आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

शक्ति सन्तुलन हाम्रो पक्षमा नहुँदा विभाजन रोक्न सकिएन, हामी पराजित भएको होइन: दाहाल

'कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रियावादी शक्ति घुसे'

फाइल तस्‍बिर

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलन भित्र प्रतिक्रियावाद घुसेको बताएका छन् । लेनिन दिवसको अवशरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताए । 

कम्युनिष्टहरूको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरूलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए । कम्युनिष्ट आन्दोलनलाई बचाई राख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। अहिले बाहिर भनिए जस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको दाबी उनले गरे। तर पार्टीलाई बलियो बनाउनेगरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष दाहालले बताए ।

अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरूलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने, मोर्चाबद्ध गर्ने भूमिका छोड्न हुँदैन । गल्ती भएको थियो कि एकता गर्ने भन्ने सोचियो भने गलत हन्छ । हामीले एकता गरेर गल्ती गरेको होइन ।  विल्कुलै सही गरेका थियौं । अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन । हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौं । गलत प्रवृतिको नायकलाई गलत्याएका थियौं । तर विदेशी शक्तिको आडमा कानुन मिच्ने, संविधान मिच्ने सबै मूल्य मान्यता मिच्ने काम भएको छ । यो कुरा नेपाली जनताले बुझेको छ ।’

कार्यक्रममा अध्यक्ष दाहालले प्रतिक्रियावादीविरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताए । अझैं पनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने उनको भनाइ छ । पार्टीका सबै नेता कार्यकर्ताहरूलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि आह्वान गरे ।