ४३ पुग्छ । यसरी हेर्दा लोकतान्त्रिक बाम गठबन्धन एमाले भन्दा १६ हजार पाँचसय ६० मतले अगाडि छ । आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको मत पनि जोडिनेछ । २०७४ सालको निर्वाचन र अहिलेको स्थानीय तहको अंक गणित अनुसार पनि आसन्न निर्वाचनमा बानियाँ अघि देखिन्छन् । तर मंसिर ४ मा मतदाताले गर्ने मतदान निर्णायक हुनेछ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया