चौथो हार टार्ने दाउमा डिना

मकवानपुर- मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरका उम्मेदवारहरूले आ–आफूले जित हासिल गर्ने दाबीका साथ चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचार प्रसारको क्रममा समेत आफू उम्मेदवार हुनुका कारणसहित जितपछि विकासका कामको आश्वासनसमेत दिने गरेका छन् ।
स्थानीय मतदाताहरूको मागसमेत भूगोल सुहाउँदो रहेको छ । तर उम्मेदवारहरूको चुनावी आश्वासान र स्थानीयका माग विपरित रहेका छन् । स्थानीय आधारभूत आवश्यकता पुरा गर्न माग गरिरहँदा उम्मेदवारहरू विकास पूर्वाधारका कुरामा जोड दिइरहेका छन् ।
यसैबीच मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका महालक्ष्मी उपाध्याय डिनाले जिल्लाको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुन् ।
उपाध्याय उम्मेदवार बनेसँगै मकवानपुर १ मा उनको चर्चा परिचर्चा बढ्दै गएको छ । उनको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो । विद्यार्थीकालबाटै कांग्रेसको राजनीतिमा आवद्ध भएकी उनी पार्टीमा पनि उत्तिकै सक्रिय र प्रभावशाली नेतृ मानिन्छन् । सोही सक्रियताका कारण उहाँ समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हुँदा पनि त्यसलाई त्यागेर प्रत्यक्षतर्फ उम्मेदवार भएकी हुन् ।
डिनाले मकवानपुर–१ को जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरू पनि सार्वजनिक गरेकी छिन् । यसअघिका निर्वाचनमा मकवानपुर-२ बाट चुनावमा पराजित उनी यस पटक सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्यक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको बताउँछिन् ।
जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उनको दाबी छ । 'विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महसुस गरेको छैन' डिनाले भनिन् ‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु ।' विगतमा आफूले गर्न चाहेका तर सत्ता विहीन हुँदा सम्भव नभएका अधुरा कामहरू पुरा गर्ने उपाध्यायको लक्ष्य रहेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
लामो समय कम्युनिस्टहरूले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ । ‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरूलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उनले भनिन् ‘हामी विकास-विकास भन्छौँ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौँ । शिक्षाको पहुँच कस्तो छ ? भन्नेबारे हाम्रो ध्यान नै पुग्दैन । जनताको जीवनस्तरसँग जोडिएका कुराहरू हामीले सम्बोधन गर्न सकेका छैनौँ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरूले राज्यबाट पाउने सेवामा सहज पहुँच पुर्याउनु मेरो मुख्य काम हो ।’
जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरूमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकाले त्यसको परिवर्तन/संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको डिनाले बताइन् । ‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरूलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरूलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उनले भनिन् ।
हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडिदैँ युवाहरूको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनी बताउँछिन् । समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तार, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनको दाबी रहेको छ ।
उनले आर्थिक समृद्धिका लागि पनि आफूले पार्टी र सदनबाट महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमूना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया